अनुभव नसुनुन्जेल नयाँ लाग्छ। सुनेपछि मात्रै पुरानो हुन्छ। म आज यस्तै एक नयाँ अनुभव सुनाउँदैछु।
धनकुटाको मूलघाटदेखि धरानसम्म धेरै पटक यात्रा गरेको छु। तर, यो पटक मूलघाटदेखि चतरासम्म यात्रा गर्ने हुटहुटी चल्यो। मूलघाट–धरानको सडक मार्गमा त धेरैले यात्रा गरेका छन्। मूलघाट–चतराको जलमार्गको यात्रा गर्ने भने थोरै छ्न्। हो, त्यही थोरै जमातमा पर्ने गरी मलाई मूलघाट–चतरा साहसिक जलयात्रा (र्याफ्टिङ) गर्ने इच्छा जाग्यो।
ताप्लेजुङको दोभानदेखि चतरासम्मको १३१ किलोमिटरसम्मै र्याफ्टिङ गर्न मन थियो। तर व्यावसायिक र्याफ्टिङको सञ्चालन मूलघाट–चतराको ३४ किलोमिटर रुट भएकाले त्यही मात्रै गर्ने अवसर थियो। यो र्याफ्टिङ रहरको जरा मेरो बाल्यकालसँग जोडिन्छ। बाल्यकालमा आमाबासँग तेह्रथुमको मोराहाङबाट ताप्लेजुङको पाथीभारा पैदलयात्रा जाँदा मलाई यस्तो रहर आएको थियो।
नदी बग्ने बाटो कस्तो हुन्छ होला? नदीसँगै बग्दा कस्तो हुन्छ होला? यस्ता प्रश्न मलाई ताप्लेजुङको दोभान पुगेपछि पहिलोपटक आएका थिए। जीवनमा देखेको पहिलो नदी तमोर। पहिलोपटक छोएको नदी तमोर। पहिलोपटक र्याफ्टिङ गरेको देखेको नदी पनि तमोर नै।
गोराहरुले तमोरको बगाइसँगै दाबिलोले खियाउँदै नाउमा रोमाञ्चक यात्रा गरेको दोभानमा देखें मैले। धेरै पछि मात्रै बुझें त्यो दाबिलोलाई प्याडल भन्दा रैछन्। नाउलाई र्याफ्ट भन्दा रैछन्। अनि दाबिलो खियाएर नाउमा आनन्दले नदीसँगै बग्नुलाई र्याफ्टिङ भन्दा रैछन्।
मेरो बाल्यकालीन र्याफ्टिङ रहर मटाउने साइत जुर्या २०७३ साल पुस १६ गते। तपाईंलाई लाग्न सक्छ दुई वर्षअगाडिको र्याफ्टिङ अनुभव के लेखेको होला ? मैले सुरुमै भनेको छु – अनुभव नसुन्जेलसम्म नयाँ नै हुन्छ। सुनेपछि मात्रै पुराना हुने हुन् अनुभवहरू।
पौडी खेल्न आउँदैन थियो। र्याफ्टिङ गर्न भने अत्यन्तै रहर थियो। तमोरका छालसँग डर लाग्थ्यो। छाल टेकेर दौडने र्याफ्टमा चढेर र्याफ्टिङ गर्न भने मन थियो। इटहरीमा कार्यालय भएको रिभर डिप र्याफ्टिङ सञ्चालक सुरेश बस्नेतले मेरा यस्ता असहजतालाई सहज पारिदिनुभयो।
पौडी खेल्न नआए पनि र्याफ्टिङ गाइडको इसारामा र्याफ्टिङ गर्न सकिने बस्नेतले सुनाउनुभयो। कथंकदाचित लडियो र पानीमा पसियो भने जिउमा लाउने लाइफ ज्याकेटले जोगाउने उहाँबाटै सुनें। पानीमा डुबिहाले कायाक भनिने र्याफ्ट अगाडि एक्लै कुद्ने उद्धारकले निकाल्ने कुरा उहाँले दोहोर्याउनुभयो। त्यसपछि मलाई ढुक्क भयो।
र्याफ्टिङ सञ्चालकले ढुक्क बनाए पनि कतै भवितव्य परेर खोलाले बगाउला कि भन्ने डर पस्यो। सीधै भन्न गाह्रो लाग्यो। घुमाउरो तरिकाले सोधें, ‘सर अहिलेसम्म तमोर र्याफ्टिङ गर्दा कोही मरेका छन् कि छैनन्?’
