धनगढी– जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिम प्रदेश सभामा रहेका दुई सदस्य पनि विभाजन भएका छन्। जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्ण चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्।
कैलालीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद चौधरीले लोसपामा सनाखत गरेको निर्वाचन अधिकारी प्रेम भट्टले बताए। उनले महन्थ ठाकुर नेतृत्वको लाकतान्त्रिक समाजवादी पार्टी रोजेपछि अब प्रदेशसभामा जसपाको तर्फबाट मालामतीकुमारी राना मात्रै छिन्।
गत चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी रानाले विगतमा महन्थ ठाकुर समूहलाई साथ दिँदै आएकी थिइन्। तर, पार्टी औपचारिक रुपमा विभाजन भएपछि भने उनी जसपामै रहेकी हुन्।
जसपा र एमाले विभाजन भएसँगै सुदूरपश्चिम प्रदेश सभामा ६ दल बनेका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टी १४ सांसदसहित पहिलो बनेको छ भने १३ सांसदसहित माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली कांग्रेस तेस्रो, ११ सांसद भएको नेकपा एमाले चौथो दलको भएको छ। जसपा र लोसपाका एक–एक सांसद छन्।