काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम हुँदै गएपछि चीनको अवस्था सामान्य बन्दै गएको छ। सीएनएनका अनुसार नयाँ संक्रमितको संख्या चीनमा न्यून छ । आज (आइतबार) २० जनामात्र कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।
केही समयअघि चीनमा दिनमै एक हजार जनासम्ममा संक्रमण देखिएको थियो। पछिल्लो हप्ता नयाँ संक्रमण विदेशबाट आउने नागरिक र वुहानमा मात्र देखिएको छ।
कोरोना प्रभाव कम भएसँगै विभिन्न सहरमा गरिएको ‘लकडाउन’ हटाइएको छ भने कार्यालय पनि खुल्न थालेका छन्।
कोरोनाको प्रभाव अत्यधिक फैलिएपछि देशभरका एक हजार ११९ वटा दू्रतमार्गका मुख्य नाका बन्द गरिएको थियो। त्यसमध्ये दुईवटा बाहेक अहिले सबै नाका खुला भइसकेका छन्।
बन्द गरिएका सयवटा बजार पनि खुलिसकेका छन्। १२ हजार २८ मध्ये ११ हजार १९८ स्वास्थ्य जाँच गर्ने स्थान र क्वारेन्टाइन पनि हटाइएको छ।
चीनमा हालसम्म ८० हजार ८४४ जनामा कोरोना संक्रमण फेला परेको छ। त्यसमध्ये ६६ हजार ९१३ मुक्त भइसकेका छन्। तीन हजार १९९ जनाको ज्यान गएको छ।