धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमै राजपत्र छाप्न सुरु गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी छपाइको काम सुरु गरेको हो।
सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले मेसिनको पूजापाठ गरी उद्घाटन गर्दै यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको बताइन्।
‘प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णयहरु कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्छ। यसअघि काठमाडौंको मुद्रणले राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको थियो,’ उनले भनिन्, ‘अब प्रदेशमै मेसिन आइसकेको छ। प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णयहरु यतै छापिनेछ।’
उनले प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसँगै प्रदेश सरकारलाई सहज हुने बताइन्। भनिन्, ‘मेसिन ल्याएपछि समयमै प्रदेश सरकारका निर्णयहरु राजपत्रमा छापिने र कार्यान्वयन पनि छिटो छरितो हुनेछ।’
मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम उल्लेख रहेको बताए। ‘आर्थिक वर्षको अन्त्यमै मेसिन प्रदेश सरकारले खरिद गरे पनि जडान गर्न ढिला भएकाले सञ्चालन गर्न सकिएको थिएन,’ उनले भने, ‘सो मेसिन २७ लाख ८० हजारमा खरिद गरी भित्र्याइएको हो।’