काठमाडौं - एउटा रमाइलो कथा छ । कुनै बेला दुई चोर जम्मा भएछन्। पहिलो चोर अलि चलाख रहेछ, दोस्रो अलि सोझो रहेछ। उनीहरु दुवै मिलेर राजाको दरबारमा सुनको थाल चोर्न जाने योजना बनाएछन्। योजनाअनुसार थाल चोर्न पनि सफल भए।
फर्किंदा रात झमक्क परिसकेको थियो। कतै बास बस्नुपर्ने अवस्था आएछ। दुवै चोरले बास बस्ने सहमति गरेछन्। बास बसेको ठाउँमा बीचमा थाल राखेर उनीहरू एकअर्को प्रति शंका गर्दै उङ्न थालेछन् । यसरी धेरै समय बितेपछि पालो गरेर सुत्ने विषयमा उनीहरुले छलफल गरेछन् । तर एक जना निदाएका बेला अर्कोले थाल लिएर टाप कस्छ भन्ने तनावमा दुवै परेछन् । त्यसपछि पहिलो चोरले जुक्ति निकालेछ, एक जना सुत्ने र अर्को जागै ड्युटी बस्ने। दोस्रो चोरले भनेछ, निदाएका बेला अर्कोले थाल उडायो भने के गर्ने? पहिलो चोरले उपयुक्त प्रस्ताव ल्याएछ, जो सुत्छ, उसको छातीमा टन्न पानी भरेको सुनको थाल राख्ने अनि सुत्ने। दोस्रो चोरलाई लागेछ थालमा टन्न पानी भरेपछि त केही गरी चलमलाएमा पानी पोखिन्छ अनि ब्युँझिन्छ। दोस्रो चोर आफूलाई निकै बाठो ठान्दोरहेछ । उसले पहिला आफू सुत्ने प्रस्ताव गरेछ। उसको तर्क थियो, सुरुमा त राति हिँड्न कठिन हुन्छ। बिहानीपख त जो पनि हिँड्छ। त्यसैले आफूले पहिला सुत्ने प्रस्ताव गरेछ। पहिलो चोरले यो कुरा मानेछ। अनि सुनको थालभरि पानी भरेर दोस्रो चोर सुतेछ । दोस्रो चोर निदाएर घुर्न थाल्यो । पहिलोले यसो खल्तीमा छामेछ, हुक्काको नली साथमै रहेछ। उसले त्यो नली (पाइप) थालको पानीमा डुबाएछ। जब दोस्रो चोर घुर्दै जान्छ, पहिलो चोरले थालको पानी त्यो पाइपबाट पिउन थालेछ । एकै छिनमा थालको पानी रित्तिएछ। त्यसपछि पहिलो चोर थाल टिपेर टाप ठोकेछ। दोस्रो चोर निदाएको निदाएै भएछ।

हो, अहिले नेपालको राजनीतिमा सिके राउत यही पहिलो चोरकै भूमिकामा देखापरेका छन्। सरकारसँग ११ बुँदे सहमति गरेर अहिले त्यही सुनको थाल लैजाने चोरको जस्तो तराईमा हर्षबढाइँ गरिरहेको छ। खुला गतिविधि गर्न पाउने र धरपकड नगर्ने सहमति गरेको सरकार दोस्रो चोरझैं निदाएको निदायै गर्नुको विकल्प छैन।
सीके राउत प्रकरणले सरकार अहिले त डायरियामा सीमित छ । यो लम्बिँदै गयो भने भयानक रूप लिनेछ र सरकारको स्वास्थ्य जोखिममा पार्नेछ ।
सरकार र सिके राउतबीच गत शुक्रबार सहमति भयो। सहमतिको पक्षविपक्षमा अनेक प्रश्न उठे। कसैले सिके राउतलाई सरकारले मूलधारमा ल्याएको टिप्पणी गरे। कसैले सरकार सिके राउतको चंगुलमा नराम्ररी फसेको समेत आशंका गरे। सरकार पक्षका नेताहरुबीचमै यस विषयमा मतैक्य देखिएन। सहमतिमा उल्लेख भएको भाषाप्रति नेकपाभित्रैबाट शंका उठ्यो। तर प्रश्न उठाउने र आलोचना गर्नेहरूमाथि बालुवाटारको चास्नीमा डुबेका अरिंगाल खनिए।
तर सहमति भएको तीन दिन नबित्दै जनकपुरमा देखियो सिके राउतको हर्कत। नेपालको संविधान र राष्ट्रियता अखण्डता मान्छु भनेर सही गरेर हिँडेका राउत एकैचोटि जनकपुर विमानस्थलमा स्वतन्त्र मधेसको मागमा प्रकट भए। उनका बुलेट प्रुफधारी दस्ताका अगाडि नेपाल सरकारले उनको सुरक्षार्थ उपलब्ध गराएका सई र एक सिपाही निरीह देखिन्थे। जनकपुर विमानस्थल सिके राउतका सेनाबाट घेरिएको थियो।