‘तमोरमा धरानबाट र्याफ्टिङ भएको १० वर्ष र हामीले गराएको १ वर्ष भयो, कोही हताहती भएको छैन’, बस्नेतले भन्नुभयो, ‘बच्ने र बचाउने नै र्याफ्टिङ पहिलो सर्त हो। हामीले रिभर गाइडसँगै कायाक राख्नुको अर्थ नै त्यही हो।’

सुरेश बस्नेतको यो कुराले मलाई मात्रै हैन मसँग यात्रामा हुने सुनसरीका दुई पत्रकार दाइ अमर खड्का र शेखर ढकाल पनि विश्वस्त हुनुभयो। हामीले सँगै यात्रा गर्ने भयौँ। संयोगबस हाम्रो र्याफ्टिङ यात्रामा जोडिनुभयो सशस्त्र प्रहरीका तत्कालीन आइजिपी दुर्जकुमार राई।
आइजिपी राईसँगै आएका सशस्त्र प्रहरीका अधिकारीहरु, इटहरीका युवा र हामी तीन पत्रकार गरेर १६ जना भयौं र्याफ्टिङ गर्ने। पुस १६ गतेको तराईको चिसो बिहान हामीले ९ बजे इटहरी छाड्यौँ। इटहरी, धरान, भेडेटार हुँदै हामी मूलघाटतर्फ लाग्यौँ। भेडेटारमा हामीले बिहानको चियानास्ता खायौँ। मूलघाट पुग्दा साढे ११ बज्यो। साढे ११ देखि आधा घन्टा हामीलाई गाइड राजेन्द्र श्रेष्ठले र्याफ्टिङका केही नियम बताएर निर्देशन दिए।
फरवार्ड भन्दा आफ्नो प्याडल पानीमा डुबाएर पानी आफूतिर तान्ने, ब्याकवार्ड भन्दा पानी ठेल्ने जस्ता र्याफ्टिङका अनिवार्य नियम बताए श्रेष्ठले। फरवार्ड र ब्याकवार्ड पनि फास्ट भन्दा फास्ट गर्नुपर्ने श्रेष्ठले सम्झाए। र्याफ्ट लड्न लाग्दा वा कुनै असहज भएमा ‘होल्ड अन’ भन्दा डोरी समाएर र्याफ्टभित्रको भागमा बस्नुपर्ने जस्ता महत्त्वपूर्ण नियम श्रेष्ठले सुनाए।
नियम सुन्दै जाँदा लाग्यो हामी कुनै न कुनै बेला र्याफ्टबाट पल्टनेछौं। हामीले तमोरको छाल वा भुमरीमा अल्झनुपर्नेछ। र्याफ्टिङ सञ्चालक बस्नेतका कुराबाट ढुक्क बनेको म गाइडका निर्देशन र नियम सुनेपछि भने ढुक्क हुन सकिनँ। फेरि सोचें – आ ! अहिलेसम्म कोही मरेको छैन। मरिहाले तमोर र्याफ्टिङको प्रथम सहिद भइन्छ। नमरे सुन्दर सम्झना लेखिन्छ।
मर्ने बाँच्ने सोच्दासोच्दै मूलघाटको मोटर गुड्ने पुल पार गरेर हाम्रो र्याफ्टिङ यात्रा सुरु भयो। १२ बजेपछि सुरु भएको हाम्रो यात्रामा हामीले फरवार्ड, ब्याक वार्डका निर्देशन पालना गर्दै गयौँ।
नदीको बहावअनुसार प्याडलको लय बिग्रंदा यात्राको बाटो बिग्रदो रहेछ। गाइडको निर्देशन नमानि प्याडल नचलाए र्याफ्ट चल्दो रहेनछ। सबैले एकैसाथ उस्तै कसरत गरेर मात्र र्याफ्टिङ सम्भव हुँदोरहेछ। नेपाली राजनीतिमा सुनिने सहयात्रा र सहकार्यको खास प्रयोग त र्याफ्टिङमा पो हुँदोरहेछ।
प्याडल समाएर गाइडको इसारामा फरवार्ड र ब्याकवार्ड गर्दै एक घन्टाको लागातार यात्रापछि हामी १ बजे धनकुटाको घुमाउने भन्ने ठाउँमा पुग्यौँ। बग्दै आएको तमोर घुमेर बग्ने ठाउँ भएकाले घुमाउने भनिएको रहेछ। हामी एक घन्टा यात्रामा प्राविधिक रुपमा र्यापिड भनिने छाल पार गरेर घुमाउने आएका थियौँ।
