काठमाडौं- पाँचतारे होटल हायात रिजेन्सी होटलको चरम लापरबाही र हेपाहा प्रवृत्तिले काठमाडौं महानगरपालिका–६ महांकालका एक हजार घरपरिवारको जीवन कष्टकर बनेको छ ।
होटलमा संकलित फोहोर जलाउन निर्माण गरिएको चिम्नीबाट निस्कने विषाक्त धुवाँका कारण केही स्थानीय बासिन्दाको मृत्यु भएको छ भने बौद्ध–६ का अधिकांश बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।
होटलले जलाएको फोहोरको धुवाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म फैलने गरेको स्थानीय बासिन्दा प्रकाश राई बताउँछन् । धुवाँका कारण बस्नै नसक्ने अवस्था आएपछि स्थानीयले विरोध गरे । कानुनविपरीत बाक्लो बस्तीमा फोहोर बल्न बन्द गर्ला भनेर आशावादी बनेका स्थानीय बासिन्दा अहिले झनै पीडित बनेका छन् ।
होटलले संकलित फोहोर केमिकल हालेर गलाउने र फोहोरको मात्रा कम गरी जलाउन सुरु गरेको छ । स्थानीय बासिन्दा गंगा रिजाल गुनासो गर्छन्, 'फोहोरसँगै गलाउन प्रयोग गरिने केमिकल जल्दा धुवाँ मात्र हैन पुरै हावा नै पिरो हुन्छ हेर्न र सास फेर्न गाह्रो हुन्छ ।'
होटलले जलाएको रसायनयुक्त धुवाँका कारण स्थानीय मोहन दंगाल बिरामी परे । उनको गत पुस ११ गते मृत्यु भयो । मोहनका छोरा प्रकाश भन्छन्, 'होटलको केमिकल मिश्रित धुवाँका कारण बुबा बाहिर घाममा बस्नै पाउनु भएन । घरभित्र बस्दा पनि धुवाँले उहाँलाई गलाउँदै गयो ।'
मोहन दंगाल महांकालबासीका लागि नौलो नाम हैन । सामाजिक सेवामा अहोरात्र खटिने दंगालले होटलको ज्यादतीका अगाडि अन्ततः हारे र संसार नै छोडे । टोल सुधार, पाटीपौवा निर्माण, मन्दिर, बगैंचा र प्रहरी चौकी स्थापना गर्न सक्रिय दंगालको अभाव अहिले महांकालबासीलाई खट्किरहेको छ ।
हायात होटलले संकलित फोहोर जलाउँदा बौद्ध–६ का करिब एक हजार स्थानीय बासिन्दाको जीवन जोखिममा परेको छ । फोहोर जलाउँदा निस्कने धुवाँले विश्व सम्पदासूचीमा रहेको बौद्धनाथ गुम्बा, पशुपतिनाथ मन्दिर तथा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थलसम्म फैलँदासमेत सम्बन्धित निकायको मौनताले स्थानीय थप आक्रोशित छन् ।
उता हयात होटलले भने चिम्नी स्थापना भइसकेपछि घरहरु बनेकाले समस्या आएको तर्क अगाडि सारेको छ । होटलका सूचना अधिकारी गोविन्दराम परियारले भने, 'चिम्नी बस्ती विकास हुनुभन्दा पहिले राखिएको हो । स्थानीयले अग्लाअग्ला घर बनाएकाले समस्या आएको छ ।'
हायात होटलकी मार्केटिङ म्यानेजर मोहिनी श्रेष्ठ यस्तो प्लान्टबारे आफू अनभिज्ञ रहेको बताउँछिन् । उनले संवाददातालाई उल्टै चिम्नी देखाइदिन आग्रह गरिन् । स्थलगत निरीक्षण र घटनाको फेहरस्ती बताएपछि उनी केही हच्किन् । यसबारे सत्यतत्थ इमेलमार्फत जानकारी गराउने प्रतिबद्धता त जनाइन् तर त्यसपछि मोहिनी सम्पर्कमा आइनन् ।
नेपाल समयले स्थलगत रिपोर्टिङ गर्ने क्रममा महांकालस्थित उक्त च्याम्बरबाट धुवाँको मुस्लो निस्किरहेको थियो । दुर्गन्धित धुवाँको पिरोले सो स्थानमा बस्ने अवस्था थिएन । स्थानीयका अनुसार होटलले बिहानै फोहोर जलाउँदा आकाश बादल लागेजस्तै बन्थ्यो । विरोधपछि होटलले धुवाँ फ्याक्ने चिम्नी स्थापना गर्यो र रातको समयमा फोहोर जलाउन थाल्यो ।
होटलको यस्तो लापरबाही काठमाडौं–६ का वडा अध्यक्ष दीपक लामालाई जानकारी नभएको हैन । तर उनले यसलाई नियन्त्रण गर्न कुनै प्रक्रिया अगाडि बढाएका छैनन् । स्थानीयबासीले होटेल व्यवस्थापन, वडा अध्यक्ष लामा र मन्त्रालयका कर्मचारीको मिलेमतोमा यस्तो गम्भीर गतिविधि नियन्त्रण हुन नसकेको आरोप लागाएका छन् ।
वातावरण विभागकी उपमहानिर्देशक तथा प्रवक्ता सफला श्रेष्ठले कुनै पनि कम्पनी तथा संस्थाले खुलेआम फोहोर जलाउन कानुनले बन्देज गरेको र त्यस्तो पाइएमा कडा कारबाही हुने बताइन् । उनले भनिन्, 'हायातले यसरी फोहोर जलाएका विषयमा हामीले केही समयपहिले कारबाही गरेका थियौं । फोहोर नजलाउन सचेत गराएका थियौं । फेरि फोहोर जालाएको हो भने अब हामी कारबाहीमा जान्छौं ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४