शुक्रबार, जेठ ३, २०८२

भेनेजुएला प्रकरण : अमेरिकाले किन हेप्छ नेपाललाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

प्रकृतिमा मात्र होइन, मान्छेको मनमा पनि चिसो लहर चलेको छ यतिबेला। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको हस्तक्षेपकारी नीतिको विरोध गर्दै अर्जेन्टिनाको पक्षमा विज्ञप्ती दिनु भयो। ‘नेपालको शक्तिशाली मित्र अमेरिकाको विरोध गरेर चिन्नु न जान्नुको अर्जेन्टिनाको पक्षमा उभिएर नेकपाले भयङ्कर ठूलो गल्ती गर्‍यो’ एकखालका मानिसको टिप्पणी थियो यो। अमेरिकी दुतावासले हतार हतार सरकारको निर्णय माग गर्‍यो। त्यसपछि नेपाल सरकारले आफ्नो अहस्तक्षेपको नीतिगत वक्तव्य दियो। त्यसपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अमेरिकाको पक्षमा रहेको सार्वजनिक जानकारी पनि गराउनु भयो। 

तर अझै हाहाकारको आगो निभेको छैन। यद्यपि दुबै पार्टीले जे गर्नु पथ्र्यो त्यही गरेका छन्। सरकारले पनि अहस्तक्षेपको स्थायी विचार अघि सारेर ठीकै गरेको छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले भेनेजुएलाको विरोध गरेर अमेरिकी हस्तक्षेपको समर्थन गर्ने कुरो संभव थिएन। प्रधानमन्त्री के.पी. ओलीको सरकारले पंचशीलको मार्ग अपनाएर ठिकै गरेको छ। बी. पीं कोइरालाको राजनीतिक कार्यक्रमको तिरस्कार गरेको नेपाली कांग्रेससँग अमेरिकाको समर्थन स्वभाविक बाटो थियो।

तर, अमेरिकाले किन नेपालसँग स्पष्टीकरण माग्यो ? किन अमेरिकाले चीनसँग स्पष्टीकरण माग्न सकेन ? किन अमेरिकाले हामीजस्तै सानो राष्ट्र उत्तर कोरियासँग स्पष्टीकरण माग्न सकेन ? किनभने चीन बलियो र स्वाधीन छ। गरीब नै भए पनि उत्तर कोरिया स्वाभिमान बोकेको राष्ट्र हो।

के नेपालको, वीर नेपाली, वीर गोरखालीको इतिहास मरेकै हो ? के हामी शक्तिशालि राष्ट्रहरुको दास हुन मात्रै जन्मिएका हौं ? के नेपाली स्वाभिमान सधैंका लागि सकिएकै हो?

म पनि अमेरिका गएको छु तीन पटक। पहिलो चोटी उनीहरुले बोलाएरै गएको थिएँ। त्यो पहिलो यात्रा नै मेरा लागि अघाउँजी भएको थियो। वासिंगटनको डुपोण्ट सर्कलमा ‘वन डलर प्लिज’ (एक डलर देउ न) भनेर पसारिएका हातहरु, बिहानको चिसो छल्न तातो वाफ आउने न्यानो ढल तापिरहेका बुढाबुढीहरु त्यतिबेलै भेटेको थिएँ मैले। लिग अफ विमन भोटर्सका महिलाहरुसँगको कुराकानीमा ‘अमेरिकी मानसिकता महिलाप्रति साह्रै साँघुरो छ, राष्ट्रपति हुन हामीले अझै पचास वर्ष पर्खिनु पर्छ। राष्ट्रपति मातहतको जतिसुकै ठूलो पद पनि हामी पाउन सक्दछौं, तर हामीलाई अमेरिकीहरु राष्ट्रपति मान्न सक्दैनन्’ भनेर मलाई शिक्षा दिएका थिए। त्यही शिक्षाका आधारमा पछिल्लो राष्ट्रपतिय चुनावमा मैले ‘हिलारी क्लिण्टन जति लोकप्रिय भए पनि चुनाव चाहिं डोनाल्ड ट्रम्पले नै जित्छन्’ भनेर लेखेको थिएँ। धेरै रिसाउनु भयो नेपाली अमेरिकन मित्रहरु। जति रिसाए पनि लिग अफ विमन भोटर्सका पाका महिलाको भविष्यवाणी नै सही भयो।

