जनकपुरधाम- जानकी मेडिकल कलेजका सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउ पुर्जी काटेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरी कलेजका अध्यक्ष ओमप्रकाश पाण्डे (ओपी पाण्डे) र प्रमुख कार्यकारी अधिकृत धनधोज मल्ल ठकुरीलाई कार्यालयमा उपस्थित गराउन प्रहरीलाई भनेको छ।
पाण्डे र ठकुरीले कर्मचारीको तलबका साथै विभित्र व्यक्ति र संस्थाहरुको बाँकी बक्यौता राखेकोले जिल्ला प्रशासन कार्यालयले दुवैविरुद्ध पक्राउ पुर्जी काटेको हो।
कर्मचारीका तलबका साथै कतिपयको बाँकी बक्यौता राखेकाले पाण्डे र ठकुरीलाई पक्राउ गरी कार्यालयमा उपस्थित गराउन जिल्ला प्रहरीलाई पत्र काटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश साहले जानकारी दिए।
‘कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन्। विभित्र निकायले उजुरी दिएका छन्,’ साहले भने, ‘दुवै जनालाई कार्यालयमा उपस्थित हुन पटकपटक खबर गरेका छौं। तर आउन नमानेपछि १४ जेठमा पक्राउ पुर्जी काटेका छौं।’ यसअघि ९ जेठमा उपस्थित हुन पत्राचार गरेपनि उनीहरु सम्पर्कमा आउन नमानेपछि बाध्य भएर पक्राउ पुर्जी जारी गर्नुपरेको उनले बताए।
एक दिनभित्र पाण्डे र ठकुरीलाई उपस्थित गराउने गरी पक्राउ पुर्जी काटिएपनि शुक्रबारसम्म उनीहरु उपस्थित नभएको प्रशासकीय अधिकृत साहले बताएका छन्। कलेजले लामो समयदेखि कार्यरत चिकित्सक, नर्ससहित अन्य कर्मचारीहरुको तलब भत्ता दिएको छैन्। तलबभत्ता नपाएपछि त्यहाँ कार्यरत कर्मचारी तथा चिकित्सकहरु पटकपटक आन्दोलनमा उत्रने गरेका छन्।
मेडिकल कलेजका प्रिन्सिपल डा.हुकुमदेव साहले पनि तलब उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४