शुक्रबार, जेठ ३, २०८२

श्रम स्वीकृति लिन रातभर लाइन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश २ को राजधानी जनकपुरबाटै पुनः श्रम स्वीकृति पाउने खबरले वैदेशिक रोजगारीमा जाने आठ जिल्लाका वैदेशिक कामदारबीच खुशीको लहर छाएको थियो। यसको प्रमुख कारण थियो, श्रम स्वीकृति लिन काठमाडौं पुग्नैपर्ने झन्झटबाट छुटकारा पाउनु।

तर, श्रम स्वीकृति दिने कार्य सुरु भएको केही दिन नबित्दै वैदेशिक कामदारको बिजोग हुन थालेको छ। कार्यालयबाट भइरहेको कार्य सम्पादनमा ढिलासुस्ती र दलालहरुको चलखेल बढ्न थालेपछि पुनः श्रम स्वीकृति लिन यहाँ पुग्ने कामदार रातभर कार्यालयअगाडि सडकमै जाग्राम बस्न बाध्य भएका छन्।

पुनः श्रम स्वीकृति लिन बाराको रामनगर बस्ने उमेशप्रसाद सहनी जनकपुर पुगेको तीन दिन भइसकेको छ। क्याम्पस चोकनजिकै रहेको प्रदेश श्रम तथा रोजगार कार्यालयअगाडि उनी तीन दिनदेखि बिहान १० बजेदेखि लाम बस्दै आइरहेका छन्। तर, श्रम स्वीकृति पाउन सकेका छैनन्।

उमेशझैँ सप्तरी महुलीबाट पुनः श्रम स्वीकृति लिन जनकपुर पुगेका छन्, नथुनी राय। नथुनी पनि श्रम स्वीकृति लिन दुई दिनदेखि प्रयासरत छन्। तर सफल हुन सकेका छैनन्।

उमेश र नथुनीजस्तै धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लाबाट पुनः श्रमस्वीकृति लिन यहाँ पुगेका वैदेशिक कामदार दिनभर लाम बसेर पनि सफल हुन नसकेपछि कठयांग्रिने चिसो रातमा लाम बस्न कार्यालयअगाडि पुगेका थिए। बिहीबार बिहान १० बजेदेखि कार्यालय सञ्चालन हुने भए पनि बुधबार राति ८ बजे उमेश र नथुनीजस्ता सयभन्दा बढी कामदार कार्यालयअगाडि सडकमा लाम लागिसकेका थिए। कोही ब्ल्यान्केट ओढेर सडकमै सुतेका थिए भने कतिपयले आगो बालेर जाढो छल्न प्रयास गरिरहेका थिए। पुसको जाडोमा सडकमा रात बिताउने उनीहरूको रहर नभएर बाध्यता थियो।

वैदेशिक कामदारहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले प्रदेशबाटै पुनः श्रम स्वीकृति अवधारणा ल्याइए पनि कार्यसम्पादन प्रभावकारी नहुँदा र दलालहरुको चलखेल बढेपछि बेथिति बढेको छ। कार्यालय वरिपरि बस्ने गरेका दलालहरुको बिगबिगी बढेकाले लाम बस्ने सेवाग्रहीले सुविधा पाउन नसकेको श्रम स्वीकृति लिन पुगेका कामदारको गुनासो छ। श्रम स्वीकृति दिलाउन दलालप्रति पासपोर्ट चार हजारदेखि पाँच हजारसम्म अतिरिक्त रुपैयाँ लिने गरेको उनीहरु बताउँछन्। दलालमार्फत काम गराउँदा एक दिनमै श्रम स्वीकृति पाइने भए पनि लाम बसेकाहरुलाई सहज नरहेको कामदारको भनाइ छ।
दुई-तीन दिन लगातार कार्यालय समयमा लाम बस्दा पनि श्रम स्वीकृति पाउन नसकेपछि बाध्य भएर चिसो रातमा लाम बस्नुपरेको उमेश बताउँछन्। ‘तीन दिनदेखि लाम बस्दै आएका छौं,’ उमेशले भने, ‘तर हामीले श्रम स्वीकृति पाउन सकेका छैनौं। कार्यालयको अवस्था भद्रगोल छ। कार्यालय सञ्चालन भएको थोरै समयमा दलालहरूको बिगबिगी बढेको छ।’

