बुधबार, असार २५, २०८२

घरबेटीले कोठामा पस्न नदिएपछि टेकु अस्पतालमा भीड

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यतिबेला सबैको ध्यान तानेको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यतिबेला सबैको ध्यान तानेको छ। सुरुबाटै कोभिड–१९ को उपचारको लागि निर्धारण गरिएको अस्पताल भएकाले पनि टेकुले आम मानिसको ध्यान तानेको हो।

बुधबार टेकु अस्पताल परिसर पुग्दा निकै भिड देखिन्थ्यो। बालबालिकादेखि  वृद्धवृद्धाहरु टेकु अस्पताल परिसरमा कोरोना परीक्षणको लागि लाइनमा थिए।

कोरोनाको पीसीआर टेस्ट गराइदिन आग्रह गर्दै अस्पताल पुग्नेको भिड थाम्नै नसकिने गरी बढेपछि व्यवस्थापन गर्न अस्पताललाई हम्मेहम्मे परेको थियो। अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारी, प्रवक्ता अनुप बास्तोलालगायत अन्य चिकित्सकहरु प्राङ्गढमै आएर त्यसरी आउनेहरुसँग परामर्श गरिरहेका थिए। अन्य कर्मचारीहरु दूरी कायम गर्दै लाइनमा बस्न आग्रह गरिरहेका थिए।

एक्कासी बढ्यो भिड

मंगलबार एकैदिन नेपालमा ८३ जना कोरोना संक्रमित भेटिए। त्यसमध्ये भक्तपुर र काठमाडौंमा समेत कोरोनाका ३ जना बिरामी  देखिएपछि उपत्यकाका धेरै मानिसहरु सशंकित बने। यही आशंकाले धेरै मानिसलाई बुधबार टेकु पुर्यायो। टेकुमा यतिबेला ३ जना कोरोना संक्रमित छन्। अघिल्लो दिनसम्म सामान्य रहेको टेकु अस्पतालमा उपत्यकामा संक्रमित देखिएपछि भिड बढेको एक चिकित्सकले बताए।

घरबेटीले छिर्न नदिएपछि परीक्षण गर्न माग

अस्पतालका प्रवक्ता बास्तोला लाइनमा लागेका मानिसहरुसँग एक–एक गरी परामर्शमा जुटिरहेका थिए। लाइनमा बसेका २० जनालाई सोध्दा जम्मा ५ जनालाई पीसीआर गर्नुपर्ने उनले निकर्ष निकाले।

सशंकितहरुले पीसीआर गर्नुपर्ने विभिन्न कारणहरु देखाए। त्यसमध्ये धेरैजनाको समस्या मिल्दोजुल्दो थियो। उनीहरुलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट ल्याएमात्रै घरभित्र छिर्न दिने भनेपछि उनीहरु अस्पताल पुगेका थिए।

प्रवक्ता बास्तोलाका अनुसार हालै उपत्यका छिरेका व्यक्तिलाई कोरोना परीक्षण नगराई घरबेटीले घरमा छिर्न नदिएको भन्दै मानिसहरू परीक्षणका लागि आग्रह गरेका हुन्।

बास्तोला भन्छन्, ‘परिक्षण गर्न  अस्पताल पुग्नेहरुमध्ये धेरैजसोको कुनै ट्राभल हिस्ट्री पनि छैन, संकास्पद व्यक्तिसँग सम्पर्कमा पनि छैनन् र संक्रमित जिल्लाहरुबाट पनि आएका हैनन्, यस्तो अवस्थामा हामीले के गर्ने ? बास्तोला आफैँ प्रश्न गर्छन्।

काभ्रेका मनिक लामा कोरोनाको पीसीआर परीक्षण गर्न भन्दै दुई घण्टादेखि लाइनमा बसिरहेका थिए। उनी भन्दै थिए, ‘गाउँ गएको थिएँ, काठमाडौं आएको पनि धेरै दिन भयो तर घरबेटीले हिजो एक्कासी कोरोना परीक्षण गर्नु नत्र घरमा आउन पाइँदैन भनेपछि यहाँ आएको हुँ।’

काठमाडौंकै बुद्धनगरमा बस्ने एक युवकलाई घरबेटीले कोरोना परीक्षण नगरी घरमा नआउन भने। तर अर्जुनको न त कुनै ट्राभल हिस्ट्री छ न त कुनै संकास्पद व्यक्तिसँगको सम्पर्क नै। उनी बाहिर कतै नगएको बताए पनि घरबेटीले कोरोना परीक्षण नगरी घर आउन नदिने भनेपछि उनी टेकु अस्पताल पुगे।

कुनै पनि शंका नलागेकालाई अस्पतालले परामर्शपश्चात् घर फर्काइदिएको थियो तर पनि केही मानिहरु भने परिक्षण गराउन पाउँ भन्दै होहल्ला गर्दा अस्पतालमा केही समय तनावको स्थिती पनि सिर्जना भयो।

जाँच गरिदिन माग गर्दै गएका कतिपय केही दिनअघि मात्रै काठमाडौं भित्रिएका थिए। स्थानीय प्रशासनले पास बनाइदिएपछि काठमाडौं आएको उनीहरुको भनाइ छ।

लडेर बिरामी भएकाको पनि परीक्षण गर्न माग

ठूलो भिड कोरोना परीक्षणको माग गर्दै होहल्ला गरिरहेककै बेला टेकु अस्पताल प्राङ्गढमा  साइरन बजाउँदै आएको एम्बुलेन्स रोकियो।

रोकिएको एम्बुलेन्सबाट एक महिला सानो बच्चा काखमा लिएर बाहिर निस्किईन्। ती महिला स्वयम्भूबाट छोरा बिरामी भएपछि अस्पताल पुगेकी थिइन्। ‘छोरालाई लडेर चोट लाग्यो, ज्वरो आयो। मेडिकलबाट औषधि खुवाएँ तर घरबेटीले कोरोना परीक्षण गर्न भनेपछि एम्बुलेन्समा लिएर आएँ।’ उनले भनिन्।

काठमाडौंमा घरबेटीले कोरोना परिक्षण नगरीभित्र छिर्न दिन्न भनेपछि टेकु अस्पतालमा दिनहुँजसो फाट्टफुट्ट मानिसहरु परिक्षण गर्न आग्रह गर्दै अस्पताल पुगेकै हुन्छन्। तर मंगलबार उपत्यकामा ३ जनामा कोरोना संक्रमित भेटिएपछि कोरोनाको सामान्य शंका पनि नभएका व्यक्तिलाई समेत घरबेटीले परीक्षण गर्न आदेश दिएपछि अस्पतालमा भिड लागेको हो।

कोरोनाको पीसीआर परीक्षण गराइदिन आग्रह गर्दै टेकु अस्पताल पुग्नेको भिड थाम्नै नसकिने गरी बढेपछि अस्पतालले प्रभावित क्षेत्रबाहेक र शंकास्पद बाहेककाका मानिसलाई परीक्षणका लागि नआउन आग्रह गरेको छ।

लक्षण नै नभएका र प्रभावित जिल्ला वा संक्रमितको सम्पर्कमा नआएका समेत अस्पताल आएपछि झनै चुनौती थपिएको डा. बास्तोला बताउँछन्।

प्रकाशित: May 13, 2020| 19:20 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।