आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • रोजगारी बढाउँदै कर्णालीका स्थानीय तह, रोकिएला कालापहाड यात्रा ?

रोजगारी बढाउँदै कर्णालीका स्थानीय तह, रोकिएला कालापहाड यात्रा ?

स्थानीय तहको स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीयले गाउँमै काम पाएका छन् ।
 |  बिहीबार, फागुन २९, २०७६

देव राना

देव राना

बिहीबार, फागुन २९, २०७६

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका– ११ रामघाटका रंगे सार्की बिहान पाँच बजे नै उठ्छन् । सात बजेसम्ममा घरधन्दा सक्छन् । आठ नबज्दै उनी गैँती र कोदालो काँधमा बोकेर घरबाट निस्कन्छन् । झण्डै १२ बजेसम्म नगरपालिकाभित्र भत्किएका सडक र बाटो मर्मत गर्छन् । फोहोर र माटोले पुरिएका सडकका नाला सफा गर्छन् । १२ बजेपछि खाना खान घरपुग्छन् । तर एक नबज्दै उनी पुनः काममै फर्किन्छन् ।

करिब पाँच बजेसम्म काममै व्यस्त हुन्छन् । भोलिपल्ट पुनः उसैगरी उनको दिनचर्या सुरु गर्छन् । विगतका वर्षमा उनी रोजगारीका लागि भारतका विभिन्न सहरमा भौँतारिन्थे । तर अचेल उनी घरमै परिवारसँग बसेर रोजगारीमा व्यस्त छन् । ‘नगरपालिकाले रोजगारी दिएपछि कालापहाड जाने बाटो बन्द भयो,’ सार्की भन्छन्, ‘आँगनमै रोजगारी पाएपछि घरधन्दा भ्याउन र पैसा कमाउन सजिलो भएको छ ।’ सार्कीमात्रै होइन, उनका दौँतरीहरुले पनि हिजोआज गाउँमै रोजगारी पाएका छन् ।

‘पहिला–पुरुषले मात्रै सडकको काम गर्न सक्छन् भन्थे, तर नगरपालिकाले महिलाहरुलाई पनि रोजगारी दियो,’ भेरीगंगा–११ रामघाटकी धनसरा कामी भन्छन्, ‘गाउँकै दाजुभाइसँग काम गर्छौं, ज्यालामा पनि विभेद गरिएको छैन ।’ रंगे र धनसरा मात्रै होइन, भेरीगंगा–११ का आठ जनाले आउँदो असारसम्मका लागि रोजगारी पाएका छन् ।

भेरीगंगा नगरपालिकाका इन्जिनियर विजयकुमार खत्रीले उनीहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले काम दिएको बताए । भेरीगंगाको राताचौरदेखि रामघाटसम्म र वडा नम्बर ३ बाट ४ नम्बर वडासम्म जोड्ने सडकको मर्मत र नालाहरुको सरसफाइका लागि उनीहरुलाई खटाइएको छ । त्यस्तै यो नगरपालिकाले चालू आर्थिक वर्ष भित्रमै विकास निर्माणमा युवाहरुलाई खटाउने जनाएको छ ।

स्थानीय सरकार गठन भएपछि कर्णालीका स्थानीय तहले युवाहरुलाई स्वरोजगार बनाउन थालेका छन् । विभिन्न सार्वजनिक काममा खटाएर युवालाई रोजगार उपलब्ध गराउने स्थानीय तहबीच प्रतिस्पर्धा नै छ ।

स्थानीय तहको स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीयले गाउँमै काम पाएका छन् । यसले विगतमा कामका लागि भारत जानेहरु हिजोआज गाउँमै रोकिएका छन् । स्थानीय तहले नै विकास कार्यदल र निर्माण कार्यदल गठन गरेर युवाहरुलाई विकास निर्माणमा लगाइरहेका छन् । यसबापत उनीहरुलाई तलब पनि उपलब्ध गराइन्छ । यसले एकातिर स्थानीयले रोजगारी पाएका छन् भने अर्कोतर्फ गाउँमा विकास पनि भइरहेको छ ।

