जनकपुरधाम- महोत्तरीमा घुससहित पक्राउ परेका एकजना प्रहरी सहायक निरीक्षक (सई) अख्तियारको फन्दाबाट फरार भएका छन्।
घुससहित पक्राउ परेका औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीको नियन्त्रणबाट फरार भएका हुन्।
अख्तियारको टोलीले असई साहलाई १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो। मंगलबार अख्तियारको टोलीले औरहीस्थित नवदुर्गा सःमिलबाट नियन्त्रणमा लिएको थियो । तर उनी अख्तियारको टोलीलाई छलेर उनी भागेको बताइएको छ।
अख्तियारको टोली औरही पुगेपछि साह नजिकै रहेको सःमिल पुगेका थिए। अख्तियारको टोली सःमिल पुगेर सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो।
दुबै जनलाई पक्राउ गरेर प्रहरी चौकीतर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरेका थिए। स्थानीयले अवरोध गरिरहेको मौका छोपी दुबैजना फरार भएको बताइएको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले फरार भएका असईको खोजी भइरहेको बताएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टीम परिचालन गरेर असई साहको खोजी भइरहेको ढकालले बताए।
‘स्थानीयले अवरोध गरेको मौका छोपेर उनी भाग्न सफल भएका छन्,’ ढकालले भने,‘विभित्र स्थानमा चेक प्वाइन्ट राखिएको छ। सीमावर्ती क्षेत्रका प्रहरीसँग पनि हामी सम्पर्कमा छौं। उनी छिट्टै समातिन्छन्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४