काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ ।
एनसेलको मुख्य कार्यालय एनसेल आइकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापककाे उपस्थितिमा उक्त छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।

२०७१ सालबाट सुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको एनसेलले जनाएकाे छ ।
साे कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिने बताइएकाे छ ।
२०७८ का लागि १८ वटा शीर्षकअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हाे ।

इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रूपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए ।
त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशाल मणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तीय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेकाे एनसेलले जनाएकाे छ ।
कोभिड–१९ महामारीका कारणले गर्दा गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको कार्यक्रम आयोजना गर्न नसकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाणपत्र पनि प्रदान गरिएको एनसेल जनाएकाे छ ।

‘यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमका लागि एनसेलसँग सहकार्य गर्न पाएकोमा निकै खुसी छौं। यो कार्यक्रमले उदीयमान हाम्रा युवा प्रतिभाहरुका ज्ञान अभिवृद्धि गर्न ठूलो भूमिका खेलेको छ। यसले ज्ञानको विकासमा योगदान पुर्याउँछ। २०७१ सालदेखि यस कार्यक्रमलाई निरन्तरता दिएकोमा हामी एनसेल प्रतिआभारी छौं,’ इन्जिनियरिङ अध्ययन संस्थानका डीन जोशीले भने।
‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम हाम्रा सामाजिक पहलहरुमध्ये निकै प्रशंसा गरिएको एक कार्यक्रम हो। प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ। व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ र यसलाई हामी निरन्तर उच्च प्राथकितामा राख्छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले भने।

एनसेल छात्रवृत्ति इन्जिनियरिङ पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्छन् भने पाँचवटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएका विद्युतीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने एनसेलले जनाएको छ।
यसैगरी उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहको पढाइ सकेका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्ने बताइएको छ।

हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको एनसेलले जनाएको छ।