काठमाडौं– नेपाली रूपैयाँ डलरसँग अहिलेसम्मकै कमजोर भएको छ। कोरोना भाइरस रोग (कोभिड–१९) को प्रभावले डलरको माग बढ्न थालेपछि भारतीय रूपैयाँ डलरसँग कमजोर हुँदा नेपाली रूपैयाँ पनि कमजोर भएको हो।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक डलरको मूल्य १२२ रूपैयाँ ६१ पैसा तोकेको छ। यसअघि एक डलरको मूल्य सर्वाधिक १२२ रुपैयाँ ५० पैसा पुगेको थियो।
नेपाली रूपैयाँ भारतीय रूपैयाँसँग स्थिर विनिमय दर (पेग) भएका कारण भारतीय रूपैयाँ कमजोर हुँदा नेपाली रूपैयाँ अटोमेटिक रूपमा कमजोर हुने गरेको छ।
“कोभिड–१९ को संक्रमणमा अर्थतन्त्र बलियो बनाउन अमेरिकाले गरेको प्रयासले अमेरिकी डलरमा मानिसको विश्वास बढ्न थाल्यो। जसका कारण माग बढ्यो र डलरको मूल्यमा भारी वृद्धि भयो,” अर्थशास्त्री डा.चन्द्रमणि भट्टराईले नेपालसमयसँग भने।
अहिले डलरको मूल्य बढ्दा नेपाललाई खासै असर गर्दैन। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने कामदारले नेपालमा पठाउने रकमको पैसा बढ्ने हो।
तर, अहिले विश्वभर कोरोनाको कारण कयौं नेपाली बेरोजगार भएका छन्, जसको कारण उनीहरूले पठाउने रेमिट्यान्समा पनि निकै कमी आइसकेको छ।