शनिबार, जेठ १८, २०८२

कर नीति र कर प्रशासनले उद्योग व्यापारमा अवरोध

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन्।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन्।

आठौं कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरको दोस्रो दिन सोमबार नेपाल चेम्बर अफ कमर्सले गरेको अन्तक्र्रियामा उनले प्रविधिमैत्री कर प्रशासनमा जोड दिनुपर्ने उल्लेख गरे।

महानिर्देशक कुँवरले कर शिक्षालाई प्राथमिकता दिँदै प्रणाली र प्रक्रियागत प्रणालीमा सुधार गरी कर कार्यालय नपुगी कर भुक्तानी र कर विवरण मोबाईलमा जानकारी दिने दिशामा भएकाले उद्योगी व्यवसायी एवम् करदाताको साथ अनिवार्य रहेको धारणा राखे।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक ऐन २०७६ लागू भएको चार महिना नबित्दै नहुँदै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने उल्लेख गरे।

कर दिवसले करदातालाई आफूले तिरेको रकमको सही सदुपयोग हुने भएकाले कर कानूनको परिपालना, कर चुहावट नियन्त्रण एवम् करदाता शिक्षाको माध्यमबाट सर्वसाधारणलाई कर सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका हुने बताए।

कर लगाउँदा त्यतिमात्र लिनु जति माहुरीले फूलबाट जति रस लिन्छ त्यति लिनु जसबाट फूलको महक पनि कम नहुने र मह पनि बन्ने जस्तो अवधारणाबाट अभिप्रेरित हुनुपर्ने उनले बताए।

तर अत्यावश्यक मेगा प्रोजेक्ट र ठूला विकासका कार्य छन् भने मात्र अधिक कर लिनुपर्ने व्यवस्था हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए।

उनले उद्यमी व्यवसायीले कर सम्बन्धी कानून उल्लंघन गरेका पाइएमा उनीहरुलाई फौजदारी अभियोग नलगाई आर्थिक जरिवानामात्र लगाउनुपर्ने धारणा राखे।

उनले सर्वसाधारणलाई अतिरिक्त व्ययभार नपर्ने गरी एकपटकको लागि विभिन्न करदाताले आफ्नो सम्पत्तिको स्वघोषणा गर्ने अवसर उपलब्ध गराइनुका साथै प्राप्त सूचनाको आधारमा सरकारले पर्पर्टी इन्डेक्स पनि तयार गर्नुपर्ने दाबी गरे।

उनले अझै पनि कतिपय कारोबारमा दोहोरो ढंगले कर लाग्ने गरेकोले यो प्रचलनलाई यथाशीघ्र खारेज गरिनुपर्नेमा जोड दिए।

राष्ट्र बैंकको तथ्यांक अनुसार आ.व. २०७५/७६ मा राजश्व परिचालन ८६५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा सरकारको कूल राजश्व ७२६ खर्ब ७२ करोड रुपैँया रहेको थियो। यस आ.व.वर्ष २०७६/७७ को दुई महिनाको राजश्व संकलन १४१ अर्ब ५१ करोड छ अघिल्लो वर्षको सोही अवधिमा ११९ अर्ब २० करोड राजस्व संकलन भएको थियो।

कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच कर सम्बन्धी तालिम दिनेबारे सम्झौता भएको छ। होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रकाशित: Nov 18, 2019| 12:58 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्