तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदको शपथ नै नलिई तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा संविधानको व्यवस्थामा नै प्रश्न उठ्ने गरी हतारमा फागुन ३, २०७४ मा ४१ औं प्रधानमन्त्री पद समालेको आज एक वर्ष पुरा भएको छ। त्यस्तो हतार किन र केका लागि गरिएको थियो भन्ने आजसम्म उनले पुष्ट्याइँ गर्न सकेका छैनन्। यसको चर्चा कुनै अर्को खण्डमा गरौंला।
दुई तिहाइको बहुमतसहित पाँच वर्षको म्यान्डेट बोकेको शक्तिशाली सरकार प्रमुखमा ओली नियुक्त भएपछि जनअपेक्षाका चाङ चुलिएका थिए। जुन स्वाभाविक पनि हो। भारतीय नाकाबन्दी विरुद्धको 'स्ट्यान्ड' का कारण राजनीतिक कद बढाएका र स्वघोषित राष्ट्रवादको ट्याग लगाएका ओलीले बाँड्ने सपनाका पुलिन्दाहरुमा जनताले आँखा चिम्लेर विश्वास गरे। तर ओलीले भने ठट्यौली शैलीमा बाँडेका सपनाहरु साकार पार्न कति सक्षम भए र कति असफल भए त्यसको हिसाबकिताब सायदै उनले गरेका होलान्। यहाँ ओलीको ठट्टामा मुलुक ठगिँदैछ। यहीँ प्रसंग उल्लेख गरिएको छ।
प्रधानमन्त्रीको शपथ ग्रहण गरेकै दिन समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेका ओलीको एक वर्ष उखानटुक्कामा मुलुक हँसाउने बिग्रेका टुक्कालाई सच्याउनेमा नै व्यतीत भएको भन्दै नागरिकस्तरबाट आलोचना भइरहेको छ। प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले निकै कमसल र भद्दा मजाक लाग्ने अभिव्यक्तिले उनलाई थप समस्यामा पारेको छ। प्रधानमन्त्रीको पदभार ग्रहण गरेकै दिन 'सिसिटिभिमा चिप्लिएका प्रधानमन्त्री ओली' त्यसपछिका दिनमा थप आलोचित बने।
तर, प्रधानमन्त्री ओली झन् जिम्मेवार बन्नुको साटो मजाक र ठट्टामा व्यस्त भए। समृद्ध नेपाल, सुखी नेपालीको नाराले अहिले ओलीलाई नै कुरीकुरी भनिरहेको छ। ओली भाषण गर्छन्, 'भ्रष्टाचारमा शून्य सहनशीलता' तर व्यवहारमा अर्बौंको वाइड बडीमा घोटाला हुन्छ। उनी भन्छन्, 'अब कोही पनि जनताले भोको मर्नु पर्दैन, देशमै रोजगारी सिर्जना गरिन्छ।' तर, दैनिक बाध्यताले थिचेर विदेशिएका नेपाली रातो बाकसमा प्याक भएर फर्किन्छन्।
उनी कुनै एक व्यवसायीले बनाएको गोबर ग्यास उद्घाटन गर्दै 'सिलिन्डर युग अन्त्य' भएको घोषणा गर्छन्। तर, उनको घोषणामा समाचार बन्न नपाउँदा ग्याँस प्लान्ट बन्द हुन्छ र फेरि मर्मत हुन सक्दैन। बिजुली बसको उद्घाटन गर्दै प्रधानमन्त्री 'पेट्रोल, डिजेलको युग सकिएको र बिजुली बसमा नेपालीले सरर...यात्रा गर्ने दिन छिट्टै आउने' घोषणा गर्छन्। तर, भ्रष्टाचारले पोतिएका बिजुलीबस चल्न सक्दैनन्, ग्यारेजमा थन्किन्छन्। न त तिनीहरुको गुणस्तर मापन गरिन्छ न सार्थकता रहन्छ।
