काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको परिचित आईसीटी अवार्डको सातौं संस्करणको अनलाइन आवेदन शुक्रबारदेखि खुला गरिएकाे छ ।
लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आईसीटी अवार्ड २०२२’ को आवेदन आजदेखि सुरु भएको हो । सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको छ ।
आईसीटी अवार्ड २०२२ का लागि विभिन्न ११ विधाहरूमा नोमिनेसन खुला गरिएको र अनलाइन नोमिनेसन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । उनका अनुसार, आईसीटी अवार्डमा प्रतिस्पर्धी आफैं वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन् । अवार्डमा नोमिनेसन गर्न आईसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनोट गरी अनलाइन फारम भरेर बुझाउन सकिने जनाएको छ ।
आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनाले मंसिरमा आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढी चरणमका छनोट प्रक्रियालाई अगाडि बढाउनेछ ।
१२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रिजेन्टेसन, स्पिड डेटिङ, पब्लिक भोटिङलगायत उत्कृष्ट ५ का लागि फिल्ड भिजिटसमेत सञ्चालन हुनेछ । यस वर्ष २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।
यस वर्ष नोमिनेसन खुला गरिएको ११ विधामा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी ३ विधा स्टार्टअप तथा इन्नोभेसन सम्बन्धित विधाहरू छन् ।
आईसीटीको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरूलाई दिइने अवार्डका विधाहरूमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् ।
यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड छन् ।
यस वर्ष आयोजकले गत चैत र जेठ महिनामा सातांै प्रदेशमा स्टार्टअप एन्ड आइडिया फेस्ट कार्यक्रम आयोजना गर्दै प्रदेश स्तरीय उत्कृष्ट स्टार्टअपहरू छनोट गरिएको आयोजक समितिका अध्यक्ष लम्सालले बताए ।
११ विधाबाहेक हरेक प्रदेशका उत्कृष्ट स्टार्टअपहरूले ग्रान्ड फिनाले कार्यक्रममा सम्मान प्राप्त गर्नेछन् । यसैगरी अन्तर्राष्ट्रि«य स्तरलाई पनि लक्षित गरेर केही समयपश्चात् कुनै एक विधा घोषणा गरिने आयोजकले जनाएको छ ।
यसैगरी काठमाडौंमा सातै प्रदेशबाट छनोट भएको ४० बढी स्टार्टअप र अवार्डबाट तेस्रो चरणमा छनोट हुने दर्जनांै स्टार्टअपहरूको विशेष सेसन ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ काठमाडौंमा पनि सञ्चालन हुनेछ । गत वर्ष आयोजना भएको एफवान सफ्ट आईसीटी अवार्ड २०२१ मा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो ।
आयोजकले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा सल्लाहकार र जुरी समितिले अवार्ड अझ उत्कृष्ट बनाउनका लागि सुझावहरू दिएका थिए । आईसीटी अवार्ड नेपालको प्रविधि क्षेत्रमा नयाँ आइडिया र स्टार्टअपदेखि विशिष्ट योगदान दिएका व्यक्ति र संस्थाहरूलाई सम्मान गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित भएको र यसले सबैको विश्वास जितेको सल्लाहकार तथा योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उक्त छलफल कार्यक्रममा बताए ।
यसैगरी जुरी समितिका सुशील पोखरेलले नेपालमा आयोजना हुने अवार्डहरूमध्ये आईसीटी अवार्डको छुट्टै चाम रहेको र यसले स्टार्टअप र इन्नोभेटरहरूका लागि महत्वपूर्ण प्लाटफर्मको विकास गरेको बताए । अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्नेछन् ।