आजदेखि सेयर बजार पुनः खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डको हिजो आइतबार बसेको बैठकले बजार खोल्ने निर्णय गरेको हो।
गत चैत १० गतेदेखि बन्द रहेको बजार वैशाख ३० र ३१ मा दुई दिन खुलेको थियो। तर लकडाउनको कारण देखाउँदै पुनः धितोपत्र बोर्डको दबाबमा बजार बन्द भएको थियो।
पूर्ण रुपमा अनलाइन प्रणालीमा गएको दाबी गरिए पनि लकडाउनमा बजार नखुलेपछि लगानीकर्ताहरु आक्रोशित भएका थिए ।
अर्थ मन्त्रालयमा बारम्बार लगानीकर्ताको गुनासो लिँदै बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पुगेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले गत शुक्रबार यसरी सानातिन गुनासा लिएर नआउन जवाफ दिएका थिए।
बजार बन्द गरेर लगानीकर्तालाई बन्धक बनाएको भन्दै अर्थमन्त्रीले झपारेपछि बोर्डको बैठकले सोमबारदेखि बजार खुल्नका लागि नेप्सेलाई पत्र लेख्ने निर्णय गरेको थियो। बोर्डको निर्णयअनुसार आजदेखि बजार खोलिने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।