काठमाडौं- सर्वोच्च अदालतका लागि सिफारिस भएका पाँच जनाको न्यायाधीशमाथिको सुनुवाइ सुरु भएको छ ।
संसदीय सुनुवाइ विशेष समितिले उजुरीकर्ताहरूलाई बुधबार छलफलका लागि बोलाएको छ । उजुरीकतासँग छलफलपछि बिहीबार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुनेछ ।
पाँच मध्ये तीन प्रस्तावित न्यायाधीशमाथि ब्यक्तिगत उजुरी परेका छन् । मनोजकुमार शर्मा, हरि फुयाँल, प्रकाश ढुंगानामाथि व्यक्तिगत उजुरी परेका हुन् । सेटिङमा मुद्दा मिलाएको, जग्गा किर्ते गरेको आरोपसहित प्रस्तावित न्यायाधीशहरूको योग्यतामाथि प्रश्न उठाउँदै उजुरी परेका छन् । एउटा उजुरीमा सिफारिस नै खारेज हुनुपर्ने माग गरिएको छ ।
१५ वर्ष वकालत वा उच्च अदालतमा ५ वर्ष अविच्छिन्न काम गरेको हुनुपर्ने प्रावधानअनुसार मनोजकुमार शर्माको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले उजुरी दिएका छन् । शर्मा अतिरिक्त न्यायाधीशका रूपमा उच्च अदालतमा काम गरेर बाहिरिएका थिए । अहिले उनलाई फेरि सर्वोच्चमा सिफारिस गरिएको हो ।
पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा शर्मा क्षमताभन्दा पदीय प्रभावबाट सिफारिसमा परेको आरोप लागेको छ । उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको रोजाइबाट सिफारिसमा परेका हुन् ।
ललितपुरका पुण्यप्रसाद गौतमको उजुरीमा प्रस्तावित कुनै व्यक्ति न्यायाधीश हुनयोग्य नरहेको भन्दै सिफारिस नै खारेजी माग गरिएको छ । भक्तपुरकी अञ्जुकुमारी दाहालले प्रकाश ढुंगानाविरुद्ध उजुरी हालेकी छन् । उनले ढुंगाना उच्च अदालतमा हुँदा न्यायाधीश अच्युतप्रसाद भण्डारीसँग मिलेर एउटा मुद्दामा ६० लाखको ‘सेटिङ’ गरेको आरोप लगाएकी छन् ।
मदनकुमार संग्रौलाका नामबाट ढुंगानाविरुद्धै परेको अर्को उजुरीमा उनले अदालतमा हुँदा गरेको निर्णयहरूबाट आफूहरू मानसिक तनावमा परेको उल्लेख छ । अर्का प्रस्तावित न्यायाधीश फुयाँलविरुद्ध धादिङका नरबहादुर ठकुरीले चितवन, पदमपुरको जग्गाको सट्टा भर्नामा मुद्दा मिलाउन किर्ते गरेको आरोप लगाएका छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४