काठमाडौं। डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले कानुनमै डिजिटल उपभोक्ताको अधिकारलाई प्रष्ट पार्नुपर्ने बताएका हुन्। यसैगरी पूर्वाधार विकास र विस्तारलाई पनि बातावरण तथा उपभोक्तामैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौंमा भएको कार्यक्रममा विभिन्न मन्त्रालय, नियामक निकायहरु, सेवा प्रदायक, उपभोक्ता अधिकारकर्मी, विज्ञ, सरोकारवाला र उपभोक्ताहरुको उपस्थिति रहेको कार्यक्रममा डिजिटल सेवा विस्तारसँगै कन्टेन्टसम्मलाई कसरी सफा र व्यवस्थित गर्ने सन्दर्भमा कार्यक्रम केन्द्रित थियो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले उपभोक्ता, सेवा प्रदायक, उत्पादक, नियन्त्रकलगायत सबै क्षेत्रबाट प्रविधिको प्रयोगलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन जोड दिनुपर्ने बताए।
अहिले ग्रिन डिजिटल रूपान्तरणको अभ्यासहरु भइरहेको हुँदा अब नेपालले पनि यसतर्फ ध्यानदिएर कार्यक्रमहरु बनाउनपर्ने र सबैतर्फबाट यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए। उनले आगामी बजेट र पञ्चवर्षिय कार्यक्रममा पनि यस कुरालाई सम्बोधन हुने गरी समावेश गर्न सुझाव माग गरेका छन्।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र सुवेदीले उपभोक्ताको अधिकार संरक्षणका लागि जनचेतना जरूरी भएको बताए। सुवेदीले पछिल्लो प्रविधिको विकासक्रमलाई ध्यानमा राख्दै मन्त्रालयले नयाँ कानुन निर्माण तथा विद्यमान कानुनको पुनरावलोकन गरिरहेको समेत जानकारी दिएका थिए।
त्यसैगरी कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्रदूषण गर्नेले त्यसको न्यूनीकरणमा पनि काम गर्नुपर्ने बताए। एकीकृत रूपमा काम गर्ने फ्रेमवर्कको आवश्यकता औंल्याउँदै अध्यक्ष खनालले डिजिटल उपभोक्ताको अधिकारमा जनचेतनाको खाँचो रहेको बताए।
उपभोक्ताहरु पनि आफैं सचेत हुनुपर्ने र यससम्बन्धी कानुनलाई सुदृढ गरेर उपभोक्ता अधिकारलाई अझ सुनिश्चित गर्न सकिने खनालले बताए।