सरकारले सिके राउतसँग गरेको सहमति प्रतिपक्षी दल त के सत्तारुढ दल नेकपाको स्थायी समिति र सचिवालयमा समेत छलफल गरिएको थिएन। त्यसैकारण यसको सबै राम्रो र नराम्रो परिणामको अंक प्रधानमन्त्री केपी ओलीको खातामा जम्मा हुने आमअनुमान छ।
आइतबार सिके राउतको गतिविधि हेर्दा भने सरकार यस बिषयमा नराम्ररी फसेको हो कि भन्ने देखिँदैछ। त्यहीमात्र होइन, सिके राउतलाई सरकारले सहमतिअनुसारको बाटोमा ल्याउन सकेन भने नेकपाको भविष्यसमेत अन्योलमा पर्नेछ। लामो समय नेकपा विधि र पद्धतिअनुसार चलेको छैन भन्ने त सहन सक्ने कुरा हो तर सरकारले आफ्नो हस्ताक्षरमा एउटा विखण्डनकारीलाई वैधता दिएको कुरा यति सजिलै टुंगो लाग्ने बिषय छैन।
नेकपाका धेरै नेताहरु सिके राउतसँगको सहमति साँच्चै हो कि भनेर बोल्न सकिरहेका छैनन् । उनीहरु आफ्ना असन्तुष्टिलाई भित्रभित्रै गुम्साइरहेका छन् । तर नेकपाका स्थायी समिति सदस्य भीम रावलले सुरुदेखि उठाएको प्रश्नले बिस्तारै सही रुप लिने सम्भावना बढेको छ। उनले पार्टीमा छलफल नगरेको र रहस्यमय तारिकाले सहमति भएको भन्दै प्रश्न उठाएका छन् । अहिलेको गतिविधि हेर्दा लाग्छ, सरकार सिके राउतका विषयमा नराम्ररी फस्न पुगेको छ। केपी ओलीले सिके राउतसँग सहमति भएका बेला भनेका थिए ‘अब सिके राउत देखाएर तराईमा रोटी सक्नेको रोटी काँचै पल्टिनेछन् ।’
तर राउतको पछिल्लो गतिविधि हेर्दा राउत आफैंले रोटी पकाएर हिँडेका छन् । सरकारलाई काँचो पिठो ख्वाएर डायरिया लगाइदिएका छन् उनले । यो प्रकरणले सरकार अहिले त डायरियामा सीमित छ । यो लम्बिँदै गयो भने भयानक रुप लिनेछ र सरकारको स्वास्थ्य जोखिममा पार्नेछ ।
सिके राउत प्रकरणले नेकपाको आन्तरिक राजनीतिमा एउटा आँधी आउने संकेत दिएको छ। यस विषयमा अध्यक्ष प्रचण्डसमेत खुलेर बोल्न सक्ने अवस्थमा छैनन् । स्रोतका अनुुसार सिके प्रकरणमा उनलाई पनि धेरै कुरा थाहा छैन। केपी ओलीले लेखेको तमसुकमा उनी किनाराका साक्षी बसेका मात्र हुन् । कहिले त्यो तमसुक नक्कली पर्छ कहिले सक्कली । सिके प्रकरणमा उनी नक्कली तमसुकको साक्षी बन्ने सम्भावना बढ्दैछ।
पार्टीका सचिवालय सदस्य नारायणकाजीले पनि यस विषयमा असन्तुष्टि सार्वजनिक गरेका छन्। सिके राउतको जनकपुर प्रकरणपछि उनले ट्विट गर्दै अखण्डतामाथि धावा बोलेको भन्दै आपत्ति जनाएका थिए। उनले भनेका छन्, ‘ हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिको निम्ति कि सत्ता शक्ति, पदप्रतिष्ठा प्रचार र पैसासुविधाको निम्ति? यतिबेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्व नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने ? गम्भीर आत्मसमीक्षा गरौं। राजनीति सफा गरौं, देश बचाऔं, देश बनाऔं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४