काठमाडौं । मेटाले एचटीटीपुल बाई एल्फलाई नेपालमा आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ । नियुक्तिसँगै एचटीटीपुल बाईले स्थानीय विज्ञापनकर्ताहरू तथा एजेन्सीहरूलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्नेछ।
विश्वभर मेटाको सेल्स टिमको रूपमा मेटाका आधिकारिक बिक्रेताहरूले प्रतिनिधित्व गर्छन् । मेटाको आधिकारिक बिक्रेता बन्नका लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीहरूका लागि विश्वस्तरको सहायता सुनिश्चित पनि गर्ने बताइएको छ।
एल्फ, एचटीटीपुल बाई एल्फको होल्डिङ कम्पनी, सन् २०१८ देखि आधिकारिक बिक्रेताको रूपमा आबद्ध भई मेटाको विकास मात्र नभई स्थानीय विज्ञापन जगतमा एजेन्सी तथा विज्ञापनकर्ताहरू र साना–मध्यम व्यवसायहरूलाई डिजिटल मार्केटिङमा मद्दत पुर्याउँदै आइरहेको छ।
“नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा, एचटीटीपुल बाई एल्फले विज्ञापनकर्ताहरूका लागि आन्तरिक सहायता तथा निर्देशनमा सहयोग पुर्याएको छ,” सन्नी नागपाल, एचटीटीपुल बाई एल्फका प्रबन्ध निर्देशकले टिप्पणी व्यक्त गरे, “हामी विभिन्न क्षेत्रमा कार्यशालाहरू र तालिमहरू प्रदान गर्दै विज्ञापनकर्ताहरूलाई नयाँ सीपहरू सिक्न र मेटाको प्लेटफर्महरूबाट अधिकतम लाभ लिन सक्षम बनाउन पाउँदा गर्व गर्छौं।”
मेटा प्लेटफर्मसम्बन्धी व्यापक जानकारी र अनुभव बोकेको एचटीटीपुल बाइ एल्फमेटाको तर्फबाट प्रत्यक्ष प्रतिनिधि बनि मेटाका सम्पूर्ण प्रोडक्ट तथा सेवाहरू विज्ञापनकर्ताहरूका लागि उत्कृष्ट रूपमा प्रदान गर्न सक्षम छ।
यसबाहेक, काठमाडौंमा स्थानीय उपस्थितिको साथ यस कम्पनीले स्थानीय र राष्ट्रिय भाषाहरूमा समेत रणनीतिक निर्देशन र अनुकूलन पक्षहरूमा सहायता र सुझाव प्रदान गर्नेछ । त्यसका साथै, देशको आधिकारिक मुद्रा, नेपाली रुपैयाँमा बिलिङका लागि पनि यस कम्पनीको स्थानीय उपस्थितिले सहजता प्रदान गर्छ।
“एचटीटीपुल बाई एल्फलाई मेटाको आधिकारिक बिक्रेताको रूपमा नेपालमा ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौं। कम्पनीको मेटा प्लेटफर्मसम्बन्धी उत्कृष्ट अनुभव र विशेषज्ञताका साथ हामी स्थानीय व्यवसाय र एजेन्सीहरूको विकास तथा वृद्धिमा सहयोग प्रदान गर्नेछौं,” मेटाका एपीएसीका लागि इमर्जिङ मार्केट्सका निर्देशक, जोर्डी फोर्निजले भने।