वीरगंज- लामो समयसम्म नारायणगढ-काठमाडौं सडक खण्डको यात्रा कष्टकर बनेपछि हवाई सेवा प्रदायक कम्पनीको लागि स्थायीरुपमा व्यापार विस्तार गर्ने अवसर पाएका छन् ।
सन् २०१५ देखि सडक स्तरोन्नति र बिस्तारको काम शुरु भएयता भूकम्पका कारण सन् २०१५ मा हवाई मार्गबाट यात्रा गर्ने यात्रुको संख्या ओरालो लागेपनि त्यसपछिको वर्षहरुमा क्रमशः ७२ प्रतिशत, १२.१ प्रतिशत र ३६.६६ प्रतिशतले वृद्धि हुँदै गएको छ ।
नारायणगढदेखि मुग्लिङसम्मको ३३ किलोमिटर दूरी छिचोल्दै काठमाडौंसम्मको यात्रा तय गर्न १८ घण्टाभन्दा बढी समय लाग्न थालेपछि सहज यात्राको विकल्प खोज्न बाध्य यात्रुले हवाई मार्गबाट यात्रा गर्नुपर्ने बाध्यता कायम भएको हो ।
वीरगंजबाट काठमाडौं सम्मको यात्राको लागि मकवानपुरको कुलेखानी, फर्पिङ हुँदै जीप संचालनमा रहेपनि यो बाटोमा यात्रा जोखिमपूर्ण मानिन्छ । अर्कोतर्फ यो सडक खण्डमा समेत दुई वर्ष अघिदेखि निर्माण कार्य जारी रहेकाले हवाई सेवामा यात्रुको स्वाभाविक आकर्षण बढ्न गएको हो ।
सिमरा–काठमाडौं बस भाडाको तुलनामा हवाई भाडा ६ गुणा बढी छ । अहिले यो रुटमा हवाई भाडा दर ३ हजार १२० रुपैयाँ कायम गरिएको छ ।
सडक मार्गको यात्रा कष्टकर हुँदा यात्रुले हवाई यात्रालाई प्राथमिकता दिन थालेका हुन्, निजी क्षेत्रको हवाई सेवा कम्पनीका एकजना कर्मचारीले भने,बस भाडाको तुलनामा महँगो भएपनि एक पटक आरामदायी हवाई यात्राको अनुभव लिएपछि आर्थिक क्षमताले भ्याउनेहरु सडक मार्गबाट यात्रा गर्न रुचाउँदैनन् ।
सिमरा विमानस्थलबाट हवाई यात्रा गर्नेमध्ये ५० प्रतिशत भन्दा बढी भारतीय पर्यटक हुने गरेका छन् । व्यापारिक यात्रु ३० प्रतिशत र बाँकीमा सर्वसाधारण, राजनीकर्मीलगायतका यात्रु रहेको छन् ।
सन् २०१७ को तुलनामा २०१८ मा यो विमानस्थल हुँदै सिमरा-काठमाण्डौ-सिमरा उडान गर्ने यात्रुको संख्या चाप ३६।६० प्रतिशतले वृद्धि भएको हो । सन् २०१७ मा यहाँबाट ८८ हजार ७७१ यात्रु ओहोरदोहोर गरेकोमा सन् २०१८ मा एक लाख २१ हजार २८१ यात्रुले यो विमानस्थलको प्रयोग गरेका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०१६ मा दुईतर्फी यात्रुको संख्या जम्मा ७८ हजार ७५६ रहेको थियो ।
प्राधिकरण अन्तर्गतका अतिव्यस्त सात घरेलु विमानस्थलमध्येको सिमरा विमानस्थलबाट हुने उडान र अवतरण दुबैमा यात्रुको संख्या ुअकुपेन्सीु समेत ९५ प्रतिशत भन्दा बढी रहेको छ । गतवर्ष काठमाडौंबाट सीमरा विमानस्थलमा ६० हजार ९८७ यात्रु अवतरण गरेका थिए भने यताबाट काठमाडौं उडान गर्ने यात्रुको संख्या ६० हजार २९४ रहेको थियो ।
यात्रुको चाप सन्तोषजनक भएकाले नै विमान सेवा कम्पनीले यो हवाई रुटको भाडादर अन्य रुटमा झैं कटौती गर्दैनन् । हवाई इन्धनको मूल्य घटबढ हुँदा बाहेक अन्य अवस्थामा यो रुटमा वर्षैभरी दुबै गन्तव्यको लागि भाडादर समान रहने गरेको छ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी घोषित जनकपुरको विमानस्थलमा काठमाडौंबाट बिहान जम्मा ४ वटा उडान हुँदै आएकोमा सिमरा विमानस्थलबाट बिहानदेखि रातको समयसम्म दैनिक १० पटक काठमाडौं-सिमरा-काठमाण्डौ हवाई उडान हुने गरेको छ ।
विमानस्थल प्रमुख हिराजन काफ्लेले गत भदौ देखि रात्री उडान सेवा संचालनमा ल्याइएकोमा अब ठूलो विमान उडान र अवतरणको लागि धावनमार्ग विस्तार कार्य भइरहेको जानकारी दिए ।
जम्मा ३६ नटिकल माइल्स दूरीमा रहेको यो रुटमा ११ देखि १३ मिनेट अवधिमा विमानले गन्तव्य समको उडान पुरा गर्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४