सोही यात्रमा मैले याले विश्वविद्यालयका एकजना प्रोफेसरसँग पनि कुरा गर्ने मौका पाएको थिएँ। मैले सोधेको थिएँ, ‘अमेरिका किन विश्वभरि हैकम चलाउन चाहन्छ ? पहिले कोरिया र भियतनाम अनि अहिले अफगानिस्तानमा अमेरिकी कारबाहीको बारेमा तपाईं के भन्नु हुन्छ ? उनको उत्तर थियो – अमेरिकी नागरिकलाई सरकारले विश्वमा के गर्छ भन्ने चासो हुँदैन। उनीहरु आफ्ना लागि प्रजातन्त्र चाहन्छन्। अरु मुलुकका मानिसलाई प्रजातन्त्र चाहिन्छ भने उनीहरुले संघर्ष गर्नु पर्छ भन्ने हाम्रा नागरिकहरुको सोच हो।

नेपालले नबोलेको भए पनि हुन्थ्यो ! किन हतार हतार बोल्नु परेको प्रचण्डले ? भन्ने प्रश्नको जवाफमा म तपाईंहरुलाई एउटा जर्मन कविको कविता सुनाउन चाहन्छु। 

‘हिटलरको सेना आयो
मेरो एउटा छिमेकीलाई लिएर गयो
म केही बोलिन 
किनभने उ कम्युनिस्ट थियो
फेरि हिटलरको सेना आयो
मेरो अर्को छिमेकीलाई लिएर गयो
फेरि पनि म केही बोलिन
किनभने उ यहुदी थियो
तेश्रो पटकक हिटलरको सेना
मलाई नै लिन आयो
मेरो पक्षमा बोलिदिने 
मानिस कोही जीवित थिएन।

सन्नाटा र हत्याको यति सुन्दर कविता त्यतिबेलाका जर्मन कविहरुले मात्रै लेख्न सकेका होलान् !

अमेरिका मलाई मन पर्दैन, तर मेरा धेरै पृयजनलाई अमेरिका स्वर्गको चौतारो लाग्छ। आआफ्नो रुची हो। यसमा मेरो कुनै टिप्पणी छैन। तर अमेरिकाको कानून किन सार्वभौम हुनु पर्छ ? किनभने अमेरिकासँग पैसा छ। पैसाले जे पनि किन्न सकिन्छ भ्रममा बाँचेको छ अमेरिका। त्यसैले उ सधैं अन्य राष्ट्रका आन्तरिक मामिलामा हस्तक्षेप गर्छ। हामी लाचार नेपालीहरुलाई अमेरिकाका कुकर्मका विरुद्ध बोल्न डर लाग्छ।

अरुका बारेमा बेकारमा किन टिप्पणी गरिरहने ? नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धयकै बारेमा अलिकति टिप्पणी गरौं। ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ भनेर आफ्ना प्रभुलाई सतर्क गराउने न्युजविकका लागि नेकपामा, अहिले पनि मदन भण्डारी जीवित छन् भन्ने भ्रम छ। यद्यपि त्यो भ्रम हो। भ्रमै भए पनि त्यो छ। यस्तो स्थितिमा तपाईंहरुको जिभ्रो जथाभावि चल्ने हो भने अन्तिम निष्कर्षमा तपाईंहरु पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ। नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको गरीमा तपाईंहरुलाई थाहा छैन होला भन्न त मिल्दैन। तर त्यसलाई कसरी जोगाउनु पर्छ भन्नेतिर चाहिँ तपाईंहरुको ध्यान गएको छैन।

सबैभन्दा ठूला मानिस हुन् नेपाली जनता। के गरेर जनतालाई सुखी, शक्तिशाली र स्वाभिमानी बनाउन सकिन्छ भन्ने कुरामा तपाईंहरुको ध्यान केन्द्रीत हुनु पर्छ। अहिले हामीलाई आफ्नो परिचय चाहिएको छ – स्वतन्त्र नेपाल, स्वतन्त्र नेपाली।

