काठमाडौं- शुक्रबार सफा देखिएको मौसम शनिबारबाट पुनः प्रभावित हुने भएको छ । भारतको जम्मु-कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरेकाले त्यसको प्रभाव नेपालमा समेत देखिने मौसमविद्हरुले जनाएका छन् ।
शनिबारसम्म नेपालको पश्चिमी क्षेत्रमा उक्त जलवाष्प भित्रिने र शनिबार नै पश्चिममा हल्का वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । आइतबारदेखि उपत्यकासहित मध्य क्षेत्रमा हलुका वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरिएको उनले बताए ।
शुक्रबार केही पहाडी क्षेत्रमा हलुका वर्षा हुन सक्ने भए पनि अधिकांश भागमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको छ । बिहीबार काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा पानी परेको थियो । पहाडी र उच्च हिमाली क्षेत्रमा मात्रै होइन काडमाडौंआसपासका डाँडाकाँडामा समेत हिउँ परेको थियो ।
पश्चिम वायुकै कारण यस पटक पनि मौसम प्रभवित हुन लागेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ । पश्चिमी बायुकै कारण यस वर्षको हिउद लाागेपछि करिब ६ पटक वर्षा भइसकेको छ । मंगलबारदेखि बिहीबारसम्म मौसममा देखिएको खराबीको कारण पनि पश्चिमी वायु नै थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४