उता रेशम र मनाङेहरुलाई रेड कार्पेट बिच्छ्याएर बेप्रवाह सांसदको शपथ गराइन्छ। जघन्य मानवअधिकार उल्लंघन गरेका हत्या आरोपितलाई जेलबाट ल्याएर शपथग्रहण गराउँदा यो मुलुकमा न्याय निसाफले डाँको छाडेर रुनुपर्ने अवस्था छ। तर, प्रधानमन्त्रीलाई त्यसको परवाह छैन।
ओली रेलको कुरा गर्छन्, जनता तेल नपाएर आजित छन्। उनी ३८ क्विन्टल सुन तस्करीका ठूला माछा समात्ने भाषण गर्छन, जुम्लाका जनताले १६ रुपैयाँ पर्ने नुन ८० रुपैयाँ तिर्दा पनि पाउँदैनन्। ओली शान्ति सुव्यवस्थाको कुरा गर्छन्- दैनिक निर्मलाहरुको विभत्स हत्या हुन्छ र अपराधीको अत्तोपत्तो हुँदैन। निर्दोषलाई यातना दिएर दोष कबुल गराइन्छ र ओली सञ्चारमाध्यममा त्यसको स्पष्टीकरण दिन्छन् अपराधीको बचाउ गर्दै। उता रेशम र मनाङेहरुलाई रेड कार्पेट बिच्छ्याएर बेप्रवाह सांसदको शपथ गराइन्छ। जघन्य मानवअधिकार उल्लंघन गरेका हत्या आरोपितलाई जेलबाट ल्याएर शपथग्रहण गराउँदा यो मुलुकमा न्याय निसाफले डाँको छाडेर रुनुपर्ने अवस्था छ। तर, प्रधानमन्त्रीलाई त्यसको परवाह छैन।

सडकबीचमा भएका ज्यानमारा खाल्डाखाल्डीमा परेर दैनिक मान्छेहरु मरिरहेका छन्। प्रधानमन्त्री भन्छन्- 'खाल्डाखुल्डी मैले पारेको हो र? कि मेरो सरकारले पारेको हो?' 'निमर्लाको हत्या मैले गरेको हो र ?' यो कतिसम्मको जिम्मेवारीपन हो ? स्विट्जरल्यान्डको डाभोसमा आयोजित आर्थिक सम्मलनमा भाग लिएर त्रिभुवन विमानस्थलमा पत्रकारको प्रश्नको जबफमा ओलीले हिचकिचाहट बिना भने- 'म स्विट्जरल्यान्ड बैंक खाता हेर्न गएको हो र?' के यही गतिमा र यही बोली व्यवहारले मुलुक चल्छ ?
संसदमा उभिएर उनी देशमा आर्थिक वृद्धिदर निकै सुधार भइसकको ठोकुवा गर्छन्। त्यसलाई प्रमाणित गर्न तथ्य र तथ्याकं प्रस्तुत गर्छन। तर, उनी संसद हलबाट बाहिर निस्कन नपाउँदै उनले संसदमा प्रस्तुत गरेको तथ्याकंमा कुनै सत्यता नभएको प्रमाणित हुन्छ। फेल भएको विद्यार्थीले मार्कसिट आफैँ सच्याएर उच्च अंक प्राप्त गरी बाबु-आमालाई ठगेकै शैलीमा उभिन्छन् प्रधानमन्त्री।
संसदमा प्रतिपक्षी सांसदले महँगी बढेको प्रसंग उल्लेख गर्दै महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गर्छन्। त्यसको जबाफ प्रधानमन्त्रीले फेरि गैरजिम्मवार शैली प्रस्तुत गर्छन्। उनी भन्छन्- 'म सानो छँदा १४ पैसामा सुकामाना घिउँ पाइन्थ्यो, ९० रुपैयाँ तोला सुन पाइन्थ्यो । समय अब त्यो रहेन।'
