काठमाडौं– उमेरले ३८ वर्ष काट्दा पनि खान–लाउनकै दुःख भइरहेपछि एक वर्षअघि उनी रोजगारीका लागि खाडी मुलुक पुगिन्।
विदेश पुगेको केही समयमै एक पुरुषसँग मित्रता गाँसियो। सम्बन्ध झाँगिदै जाँदा गर्भ रहन पुग्यो। आफ्नो पेटमा हुर्किरहेको बच्चा जन्माउने निर्णयमा पुगिन् उनी।
तर, समय सहज भैदिएन। कोरोना महामारी विश्वव्यापी भएपछि उनलाई नेपाल फर्किनैपर्ने भयो। पेटमा गर्भ बोकेर ती महिला गएको असारमा नेपाल फर्किइन्।
परदेशीसँग सम्बन्धको नासो बोकेर घर जान सक्ने अवस्था थिएन। महाराजगञ्जस्थित आप्रवासी महिला समूहको सेल्टरमा आश्रय लिइन्।
‘उनी सेल्टरमा झण्डै एक महिना बसिन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘साउनको पहिलो साता टिचिङ अस्पतालमा छोरीलाई जन्म दिएकी रहिछन्।’
छोरी लिएर घर फर्किने अवस्था नभएपछि आप्रवासी महिला कामदार समूहले शिशुलाई पुष्पा अधिकारीले सञ्चालन गरेको केयर होम बाल गृहको जिम्मा लगाउन सुझाव दियो।
कपनस्थित आकाशेधारा चौर छेउ कार्टुनमा भेटिएको भनिएको शिशु तिनै हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिशुकी आमा, केयर होम सञ्चालक पुष्पा अधिकारी र आप्रवासी महिला कामदार समूहकी संयोजक जमुना गिरीको सल्लाहमा नै शिशुलाई कार्टुनमा हालेर झाडीमा राखिएको खुलेको छ।
‘आमाले शिशुलाई कपनस्थित आकाशेधारा चौर छेउको झाडीमा छाडेर जाने र त्यहाँबाट बेवारिसे भन्दै बालगृहले लैजाने योजना बनेको रहेछ,’ महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने।
एसएसपी ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ‘समस्यामा परेको महिलालाई सहयोग गर्नकै लागि नाटक मञ्चन गरेको’ देखिन्छ। अनुसन्धान जारी रहेको उनले बताए।
सञ्चारमाध्यममा लगातार बेवारिसे शिशु भनेर समाचार आएपछि आमा सम्पर्कमा आएर शिशुलाई लगेको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न अर्का प्रहरी अधिकृत भन्छन्, ‘विवाहित महिलाले अरु कसैबाट बच्चा जन्माएको कुरा घरमा थाहा पाए परिवारले नस्वीकार्ने भएकाले छोरी राम्रो मान्छेको हातमा परोस् भन्ने चाहना रहेछ।’
बालगृहकी सञ्चालक अधिकारीले सुरुमा बेवारिसे शिशु भेटिएको भने पनि वास्तविक कुरा खुलेपछि उनको आलोचना भइरहेको छ। पुष्पामाथि शिशु देखाउँदै पैसा कमाउन नाटक मञ्चन गरेको आरोप लागेको छ।
पुष्पाले भने समस्यामा परेकी महिलालाई सहयोग गर्नकै लागि नाटक रचिएको बताएकी छिन्।
ती शिशुको पालन पोषणको जिम्मा अधिकारीले लिएलगत्तै उनलाई देश विदेशबाट लालन पालनका लागि करिब ६ लाख रुपैयाँ बढी आर्थिक सहयोग जुटिसकेको छ।
तर, बेवारिसे शिशु भेटिएको कुरा नाटक रहेको खुलेपछि सहयोग गरेकाले उक्त रकम फिर्ता माग्न थालेका छन्।