जनकपुरधाम– महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाको अतिक्रमित जग्गा खाली गराइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको नेतृत्वमा निगौला गाई गौशालाको अतिक्रमण गरी बनाइएका घर टहराहरु आइतबार खाली गराइएको हो ।
गौशालाको जग्गा अतिक्रमण गरी बनाइएका ३० वटा घरटहरा डोजर लगाएर भत्काइएको छ । अतिक्रमित जग्गा खाली गर्न पटकपटक सूचना जारी भए पनि अटेर गर्दा डोजर चलाउनु परेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । शनिबार साँझ ५ बजेसम्म घरटहरा खाली गर्न गाई गौशालाले अन्तिम अल्टिमेटम दिएको थियो ।
मन्त्री अर्यालले मिचिएका सार्वजनिक जग्गा फिर्ता गर्ने सरकारको नीतिअनुसार घरटहरा भत्काइएको जानकारी दिइन् । सार्वजनिक तथा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान यसअघि काठमाडौंबाट सुरु भइसकेको र प्रदेश २ मा गौशाला नगरपालिकाबाट सुरु गरिएको मन्त्री अर्यालले बताइन् ।
घर टहरा भत्काउने कामको नेतृत्व गर्न मन्त्री हेलिकप्टरबाट महोत्तरीको गौशाला पुगेकी थिइन् ।