यो स्वतन्त्र नेपाल र स्वतन्त्र नेपालीको लोगो बचाउन असाध्यै गाह्रो छ विशेष गरेर नेपाल कम्युनिस्ट पार्टीलाई। तपाईंहरुले के बुझ्नु पर्छ यतिबेलाको अन्तराष्ट्रिय परिस्थिति पनि झण्डै झण्डै वीसौं शताब्दीको अन्तिम दशकको जस्तै छ। विश्वसमाजवादी आन्दोलन अन्तिम सिंढीतिर झरिरहेको समयमा जनताको बहुदलीय जनवादको कार्यक्रम ल्याएर बौरिएको नेपालको कम्युनिस्ट पार्टी पुनः अग्निपरीक्षाको घडीमा उभिएको छ। नेपालमा नेपाल कम्युनिस्ट पार्टी बाहेक अरु कुनै पनि पार्टी जनपक्षीय छैनन्। एक्लो नेकपा कृष्ण भएर उभिएको अहिलेको महाभारतमा। राै‌चिरा विरोध थोपरिएका छन् कम्युनिस्ट पार्टीका विरुद्धमा। सबै विरोधहरु बुमेराङ भैरहे पनि कांग्रेस थाकेको छैन, झुट्टा आरोप लगाउने कामबाट। ३३ किलो सुन हरायो, कति करोडको गाडी पनि हरायो, कति करोडको हेलिकोप्टर पनि हरायो, अहिले आएको एनसेल कर पनि कुनै दिन हराउला नै। किनभने पुँजीवाद भनेको भ्रष्टाचारको दाइ हो। जुनसुकै पार्टीको राज भए पनि पुँजीवाद रहेसम्म भ्रष्टाचार भै रहन्छ। यसमा नेकपाका दुबै अध्यक्षले नबोल्नु उपयुक्त हुन्छ। पुँजीवादमा ‘भ्रष्टाचारमा शुन्य सहनशीलता’ भन्नै हुँदैन। यो शुन्य सहनशीलता भनेको चाहिँ फिनल्याण्ड, स्वीडेन, नर्वेजस्ता समृद्ध पुँजीवादी मुलुकले भन्ने हो। अहिले ती मुलुकहरु नै समाजवादतिर छलाङ लगाउने अवस्थामा पुगेका छन्। समाजवाद खालि बन्दुकबाट आउने प्रणाली होइन। त्यो पुँजीवादका सबै अवयवलाई चिरेर, पुँजीवादलाई भित्रबाटै नाश गरेर आउने प्रणाली हो।

राष्ट्रपति निवास सामन्तवादको केन्द्र भएको छ यतिबेला। त्यहाँको भावभंगिमा, बोली र संबोधनमा वाक्क लाग्ने सामन्तवादको गन्ध आउँछ। राष्ट्रपतिलाई प्रत्येक शब्दमा ‘सम्माननीयज्यु’ भन्ने अनि राष्ट्रपति र जनताको बीचमा पर्खाल खडा गर्ने परम्परागत कर्ममाथि मदन भण्डारीले यसरी व्यंग गरिरहनु भएको थियो राष्ट्रपति भवनको प्रेक्षागृहमा – राजा रहनु र नरहनु कुनै ठूलो कुरो होइन। महत्वपूर्ण कुरो दलाल नोकरशाही व्यवस्थाको अन्त हुनु पर्छ भन्ने हामी कम्युनिस्टहरुको निष्कर्ष हो।’ तर त्यही नोकरशाही पुँजीपति वर्गले राज गरेको छ यतिबेलाको नेपालमा। 

नेपाल भित्रै पनि अरुले के गरे हामीले के गर्‍यौं भनेर तुलना गर्ने होइन। अरुले जे गरे पनि हामीले जनहीतमा काम गर्ने हो। तुइन, विस्थापनको काम पुरा भयो ? भए राम्रो। भएन भने छिटो पुरा गर्नु पर्‍यो। सबै प्रदेशहरु आत्मनिर्भर हुन सक्ने खुबीका छन्। प्रदेशहरुको उर्जा पत्ता लगाउने र भर्ने काम भयो ? भएन भने छिटो गर्नु पर्‍यो। मेलम्चीमा अरबौंको भ्रष्टाचार भयो। तर त्यो अझै बन्न सकेको छैन। बनाउनु पर्‍यो। केन्द्रले प्रदेशलाई र प्रदेशले स्थानीय सरकारलार्ई अधिकार दिन कन्जुस्याई गर्नु भएन। स्थानीय सरकार जति बलियो हुन्छ, दलाल तथा नोकरशाही पुँजीवाद त्यति नै कमजोर हुन्छ।

अध्यक्षज्युहरु, इतिहासले तपाईंहरुलाई नधिक्कारोस्। होस गर्नुस् – नेकपाको उच्छेद गर्नेहरु अमेरिका या काँग्रेसमा मात्र होइन, तपाईंहरुकै ओरिपरी पनि छन्।

नेकपा नेता नेपालको फेसबुक वालबाट
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।