जनताले पानीजहाज कहिले आउँछ र त्यसबाट नेपालीलाई के फाइदा हुन्छ भन्दै प्रश्न गर्छन्। प्रधानमन्त्री ओलीले जबाफ दिन्छन्- 'पानीजहाज कहिले आउँछ भनेर जिस्क्याउनेहरु आउनू पुस १६ गते सित्तैमा चढाइन्छ।' तर, पुस १६ आयो पानीजहाज आएन।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा केसी (एक सन्त सत्याग्रही) लाई प्रधानमन्त्रीको सिंहासनमा बसेर ओली भन्छन्- 'हिम्मत भए राजीनामा दिएर राजनीतिमा आउ' हैन भने त्यो अनशनको नाटकले चल्दैन्।' १५ औं अनशनका क्रममा सहमति गरे माग पूराको वाचा गर्ने तर १६ औं अनशन बस्न बाध्य भए डा केसी। आफ्नो हातमा केही नभएको संसद्मा जबाफ दिएर आफू विदेश भएको मौका पारी यता विधेयक पास गर्न लगाउँछन्।
चुनावताका 'वृद्धभत्ता बढाएर खनखनी पाँच हजार बढाउने अनि बूढाबूढीको हातमा थपक्क राखेर ढोग्ने' ठोकुवा गरेका थिए अहिलेका प्रधानमन्त्री ओलीले। तर, अहिले तिनै बूढाबूढीहरु सडक आन्दोलनमा छन्, प्रधानमन्त्रीले ढाँट्यो भन्दै।
प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा भन्छन्- 'दुई महिनामा मैले देशभरका तुइनलाई झोलुंगे पुलले विस्थापित गरिनँ रे। केरुङ र रक्सौलबाट रेल ल्याउँछु भनेको ६ महिना भइसक्यो। खोइ रेलहरू भन्छन् ? पानीजहाज ल्याउँछु भनेको १० महिना भयो, ओलीले ल्याएन भन्छन्।' उनको भाषण सुन्नेहरूले हाँसोको फोहरा निकाल्दै ताली पिटे। मैले मनमनै सोचें, 'ए तालीपिटुवा हो ! एकपटक भनौं आफ्ना प्रधानमन्त्रीलाई कि १० महिनापछि एउटा बच्चा जन्म दिने आमाको नौ महिनाअघि नै रजस्वला रोकिएको हुन्छ। तर, प्रधानमन्त्री ओलीजीको सुख र समृद्धिको अभियानको चाहिँ जनताले मार्गचित्रसमेत देख्न पाएका छैनन्। भनिन्छ, बिहानीले दिनको संकेत गर्छ। अहिले जे भइरहेको छ यही बिहान हो भने त यसको दिन निकै डरलाग्दो छ।
प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्ति यसरी बेलगाम दौडिने हो भने मुलुकमा हँसाउँने नेता र ताली बजाउने कार्यकर्तामात्र नरहलान् भन्न सकिन्न। उनको सिको गर्दै अन्य मन्त्रीहरुले पनि सोहीबमोजिमको भाषण गरिरहेका छन्।
यी सबै कुराको आलोचना हुँदा आफ्ना कार्यकर्तालाई अरिंगाल बनेर झम्टिन आदेश दिन्छन्। त्यसको पनि चर्को विरोध गर्दा बुद्धिजीवीलाई थला पार्ने चेतावनी दिन्छन्। असह्य भएपछि कार्यकर्तालाई पुन: मौरी बन्न आदेश जान्छ। यस्तो मजाक कहिलेसम्म ?
