बिहीबार, जेठ ९, २०८२

नेपालको ऋण एक वर्षमा १२.१ प्रतिशतले बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- नेपालले गत वर्ष पाँच खर्ब ८८ अर्ब ४४ करोड ९८ लाख  ६३ हजार रुपैयाँ बराबरको बाह्य ऋण लिएको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा १२.१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा नेपालले ५ खर्ब २५ अर्ब ३५ लाख १२ हजार रुपैयाँ बाह्य ऋण लिएको थियो। 

बाह्य ऋणमध्ये सरकारले बहुपक्षीय निकायबाट मात्र ५ खर्ब २१ अर्ब ९७ करोड ५१ लाख ८३ हजार रुपैयाँ ऋण लिएको छ, भने विभिन्न देशहरूबाट करिव ६७ अर्ब रुपैयाँ मात्र ऋण लिएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ।

महालेखा नियन्त्रणको कार्यालयले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बहुपक्षीय निकायमध्ये नेपालले सबैभन्दा धेरै ऋण विश्व बैङ्कबाट लिएको छ। बैङ्कले गत वर्षमात्रै तीन खर्ब ५ अर्ब ७६ करोड ४४ लाख रुपैयाँ ऋण सहयोग गरेको छ।

त्यस्तै एसियाली विकास बैंक (एडिबी) दोस्रो रहेको छ। एडिवीले गत वर्ष दुई खर्ब २ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको ऋण सापटी दिएको छ।

त्यसैगरी गत वर्ष युरोपियन इकोनोमिक कमिटी युरोपियन आर्थिक समिति ले तीन पटक गरी २६ करोड ८० लाख ५४ हजार रुपैयाँ, युरोपियन इन्भेष्टमेन्ट बैङ्कले ३६ करोड ४४ लाख ८२ हजार रुपैयाँ, इन्टरनेशनल फन्ड अफ एग्रिकल्चरले ८ अर्ब २३ करोड ७२ लाख ७७ हजार रुपैयाँ, एनडिएफ २ अर्ब ९ करोड ९१ लाख २० हजार र ओएफआइडिले ५ अर्ब ७६ करोड १ लाख ६७ हजार रुपैयाँ ऋण प्रदान गरेका छन्। 

भारतको भन्दा चीनको धेरै

त्यस्तै अन्य देशले पनि नेपाललाई ६७ अर्ब बराबरको ऋण दिएका छन्। सबैभन्दा बढी ऋण दिने देश जापान रहेको छ। उसले गत वर्ष नेपाललाई २८ अर्ब २३ करोड २ लाख ६८ हजार नेपाली रुपैयाँ ऋण सहयोग गरेको थियो।

ऋण सहयोग गर्नेमा भारतभन्दा चीन अगाडि देखिएको छ। चीनले गत वर्ष नेपाललाई १६ अर्ब ४७ करोड ६३ लाख ७६ हजार रुपैयाँ ऋण दिएको थियो भने भारतले १३ अर्ब ५१ करोड ६९ लाख ११ हजार रुपैयाँ ऋण दिएको थियो। 

त्यसैगरी कोरियाले ५ अर्ब ६२ करोड ७५ लाख, साउदी अरेबियाले ९२ करोड ७३ लाख ४५ हजार, अष्ट्रियाले एक करोड ७० लाख ४४ हजार, बेल्जियमले ७५ करोड ८० लाख ७५ हजार, फ्रान्सले ३३ करोड ३८ लाख ३३ हजार र कुवेतले ५८ करोड ७३ लाख १६ हजार रुपैयाँ बराबरको ऋण सहयोग गरेका छन्। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्