प्रदेशमै श्रम स्वीकृति पाउने भएपछि जनकपुर पुगे पनि सोचेजस्तो सजिलो नरहेको सिरहा धनगढी नगरपालिकास्थित सिमरा बस्ने शहदेव राय बताउँछन्। ‘लाम बसेकामध्ये ३०-४० जनाले मात्र श्रम स्वीकृति पाउने गरेका छन्,’ शहदेवले भने, ‘यहाँ सक्रिय दलालमार्फत तत्काल काम हुन्छ। तर, दिनभर लाम बसेकाले श्रम स्वीकृति पाउन गाह्रो छ।’

श्रम स्वीकृति लिनेको भीड धेरै रहे पनि कार्यालयमा बस्ने गरेका सुरक्षाकर्मीको कामसमेत प्रभावकारी देखिन नसकेको सुनाउँदै शहदेव भन्छन्,‘ भीड व्यवस्थापन गर्न कार्यालयमा उपस्थित सुरक्षाकर्मीको भूमिका राम्रो देखिएको छैन। उनीहरुले लाठीसमेत चार्ज गरेका छन्।’ श्रम स्वीकृति पाउन जनकपुरभन्दा काठमाडौं नै सहज रहेको उनले आफ्नो अनुभव सुनाए। चिसो रातमा सडकमा लाम बस्नुपर्ने बाध्यता प्रदेश सरकारको उपलब्धि रहेको सहदेवले व्यंग्य कसे।

कार्यालयले दैनिक ३०-४० भन्दा बढी श्रम स्वीकृति दिन नसकेको पूर्वी धनुषाबाट बिहीबार कार्यालयका लागि बुधबार राति लाम बसेका धनुषा खजुरीका रामउदगार कापडीले बताए। आफूहरुले वैदेशिक रोजगारबाट पठाएको रेमिट्यान्सले मुलुकको आर्थिक भार थाम्न ठूलो भूमिका निर्वाह गरे पनि सम्बन्धित निकायबाट खासै प्रतिष्ठा पाउन नसकेको रामउदगार बताउँछन्।

वैदेशिक रोजगारमा जानपूर्व यसअघि काठमाडौंबाट मात्र पाइने पुनः श्रम स्वीकृति प्रदेशबाटै उपलब्ध गराउन प्रदेश श्रम तथा रोजगार कार्यालयमार्फत १५ पुसदेखि जनकपुरबाट सेवा सुरु भएको छ। वैदेशिक रोजगारमा जाने अधिकांश नेपाली कामदार प्रदेश २ बाट रहेको तथ्यांकले देखाउँछ। वैदेशिक रोजगारमा जाने कामदारमा धनुषा अग्रणी छ। 

कार्यालय उद्घाटन भएको दिन निमित्त प्रमुख मनोज यादवले दैनिक दुई सयदेखि तीन सय श्रम स्वीकृति वितरण गरिने लक्ष्य बोकेको दाबी गरेका थिए। तर यादवले गरेको दाबी झूटो रहेको कामदार बताउँछन्। उनीहरुले जनाएअनुसार कार्यालयबाट देखिने गरी बढीमा ४०-४५ वटा श्रम स्वीकृतिमात्र हुने गरेको छ। जनकपुरबाटै श्रम स्वीकृति दिइने भएपछि लामो समयसम्म लाम बस्ने सेवाग्राहीको भन्झट अन्त्य भएको कार्यालय प्रमुख यादवले बताएका थिए।

वैदेशिक रोजगारसम्बन्धी काम गर्ने म्यान पावर एजेन्सी, मेडिकल हुने स्थान, वैदेशिक रोजगारलाई तालिम दिइने स्थानलगायतका सबै कामको अनुगमन र निरीक्षण गर्ने यादवले जानकारी दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।