शनिबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बजेटमा कर्णालीको प्रतिक्रिया : आश्वासन ठीक, कार्यान्वयन कठिन

बजेटमा कर्णालीको प्रतिक्रिया : आश्वासन ठीक, कार्यान्वयन कठिन

संघीय सरकारको बजेटप्रति कर्णाली प्रदेशले आश्वासन ठीक भएपनि कार्यान्वयनमा आउनेमा शंका व्यक्त गरेको छ। कोरोना महामारीका बीच पनि पुराना योजनाहरुले निरन्तरता पाउनु राम्रो पक्ष भएको तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको कर्णाली प्रदेशको बुझाइ छ।
 |  शुक्रबार, जेठ १६, २०७७

देव राना

देव राना

शुक्रबार, जेठ १६, २०७७

सुर्खेत - संघीय सरकारको बजेटप्रति कर्णाली प्रदेशले आश्वासन ठीक भएपनि कार्यान्वयनमा आउनेमा शंका व्यक्त गरेको छ। कोरोना महामारीका बीच पनि पुराना योजनाहरुले निरन्तरता पाउनु राम्रो पक्ष भएको तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको कर्णाली प्रदेशको बुझाइ छ।

‘दुई वर्षभित्र कर्णालीमा विद्युतिकरण, मुख्य राजमार्गहरुको स्तरोन्नती र हुम्लालाई राष्ट्रिय राजमार्गमा जोड्ने योजनाहरुले निरन्तरा पाउनु राम्रो पक्ष हो’, पूर्वडिन एवं शिक्षाविद् पिताम्बर ढकाल भन्छन्, ‘वर्षौंदेखिका अधुरा योजनाहरु पूरा भएको खण्डमा भने बजेटको उपलब्धि मान्न सकिन्छ।’ यद्यपि बजेटले कृषिका दीर्घकालिन योजनाहरु र शिक्षाको प्राविधिक धारलाई समेट्न नसक्नु कमजोर पक्ष भएको उनले बताए।

‘नयाँ विषय आएका छैनन्, पुराना योजनाहरुले निरन्तरता पाउनु राम्रो पक्ष हो’, पूर्वनागरिक उड्डयन मन्त्री एवं कर्णाली प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘कोरोना महामारीका बीचमा आएको बजेटले कर्णालीका लागि कागजमा ठीक छ, व्यवहारमा पनि ठीक देखिनु पर्यो।’ वर्षौंदेखि बजेट भाषणमा योजनाहरु समावेश हुने तर व्यवहारमा सधै अधुरा रहने बताउँदै उनले योजनाहरु कार्यान्वयनमा आए बजेट कर्णालीका लागि उपलब्धिपूर्ण मान्न सकिने बताए। नयाँ बजेटले कर्णालीमा सरुवा रोग अस्पताल निर्माण गर्ने बाहेक अन्य सबै योजनाहरु पहिलेकै निरन्तरता भएको उनको भनाइ छ।

कर्णाली उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही सुर्खेतमा प्रादेशिक विमानस्थल, बहुमूल्य पथ्थरको प्रशोधन केन्द्र र दैलेखको पेट्रोल खानी जस्ता योजनाहरुले कर्णालीका लागि केही आशा जगाएको बताउँछन्। ‘सुर्खेत विमानस्थलको विस्तार, कोहलपुर-सुर्खेत र कर्णाली राजमार्गको स्तरोन्नती सबल पक्ष हो, तर अर्थतन्त्र थलापरेको बेला निजी क्षेत्रलाई समेट्न नसक्नु बजेटको कमजोर पक्ष छ’, शाहीले भने, ‘निजी क्षेत्र सरकारका लागि दुहुनो गाई भएपनि गाई थलापर्दा उपचार गर्ने बजेट सरकारले ल्याउन सकेन।’ बजेटले सुर्खेत विमानस्थलको स्तरोन्नती गर्नसके स्वागतयोग्य हुने उनको ठहर छ। त्यस्तै राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण, सुर्खेत मेडिकल कलेजको सम्भाव्यता अध्ययन र ठूला राजमार्गको स्तरोन्नती हुनसके निजी क्षेत्रले पनि लाभ लिनसक्ने उनको बुझाई छ।

यता कर्णाली प्रदेश सरकारले भने संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटामा सन्तुष्टि जनाएको छ। संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई सम्बोधन गर्न नसकेपनि कर्णालीको लाइफलाइनका रुपमा चिनिने राजमार्गहरु (कोहलपुर-सुर्खेत सडक खण्ड, कर्णाली राजमार्ग, कर्णाली र भेरी करिडोर)को स्तरोन्नती र हुम्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने योजनाहरु बजेटमा समेटिनु राम्रो पक्ष भएको प्रदेश सरकारको बुझाइ छ। ‘संघीयताको मर्म र भावनालाई बजेटले सम्बोधन गर्न सकेन तर समग्र कर्णालीका महत्वपूर्ण योजनाहरु सम्बोधन भएका छन्’, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला भन्छन्, ‘सुर्खेतमा प्रादेशिक विमानस्थल, सरुवा रोग अस्पताल, कर्णाली बाल संरक्षण र रारा तालको दीर्घकालिन विकास जस्ता महत्वपूर्ण योजनाहरु समावेश हुँदा बजेट कर्णालीमैत्री भएको छ।’ कोरोना महामारीका बीच बजेटले समेटेका आयोजनाहरु कार्यान्वयन भए विकासले नयाँ गति लिने उनको तर्क छ।

बजेटमा कर्णालीका लागि समावेश केही महत्वपूर्ण योजनाहरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विशेषज्ञ अस्पताल
सुर्खेतमा ५० बेडको सरुवा रोग अस्पताल
भेरीबबई आयोजनाको कार्यान्वयन
रारा तालको दीर्घकालिन विकासका लागि गुरुयोजना
सुर्खेतमा बहुमूल्य पथ्थर प्रशोधन केन्द्र
दैलेखको पेट्रोलियम खानीको उत्खनन्
हुम्लाको यारीमा व्यापार पूर्वाधार विकास
सुर्खेतमा ३ लाख १० मेट्रिक टन भण्डारण गृह
काँक्रेविहारमा पर्यटकीय स्थलको विकास
कर्णालीमा राष्ट्रिय खेलकुदका लागि पूर्वाधारको विकास
कर्णालीमा दुई वर्षभित्र आधुनिक उर्जाको पहुँच
सुर्खेतका बाढीपीडितहरुको लागि आवाश कार्यक्रम
भेरी, कर्णाली करिडोरको स्तरोन्नती
कर्णाली राजमार्ग (सुर्खेत-जुम्ला र सुर्खेत-दैलेख-नाग्म-गमगढी-नाग्चेनाग्ला)स्तरोन्नती
गमगढी-रारा सडकको निर्माण
हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने
सुर्खेत-कोहलपुर सडकको स्तरोन्नती
सुर्खेतमा प्रादेशिक विमानस्थल
सुर्खेत मेडिकल कलेजको सम्भावता अध्ययन

प्रकाशित: May 29, 2020| 16:25 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।