प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्ति यसरी बेलगाम दौडिने हो भने मुलुकमा हँसाउँने नेता र ताली बजाउने कार्यकर्तामात्र नरहलान् भन्न सकिन्न। उनको सिको गर्दै अन्य मन्त्रीहरुले पनि सोहीबमोजिमको भाषण गरिरहेका छन्। प्रधानमन्त्री भनेको रोल मोडल हो। उसको अरुले नक्कल गर्छ। तर, हाम्रा प्रधानमन्त्रीको नक्कल गर्नेहरुले जनतालाई एकक्षण हसाउन सक्ला तर जिन्दगीभर रुवाउँछ। होली वाइन चखाउने मात्र होइन नुहाए पनि विकास निर्माण हुन सकेन भने देश समृद्ध हुँदैन र नेपाली सुखी हुन सक्दैन।
ओलीवादको 'इक्जिविसनिज्म'कामभन्दा पनि प्रदर्शनवृत्तिमा डुबेका ओलीलाई आत्मरतिमा रमाउने लत लागेको छ। विदेशी पाहुना आउँदा होस् वा आन्तरिक विषयमा होस्। विदेशी पाहुना आउँदा काठमाडौंका खाल्डाखुल्डी रातारात कालोपत्रेले ढाकिन्छन् अनि भत्केका भित्ताहरुमा पोस्टर टाँसिन्छ। एयरपोर्टदेखि पाहुना बस्ने लजसम्म पुरै रंगीचंगी बनाइन्छ। तामझाम देखेर विदेशीलाई लाग्दो हो, कम्युनिस्टका अध्यक्ष ओली नेतृत्वको सरकारले निकै प्रगति गरेछ। तर, वास्तविकता थाहा हुँदैन। पछिल्लो समय कूटनीतिमा चिप्लिएको ओली सरकारका सबै क्रियाकलापको मेसो सायद ती पाहुनाहरुले पाइसके होलान्।
प्रधानमन्त्री ओली हरेक कार्यक्रममा आवश्यकभन्दा धेरै प्रदर्शन गर्न खोज्छन्। जसले उनको नीति र नियतिलाई थप स्पष्ट पारिदिन्छ। महान् हास्यकलाकार चार्ली च्याप्लिनले एक चलचित्रमा एक दृष्टिविहीनलाई बाटो कटाइदिएपछि ह्याट खोलेर अभिवादन गरेका थिए। दृष्टिविहीन देख्न सक्दैनन्, तर दृष्टि भएका दर्शकका खातिर ह्याट फुकाल्दै अभिवादन गर्नु प्रदर्शनवृत्ति रहेको तर्क च्याप्लिनले देखाउन खोजेका थिए।
यस्तै प्रवृत्ति प्रधानमन्त्री ओलीको छ। सरकारले नौ महिनासम्म केही गर्न सकेन र गरेका वाचाहरु सबै अधुरा राख्यो, मुलुकमा सरकार खै भनेर जनस्तरबाट आलोचना भयो। यो आलोचना गर्नुअघि ओली यातायात सिन्डिकेट प्रकरण, ३८ क्विन्टल सुन काण्ड, निर्मलाको बलात्कार र हत्या प्रकरण, वाइड बडी घोटाला, मेलम्चीमा अन्योलता, सेयर बजार उकास्ने र जनताका आशाका किरण छर्ने काममा असफल भइसकेका थिए।
जनस्तबाट भइरहेको आलोचनाको आवेगलाई बन्द गराउने अस्त्र बनाए, सामाजिक सुरक्षा कार्यक्रम। जुन कार्यक्रम आफैंमा राम्रो हो। तर, उनले काठमाडौंमा बिजुलीका पोलपोलमा आफ्नो तस्बिर राखेर सरकार यहाँ छ भनेर देखाए। हरेक दिन पत्रिकालाई ओलीवादको राष्ट्रगानसहित ज्याकेट ओढाए। त्यतिमात्र होइन, सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भमा सम्बोधन गर्दै 'अब देखियो होला नि सरकार कहाँ छ' भन्दै जबाफसमेत दिए। उनको त्यो व्यवहार र बोलीमा निकै बच्पना स्पष्ट देखिन्थ्यो। जुन चार्ली च्याप्लिनले अरुलाई देखाउनका लागि दृष्टिविहीनलाई बाटो कटाएर ह्याट फुकाल्दै अभिवादन गरे भन्दा कम थिएन। यसकारण प्रदर्शन गर्नेभन्दा काम गरे भने जनताले आफैं ताली बजाउनेछन्। जोक्स भनेर अनेक फन्डाको प्रदर्शन गरेर देश विकास हुँदैन।
दुई महिनाअघि संसदीय दलको बैठकमा सबै सांसदहरुलाई अहिलेको सरकार गतिशील, जनपक्षीय र विकासमुखी भएको भन्दै प्रचार गर्न निर्देशन दिए। मुलुकमा भइरहेको काम प्रचार गर्नुपर्छ र त्यो त जनताले आभास गर्ने कुरा हो। जनतालाई सहज भयो भने प्रचार गर्नु नै पर्दैन उक्त निर्देशन पालना भयो-भएन ओली नै जानून् तर त्यसको प्रचार गर्न एउटा किताब निकालेर होली वाइन टोलीलाई उपहार दिएको जगजाहेर छ। के यो ओलीवादको प्रदर्शन होइन र ?
