भैरहवा- प्रदेश- ५ को सरकारले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिएको सरकारले प्रदेशका विभिन्न ठाउँमा औपचारिक कार्यक्रम समेत राखेको थियो।
सरकारको तालिका अनुसार बुटवलमा विभिन्न भेषभुषा, झाँकि तथा ब्यानर सहितको र्यालीपछि आयोजित स्थापना दिवस समारोहलाइ सम्बोधन गर्दै मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश नम्बर ५ को समृद्धिको आधार पर्यटन भएको बताएका छन्। उनले भने , ‘यो प्रदेशको समृद्धिको आधार पर्यटन हो।’ मन्त्री पोखरेलले ०७६ सालको वुद्ध पूर्णीमाको दिनदेखी लुम्बिनी भ्रमण वर्ष सुरु गर्ने तयारीमा प्रदेश सरकार रहेको बताए। उनले संघीय सरकार ,लुम्बिनी विकास कोषले लुम्बिनीको विकासकोलागि गुरुयोजना अनुसार काम गरेको भए पनि पर्यटन प्रबर्द्धनको कामको जिम्मेवारी भने प्रदेश सरकारलाई दिनुपर्ने बताए।
प्रदेश स्थापना दिवसको अवसरमा अयोजित कार्यक्रमा बोल्दै मुख्यमन्त्री पोखरलेले प्रदेशहरु समृद्धितर्फ लाग्दा अन्नत राष्ट्र नै समृद्धि बन्ने भएकोले सबैको ध्यान प्रदेश विकासमा केन्द्रित हुनुपर्ने बताए। उनले संघले रणनिति अयोजना बनाउनमा ध्यान केन्द्रित गर्नुपर्ने र प्रदेशले जनताका विकास र आधारभुत आवश्यकता सुनिश्चितता गर्नमा ध्यान दिने पनि बताए।
संघीय व्यवस्थामा तीन तहका सरकारका लागि १५ प्रतिशत कर्मचारी र १५ प्रतिशत खर्च बढी लागे पनि जनताले सेवा लिन गर्नुपर्ने खर्च भने घटेको दाबी गरे। उनले कर्मचारी बढ्दा प्रशासनिक खर्च बढे पनि जनताको खर्च घटेकाले संघीयताले खर्च बढ्यो भन्ने तर्क गलत भएको तर्क गरे। राजधानीको विषयमा धेरै तनाव नलिन उनले सबैलाई आग्रह समेत गरे। उनले भने, ‘राजधानी जहाँ हुन्छ त्यहा मात्रै विकास हुन्छ भन्ने भ्रम कसैले पनि नराखौं। ’
औपचारिक समारोह अघि आयोजित प्रभातफेरीमा प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसी सहित प्रदेश सभा सदस्यहरु, बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनीधि विभिन्न झाकि तथा व्यानर सहित सहभागी भएका थिए।
प्रदेश सरकारले ३ दिनसम्म प्रदेश स्थापना दिवश मनाउने निणर्य गरेपछी हिजोदेखि यस प्रदेशमा रक्तदान, सरसफाई, बिद्यालयहरुमा वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिताहरु भएका छन । हिजोको सरसफाइ कार्यक्रममा मुख्यमन्त्री पोखरेल स्वयं सडकमा निस्केर सरसफाइमा खटिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४