काठमाडौं- दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुलेको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो ।
यस आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरु काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।
शाखाका अनुसार चैत ११ गते उक्त परीक्षा तालिका सार्वजनिक गरिनेछ । प्रत्येक दिन २८÷२८ जनाको चार सिफ्ट गरेर ११२ जनाको परीक्षा सञ्चालन हुनेभएको छ । यस परीक्षामा उत्तीर्ण हुने सबै कोरिया जान पाउनेछन् ।
ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले सीबीटी आधारित परीक्षामा सहभागी हुने व्यक्तिले नामावली नै कोरियाको मानव संसाधन विकास (एचआरडी) ले पठाउने पनि जानकारी दिए ।
यसका लागि कोरियामा वैधानिक भएर काम गरेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरू कम्प्युटर परीक्षाका लागि योग्य हुन्छन् । यसमा सामेल हुन कोरियाबाट फर्किंदा ‘एलाइन्स रजिस्ट्रेसन कार्ड’ कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने पनि सो शाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४