बनगाडमा ४७ जना युवालाई रोजगारी

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले युवाहरुलाई गाउँमै रोजगारी दिएको छ । नगरभित्रका विभिन्न पाँचवटा सडकको मर्मत–सुधारका लागि ४७ जना युवालाई रोजगारी दिइएको नगरप्रमुख गोविन्दकुमार पुनले जानकारी दिए । ‘रेभथ्री आयोजनाबाट पूर्वाधारको बजेटले ४७ जनालाई रोजगारी दिएका छौंँ,’ नगरप्रमुख पुन भन्छन्, ‘आयोजनाबाट एकातिर युवाले गाउँमै रोजगारी पाएका छन् भने अर्काेतर्फ सडकको मर्मत सुधार भएको छ ।’ काममा खटाउन नगरले फरक–फरक सडक तोकिदिएको छ ।

नगरले सल्लीबजार–बामे–औलवेसी सडक, नाथेखोला–जामुने–बाँझकोट सडक, सालचौर–निगालचुला सडक, सल्लिवजार–आँपखोली–मैदुपोखरी कृषि सडक र बालुवासँग्रही–बावियाचौर–जामिरे सडक खण्डको मर्मत तथा सुधारमा युवाहरुलाई खटाएको हो । यस्तै दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकाले पनि पाँच सय युवालाई रोजगारी दिने तयारी तयारी गरेको छ । विभिन्न रोजगारमूलक कार्यक्रम र विकास निर्माणमा सहभागी गराउने नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्रमा पाँच सय युवालाई रोजगारी दिनेगरी कार्यविधि तयार पारेको जनाइएको छ ।

चन्दनाथमा मेयर रोजगार कार्यक्रम

जुम्लाको चन्दननाथ गाउँपालिकाले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न मेयर रोजगार कार्यक्रम सुरु गरेको छ ।

नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन एक सय युवाहरुलाई मोटरसाइकल मर्मत तालिम सुरु गरेको छ । ‘युवाहरुलाई स्वरोजगार बनाउन ६ महिना मोटरसाइकल मर्मत तालिम सुरु गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले भने, ‘तालिम पश्चात युवाहरु आफैले व्यवसाय सुरु गर्नुपर्नेछ ।’ प्रत्येक वडाबाट दश जना युवा छनौट गरेर तालिम दिइरहेको छ ।

कात्तिकबाट सुरु भएको तालिम चैत मसान्तसम्म सकिनेछ । तालिम लिएका युवाहरुलाई सीटीइभीटीले योग्यताको प्रमाणपत्रसमेत उपलब्ध गराउने छ । उनीहरुले तालिमपछि अनिवार्य रुपमा व्यवसाय गर्ने नगरपालिकाको भनाइ छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पनि महिलाहरुलाई उद्यमी बनाउन विभिन्न तालिमहरु प्रदान गरिरहेको छ ।

भगवतीमा रोजगार बैंक

दैलेखको भगवतीमाई गाउँपालिकाले पनि एक सय ४० जना युवालाई गाउँमै रोजगारी दिएको छ । रोजगार बैंक स्थापना गरी प्रत्येक वडामा २० जना युवालाई रोजगारी दिएको हो । रोजगारमा जोडिएका युवाहरुले दैनिक ज्यालादारीमा पारिश्रमिक पाउँदै आएका छन् ।

युवाहरुलाई विकास निर्माणमा सहभागी गराउने र विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले रोजगार बैंकबाट युवाहरुलाई रोजगारी दिइएको गाउँपालिकाका उपाध्यक्ष चन्द्र रेग्मीले जानकारी दिइन् । ‘चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेटमा युवा रोजगार कार्यक्रम सुरु गरेका हौं,’ रेग्मी भन्छिन्, ‘उपभोक्ता समिति र डोजर प्रयोग गरेर हुने ठेक्कापट्टा रोकिएका छन् ।’

सात वटा वडा रहेको गाउँपालिकामा उपभोक्ता समितिबाट हुने सम्पूर्ण कामहरु युवाहरुले गर्दै आएका छन् । ‘प्रत्येक वडाका २० जना युवामध्ये एक जनालाई टोली नेता बनाएका छौँ, काम सम्पन्न भएपछि अनुगमन गरेर भुक्तानी दिन्छौँ,’ उपाध्यक्ष रेग्मी थप्छिन्, ‘युवाहरुले गौरव गर्न लायक काम गरेका छन्, यो कार्यक्रमले अर्काे वर्ष पनि निरन्तरता पाउँछ ।’

डोजर विस्थापित गर्दै युवालाई गाउँमै रोजगारी दिन कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । युवाहरुलाई विकास निर्माणमा सहभागी गराउँदा दु्रत गतिमा काम सम्पन्न हुने गाउँपालिकाको अपेक्षा छ ।

 

प्रकाशित: Mar 12, 2020| 05:57 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।