काठमाडौँ – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ।
यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’ बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। अहिले काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ९७ छ।
निगममा नयाँ नेतृत्व आएसँगै खरीद मूल्य बढे पनि इन्धनको मूल्य वृद्धि भएको छैन। निगमले पछिल्लो पटक गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको थियो।
निगमका अनुसार गत माघ २ देखि यही चैत ३ गतेसम्म पेट्रोलमा प्रतिलिटर नौ रुपैयाँ सात पैसा र डिजेलमा १० रुपैयाँ ४७ पैसा वृद्धि भएको छ। आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४