अरुलाई निर्देशन दिने ओली आफैं 'फुक्काफाल'प्रधानमन्त्री ओली आफू नेतृत्वको सरकारले असाधारण दायित्व बोकेको भन्दै परम्परागत मानसिकताबाट माथि उठेर काम गर्न निर्देशन दिन्छन् तर आफूमा लागू गर्न सक्दैनन्। प्रधानमन्त्री ओलीले एक बैठकमा वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकाले यसका लागि नीति निर्माण तहमा बस्नेहरूको सोचाइ पनि परिवर्तन हुनुपर्ने भनेका थिए, ‘तपाईंहरूले समयको ख्याल गर्नुहोला । हरेक मिनेटको समयलाई सदुपयोग गरेर काम गर्नुस् । काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्नुस् । तर यस कारण, यदि यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन।’
समयलाई लिएर यति कठोर निर्देशन दिने प्रधानमन्त्री ओली आफैंचाहिँ समयप्रति बेपर्वाह छन्। उनी आफैं मन्त्रिपरिषद बैठकमा कहिलेकाहीँ एकदुई घन्टा ढिला पुग्छन् । एक त ढिला पुग्छन्, त्यसमा पनि प्रधानमन्त्री ओलीले कहिलेकाहीँ मन्त्रिपरिषद् बैठकमा यति लामो भाषण दिन्छन् कि मन्त्री नै थाक्छन्।
एक मन्त्री सुनाउँछन्, ‘प्रधानमन्त्रीज्यूले अरूले समयको ख्याल गरून् भन्नुहुन्छ, आफ्नो हकमा लागू गर्न हुन्न। समयप्रति उहाँको गम्भीरता छैन्। कहिले उहाँलाई कुरेर घन्टौं बसेपछि बैठक सुरु हुन्छ, कहले बैठक सुरु भएपछि लम्बेतान भाषण दिनुहुन्छ ।’
यसअघि समयको पालना नगरेको भन्दै नेकपा सचिवालय बैठक नै बिहष्कार गरेका थिए, उनका नेताहरुले। अन्य कतिपय सार्वजनिक र औपचारिक कार्यक्रममा समेत उनको ढिलासुस्तीको निकै आलोचना भयो।
सानै उमेरमा बच्चामा डाइबिटिज देखिएकाले चिकित्सकले बच्चालाई गुलियो पदार्थबाट कम्तीमा दुई हप्ता पर राख्न भनेछन्। तर, बालक र गुलियो आफैँमा अन्योन्याश्रित हुन। कसरी एक बालक दुई हप्तासम्म गुलियो परहेज गर्न सक्थ्यो र! अनेकौँ प्रयासबाट हार खाएकी ती महिलाले गान्धीलाई अनुनय गर्न पुगेकी थिइन्- बापु, तपाईंले सम्झाइदिनुभए मेरो बच्चाले मान्थ्यो कि ? ती महिलाको याचना सुनेपछि गान्धीले भने, ‘हुन्छ म उसलाई सम्झाउँछु, तर अहिले होइन, दुई हप्तापछि मात्र।’दुई हप्तापछि ती महिला आफ्ना सन्तानसहित फेरि गान्धी आश्रम पुगिन्। अनि, गान्धीले उनलाई भने- ‘हेर तिम्रो बच्चालाई दुई साता गुलियो नखाऊ भन्नका लागि सबैभन्दा पहिले त म स्वयंले गुलियो छोड्न सकिन्छ कि सकिँदैन भनेर एउटा प्रयोग गर्नुपर्थ्यो, त्यसैले मैले तिमीलाई दुई सातापछि आउन भनेको हुँ।’