घुमाउनेमा हामीलाई रिभर गाइडहरुले नै खाना पकाएर खुवाए। भेज र ननभेज दुवै परिकार खुवाउने सामान र्याफ्टिङ कम्पनीले नै बोकेर ल्याएको थियो। केही सागसब्जी भने स्थानीय गाउँबाट ल्याएर बनाइएका थिए। एक घन्टापछि हामीले तस्बिर लिनेदेखि खाना खाएर यात्रा पुनः सुचारु गर्न भ्यायौँ।
नयाँनयाँ छाल, नयाँनयाँ लहर पार गर्दै हामी त्रिवेणी आइपुग्यौँ। तमोर, अरुण र सुनकोसी जोडिएर सप्तकोसी बनेको त्रिवेणीसम्म आउँदा साढे ४ बजेको थियो। त्रिवेणीसम्म उर्लंदा छालहरुसँगै सहज भएको र्याफ्टिङ यात्रा भने असहज भयो। सप्तकोसीमा छाल कम भएको र बसेर पानी बगेकाले र्याफ्टिङ असहज भएको गाइड राजेन्द्र श्रेष्ठले बताए।
तमोरका छालसँगै बग्दा आएको आनन्द सप्तकोसीको पानीमा प्याडल खियाउँदा केही मत्थर भयो। तमोरमा नदीको पानीले र्याफ्ट आफै बगाउँथ्यो। सप्तकोसीले प्याडल गर्दै र्याफ्टलाई ठेल्दैठेल्दै लानुपथ्र्यो। त्रिवेणीदेखि बराहक्षेत्रसम्म जबरजस्त प्याडल दाबेर बगाएको र्याफ्टले बराहक्षेत्र पार गरेपछि बल्ल एक विशाल छाल भेटियो। सप्तकोसीको विशाल छालमाथि कुद्नुको आनन्द र प्याडल घुमाएर गलेका हातको विश्राम एकैपटक मिल्यो। बराहक्षेत्र मन्दिरमुनिको विशाल छाल पार गरेको १५ मिनेट हाराहारीमा हाम्रो र्याटिङ प्याकेज पनि पूरा भयो। अर्थात् हामी पहिलोपटक नदीसँगै चतरा ठिक ६ बजे आयौँ।
३४ किलोमिटर लामो पहिलो ६ घन्टे तमोर र्याफ्टिङ अन्त्यन्तै रोचक र अविस्मरणीय रह्यो। साबुनको फिँजजस्तै फिजिँदै आएर छोप्ने छालहरुले डरआनन्द दुवै दिए। र्याफ्टलाई पुर्न खोज्ने गरी आउने र एक झापड हानेझैं हिर्काएर जान्थे छालहरू। यसरी हिर्काउने छालको निसानामा कतै अगाडितिर बसेकाहरु पर्थे। कतै पछाडि वा दायाँबायाँकाहरू पर्थे।
तमोरमा उर्लंदा छालहरुले लडाउनलडाउन खोज्ने तर नलडाउने। र्याफ्टलाई पल्टाउनपल्टाउन खोज्ने तर नपल्टाउने। सायद तमोरका छालको यस्तै विशेषता भएकैले यसलाई साहसिक र्याफ्टिङ नदी भनिएको होला।
विश्वकै साहसिक नदीमध्येको एक नदी भएकैले विश्वभरका जलपारखीहरु तमोरमा आनन्द लिन हजारौँ खर्च गरेर आएका होलान्। म कति भाग्यमानी ! विदेशीले लाख हाराहारी खर्च गरेर मात्रै लिन सक्ने तमोर र्याफ्टिङ मैले तीन हजारमै गर्न पाएँ। इटहरी–मूलघाट गाडीमा लाने, खाजा नास्ता खुवाउने र र्याफ्टिङ गराएर चतरा–इटहरी गाडीमै पुर्याउने सबै तीन हजारले पुग्यो।
मैले यसरी आफ्नै प्रदेशमा लिएको यो आनन्द लिनेहरु नेपाली नै अत्यधिक छन। केही भारतीय आउँछन्। यही प्रदेशसँग किमाथांका र ओलाङचुङगोला जस्ता दुई नाका जोडिएका चिनियाँ त आएकै छैनन्। यो मेरो हैन, व्यवसायीको भनाइ हो।
तमोर र्याफ्टिङको रोचकताबारे थप प्रचार गर्ने हो भने यही प्रदेशको दसगजापारिका भारतीय युवा पनि आउने थिए। उनीहरुसँगै व्यवसायीलाई रकम आउँथ्यो। गाइडहरुले रोजगारी पाउँथे। सरकारलाई कर आउँथ्यो र पर्यटनमा समृद्धि आउथ्यो। तमोरमा जसरी नै अरुण र सुनकोसीको र्याफ्टिङमा छिमेकी मुलुकका युवा तान्न सकेमा धेरै जाती हुन्थ्यो।