भैरहवा- पुसको लुगलुग कपाउँने जाडोको वास्तै नगरी मध्यरातसम्म लुम्बिनीको महिलावार बजारमा मान्छेहरुको भीड देख्दा सबै आश्चर्यचकित पर्दथे। वृद्धा, युवा, किशोर सबै उमेर समुहका मान्छेहरु उक्त मध्यरातको जाडोको वास्तै नगरी अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित ७ औं सडक खाना महोत्सवमा घोंगी-गंगटादेखी विदेशी परिकारहरु चाखिरहेका देखिन्थे।
गंगटाको परिकार विशेषतः विदेशीहरुले खाईरहेका देखिन्थे भने विदेशी खानाका परिकार नेपालीहरुले। यसरी स्वदेशी र विदेशीको खानाका पारखीको विविधतामा एकता ल्याईदिएको थियो लुम्बिनी सडक खाना महोत्सवले। एउटै थलोमा उभिएर आफ्नो रुचि अनुसारको खाना पाउँदा सहभागीहरु हर्षित देखिन्थे।

‘लुम्बिनी जाऔं, सडकमा खाऔं, सडकमै रमाऔं’भन्ने मुख्य नारासहित लुम्बिनीमा सम्पन्न सडक खाना महोत्सवले लुम्बिनीको पर्यटन प्रबर्द्धनमा महत्वपुर्ण भूमिका खेलेको होटल एशोसियसन नेपालका केन्द्रिय अध्यक्ष अमरमान शाक्यले बताए। सो अवसरमा राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्ययले सडक खाना महोत्सव साच्चिकै उपलब्धीमूलक देखिएको बताए। प्रदेश सभा सदस्य फकरुद्धिन खानले स्थानिय परिकार र विदेशी परिकारको संगम स्थल बनेको लुम्बिनी सडक खाना महोत्सव देशकै नमुना महोत्सव भएको बताए।
सडक खाना महोत्सवमा सहभागी लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लम्बिनी सडक खाना महोत्सवले लुम्बिनीको गरिमा झनै बढाएको र पर्यटकहरुकोलागी अवसर पनि जुटाईदिएको बताए। सडक खाना महोत्सवमा थाइल्यान्ड, कम्बोडियन, चाईनिज, श्रीलंकन, जापनिज, भारतीय, इंग्ल्यान्ड लगायत विभिन्न विदेशी मूलकका नागरिकहरु स्वतः स्फूर्त रुपमा सहभागी भएका थिए।

सडक खाना महोत्सव आयोजक संस्था सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी शाखाका उपाध्यक्ष गोबिन्द ज्ञवालीका अनुसार उक्त कार्यक्रममा विदेशी मात्रै २५ सय भन्दा बढी सहभागी थिए।
अंग्रेजी नयां बर्षको अवसरमा लुम्बिनीमा आयोजना हुने सडक खाना महोत्सव अब विदेशीहरुको नयां गन्बत्य बनेको सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी शाखाका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए। लुम्बिनीको पर्यटन प्रबद्र्धनमा होटल व्यवसायीले खेलेको भूमिकालाई राज्यले महत्व दिएर कार्यक्रमलाइ सहयोग गर्नुपर्ने सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४