यसबाट सिक्न सकिन्छ कि अरुलाई निर्देशन दिनुअघि, अनावश्यक गलफती गर्नुपूर्व आफूमा लागू गर्नुपर्छ। लागू गर्न सकिने निर्देशन दिनुपर्छ। निर्देशन पालना नगर्नेलाई कारबाही गर्नुपर्छ। तर, प्रधानमन्त्री ओली आफैं गुलियोमा भलिरहने र जनताको आँखामा धुलो छर्कने काम कति दिन गर्ने? समयको पालना नगर्दा ख्यालख्यालमा एक वर्ष बितिसकेको छ। अब धेरै ढिलो भइसक्यो। मजाकलाई थाती राखेर अब गम्भीरताका साथ काममा लाग्नुपर्ने बेला भएको छ। गर्नुपर्ने कुरा धेरै छन्।
जनताले प्रयोग गर्ने अस्पतालहरु अस्पताल जस्तो छैनन्। हामीले पढ्ने विद्यालय अस्तव्यस्त छन्। त्यहाँ पढ्ने विद्यार्थीहरुलाई सबैले छिःछिः र दुरदुर गर्दछन्। सरकारी कार्यालयमा जाँदा अपमान, ढिलासुस्ती बेहोर्नुपर्छ र पैसाको पुला बुझाउनुपर्छ। हामीले हिँड्ने बाटो धुलाम्मे र हिलाम्मे छ। हाम्रो गाउँमा अझै पनि आमा-हजुरआमाहरुलाई बोक्सी भनिन्छ। हाम्रो जातका मान्छेले बाटो काटेमा साइत बिग्रन्छ भनिन्छ। १२ वर्ष पुग्नेबित्तिकै हाम्रा छोरीचेलीलाई विवाह गर्न दबाब दिइन्छ, बा-आमाले दाइजो दिन नसकेका कारण दिदीहरुलाई दिउँसै जलाइन्छ। तर, न्याय पाइँदैन। हामी जनतालाई जोक्सको किताब पढाउँदा मात्र समस्या समाधान हुँदैन। अब धेरै फुक्काफाल नहुन जनताले सुझाव दइरहेका छन्। अब गम्भीर नहुने हो भने कहिले हुने?
अन्तिममा, प्रधानमन्त्री ओलीले एक वर्षमा काम नै नगरेका होइनन्। केही राम्रा कामहरु भएका छन्। जसमा समाजिक सुरक्षा योजनाको थालनी, चीनसँग पारवहन सन्धि र केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणसम्बन्धी सम्झौता, केही कानुनहरुको निर्माण, तीन तहको व्यवस्थापनलगायतका छन्। तर, गरेका कामहरुको पनि उपयुक्त परिणाम दिन नसक्दा आलोचनाको तारो बन्न पुग्यो।
यति बेला नेपाल सरकारका सबै मन्त्री र उनीहरुका आसेपासेहरुले देशभरि तीव्र विकास भएको, सुशासन कायम भएको, कानूनी राज्यको स्थापना भएको र विगतका कुनै पनि सरकारले गर्न नसकेका पानीजहाज, रेल, ट्रेड एन्ड ट्रान्जिट सन्धिलगायतका विकासै-विकासका कार्यहरु भएको देखेका छन्। तर उनको आँखामा भएको 'दोषी चस्मा' खोलेर वास्तविकताको धरातलबाट हेरे भने देख्नेछन् समय र स्रोतको बर्बादी।
सायद त्यतिबेला धेरै ढिलो भएको हुनेछ। यो सरकारको पतन भइसकेको हुनेछ। देशमा कम्युनिस्टहरुको पहिचान पनि एक छद्मभेषी शक्तिको रुपमा स्थापित भएको हुनेछ। समय छँदै कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीको टोलीले नेपाली समाज र नेपाली माटो सुहाउँदो बोली बोल्ने र भनेका कामहरु व्यवहारमा उतार्ने बेला भएको छ। अझै ढिलो हुन केही समय बाँकी छ। आजैबाट गम्भीरताका साथ लाग्न जरुरी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४