धनगढी– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन्।
दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका शाह र राज्यमन्त्री गहतराजले आजै राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ।
अहिले बेलुका मन्त्री शाहले मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। त्यही बेला उनले राजीनामा घोषणा गर्ने बताइएको छ।
विगतमा शाह र गहतराज दुवै माधवकुमार नेपालको समूहमा थिए। तर, दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन्।
सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी छ। एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्।