आइतबार, जेठ २६, २०८२

लकडाउनले छोएको छैन भेरी–बबई आयोजनालाई

निर्माणाधिन राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई भने लकडाउनले खासै असर परेको छैन । सामाजिक दुरी कायम राख्दै ८० जना मजदुरले काम गरिरहेको आयोजनाले जनाएको छ ।
 |  शुक्रबार, वैशाख १९, २०७७

देव राना

देव राना

शुक्रबार, वैशाख १९, २०७७

सुर्खेत– कोरोना भाइरसको त्रासका कारण देशका अधिकांश आयोजनाहरुको काम ठप्प छ । लामो समयसम्म लकडाउन नखुलेपछि मजदुरहरु गाउँ पुगेका छन् ।

तर, निर्माणाधिन राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई भने लकडाउनले खासै असर परेको छैन । सामाजिक दुरी कायम राख्दै ८० जना मजदुरले काम गरिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले भने, ‘लकडाउनअघि नै हामीले महिनादिन पुग्ने सामग्री राखेका थियौँ । महिना दिनसम्म त्यहीले काम चलायौं । नजिक घर हुने केही मजदुरहरु गाउँ गए पनि ८० जना जनाले दैनिक काम गरिरहनु भएको छ ।’

हाल भेरी नदीको चिप्लेमा निर्माणाधिन व्यारेजको काम भइरहेको छ । स्थानीय प्रशासनले जिल्लाभित्र उपलब्ध हुने स्रोत साधनको प्रयोग गरेर काम गर्न अनुमति दिएको छ । सुरुङ बाहिरको स्लोप निर्माणको काम पनि भइरहेको छ । दोस्रो चरण अन्तर्गत बाँध तथा पावरहाउस निर्माणका लागि ६ अर्ब १६ करोडमा ठेक्का सम्झौता गरिएको छ ।

चिप्लेस्थित भेरीबाट बबई नदीसम्म १२ किलोमिटर लामो सुरुङमार्फत् भेरीको पानी बबईमा खसाल्ने योजना छ । यसबाट ४६ मेगावाटको जलविद्युत निकाल्ने र उक्त पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

सामाजिक दुरी कायम राखेर मजदुरले काम गरिरहेको आयोजनाले जनाएको छ । मजदुरलाई आयोजना स्थलमै खाने–बस्ने सुविधा मिलाइएको छ ।

४० प्रतिशत काम सकियो

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको झण्डै ४० प्रतिशत काम सकिएको छ । ‘समग्रमा ४० प्रतिशत काम सकिएको छ,’ पण्डितले भने, ‘पहिलो र दोस्रो चरणको काम उत्साहजनक रुपमा हुँदा तोकिएकै समयमा आयोजना सम्पन्न हुने आशा गरेका छौँ ।’ आयोजाको पहिलो चरण अन्तर्गत गत वर्ष नै सुरुङमार्ग ‘ब्रेकथ्रु’ भएको थियो ।

अघिल्लो वर्ष वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेकथ्रु गरेका थिए । पहिलो चरणको सुरुङ्ग निर्माण गर्ने काम निर्धारित समयभन्दा एक वर्षअघि नै सकेर चर्चा कमाएको थियो ।

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसन (टिबिएम) मार्फत १२ किलोमिटर सुरुङ छिचोलिएको आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध निर्माण र विद्युत् गृह निर्माणका लागि गत मंसिर १६ गते शिलान्यास गरेर काम सुरु भएको छ । आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध र पावर हाउस (विद्युत् गृह) निर्माणको काम रमण–ग्वाङडोन जेभीले लिएको छ ।

निर्माण कम्पनीले सम्झौता भएलगत्तै दोस्रो चरणको काम अन्तर्गत क्याम्प निर्माण, क्रसर प्लान्ट, ब्याचिङ प्लान्टको काम र सुरुङ फिनिसिङ अन्तिम चरणमा पुगेको इन्जिनियर पण्डितले बताए । दोस्रो चरणको क्याम्प निर्माण, क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट र सुरुङ फिनिसिङको काम अन्तिम चरणमा छ ।

आयोजना अन्तर्गत भेरी नदीको चिप्लेमा एक सय १४ मिटर लामो, ६ ब्यारेजसहितको १५ मिटर अग्लो बाँध निर्माण हुनेछ । ३३ अर्ब १९ करोडमा २०८० सालभित्र निर्माण सम्पन्न हुनेगरी आयोजनाको काम भइरहेको छ ।

प्रकाशित: May 01, 2020| 19:59 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।