काठमाडाैं - नेपाली कांग्रेसले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यालयले सहमतिका बुँदामा दुबै पक्षले गरेका अलग–अलग व्याख्याले अन्यौलता सिर्जना भएकाे बताएको हाे।
सहमतिपश्चात राउत पक्षधरले जनकपुरमा स्वतन्त्र मधेशका पक्षमा गरेको प्रदर्शनले सरकार र राउत पक्षधरबीच भएको सहमतिमा अन्यौलता सिर्जना भएको कांग्रेसकाे ठहर छ। विज्ञप्तिमा भनिएको छ, 'सहमतिपश्चात सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका व्यानर,प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सृजना भएको छ।'
कांग्रेसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्न पाउने छुट नरहेको धारणा व्यक्त गरेकाे छ।