शुक्रबार, जेठ ३, २०८२

राजेन्द्रको पुतला दहनपछि राजपाभित्र बबन्डर!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम-मधेश केन्द्रित ६ पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र पछिल्ला केहि दिनयता आन्तरिक विवाद बढेर गएको छ । आगामी वैशाखमा एकता अधिवेशन गर्ने तयारी गरिरहेको राजपाभित्रको विवाद जनकपुरमा संयोजक राजेन्द्र महतोको पुतला दहनपछि थप छताछुल्ल भएको छ ।

६ मधेश केन्द्रित दल एक भएर राजपा बनेको दुई वर्ष पुरा हुन अझै साढे तीन महिना बाँकी छ । गत वर्ष ७ वैशाखमा निर्वाचनको पूर्वसन्ध्यामा ६  दल राजनीतिक रुपले एक भएपनि मन भने अझै मिल्न नसकेको पछिल्ला केहि घटनाहरुले पुष्टि गरेकोछ । 

विशेषगरी पार्टी एकता ताका अध्यक्षमण्डलका जिम्मेवारी सम्हालेका महन्थ ठाकुरलाई हटाएर अचानक राजेन्द्र महतो संयोजक बनेपछि पार्टी भित्रको विवाद बढेर गएको हो। अध्यक्षमण्डलको सबै निर्णय सर्वसम्मत हुनुपर्ने वैधानिक व्यवस्था रहेपनि बहुमतको निर्णयबाट आफू संयोजक बनेका महतोले ठाकुरको अपमान गरेको ठाकुर समर्थक नेता तथा कार्यकर्ताहरुको आरोप छ । 

अध्यक्षमण्डल परिवर्तनसँगै राजपाभित्रको आन्तरिक कलह विस्तारै केन्द्रदेखि जिल्लासम्म पुगेको छ। शुक्रबार साँझ ठाकुर समर्थित राजपा कार्यकर्ताहरुले जनकपुरमा संयोजक महतोको पुतला नै जलाए। आफ्नै कार्यकर्ताहरुले महतोको पुतला जलाएपछि राजपाभित्र अहिले खैलाबला मच्चिएको छ । 

शुक्रबार अपरान्ह सामाजिक सञ्जालमा धनुषा अध्यक्षमण्डलका सदस्य देवकृष्ण मण्डललाई हटाएर युवा नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई जिम्मेवारी दिइएको पत्र सार्वजनिक भयो । पत्रमा अध्यक्षमण्डलका संयोजक महतोको हस्ताक्षर छ । 

सामाजिक सञ्जालमा पत्र हेर्नासाथ हटाइएका मण्डलसहित राजपाका अन्य नेताहरु आक्रोशमा आए र महतोको पुतला जलाए। मण्डललाई बिना कारण जिम्मेवारीबाट हटाएर अध्यक्षमण्डलका संयोजकले हैकमवादी शैली प्रदर्शन गरेको भन्दै उनीहरुले पुतला जलाउँदै निर्णयको विरोध गरे । 

पुतला जलाउने विरोध कार्यक्रममा राजपाका प्रदेश सचेतक परमेश्वर साह आफैपनि सहभागी भए। अध्यक्षमण्डल सदस्यबाट हटाइएका मण्डल शरतसिंह भण्डारीले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का जिल्ला अध्यक्षसमेत हुन् ।

महतोको पुतला जलाइएको भोलिपल्ट शनिबार नवनियुक्त जिल्ला अध्यक्षमण्डलका सदस्य ज्ञानुलाई बधाई दिन एक कार्यक्रमको आयोजना गरियो । तर, बधाई कार्यक्रममा महतो पक्षधर नेताहरुमात्र उपस्थित भए । 

नवनियुक्त अध्यक्षमण्डलका सदस्यलाई बधाई दिन आयोजना गरिएको कार्यक्रममा उपस्थित पार्टीका नेताहरुले सचेतक परमेश्वर साहलाई कारबाही गर्न माग गरेको छ । 

संयोजकको पुतला दहन कार्यक्रमको नेतृत्व गरेको भन्दै सचेतक साहसहित विरोध कार्यक्रममा सहभागी सबैलाई कारबाही गर्न बैठकले निर्णय गरेको राजपाका केन्द्रीय सदस्य रमण सिंहले जानकारी दिए ।

‘पार्टी संयोजकको पुतला जलाएर सचेतक लगायतका नेताहरुले अपमानजनक काम गर्नुभएको छ । केहि असन्तुष्टि भए पार्टी भित्रै छलफल गर्नु पर्दथ्यो,’ सिंहले भने, ‘सचेतकसहित विरोध कार्यक्रममा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गर्न हामीले केन्द्रीय अध्यक्षमण्डलसँग माग गरेका छौं ।’ यद्यपी कारबाहीको प्रकृतिबारे सिंहले केहि बताएनन् ।

अध्यक्षमण्डलका संयोजकले हैकमवादी गरेको आरोप खण्डन गर्दै सिंहले भने,‘उहाँले अध्यक्षमण्डलको सदस्यमा विगतको सदभावना पार्टीआवद्ध कसैले मनोनित गरेको भए हैकमवादी भएको मान्न सकिन्थ्यो । तर, हटाइएका र मनोनित भएका दुबैजना शरतसिंह भण्डारीजीको पार्टीसँग आवद्ध हुनुहन्छ । कसरी हैकमवादी भयो ?’

यता सचेतक साहले आफूमाथि कारबाहीको सिफारिस गर्ने निर्णयको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । कारबाहीको सिफारिस गर्ने निर्णय जिल्ला अध्यक्षमण्डलबाट हुनुपर्दछ भन्दै साहले बैठकमा सहभागी कोहिपनि आधिकारिक व्यक्ति नरहेको दाबी गरे ।

जिल्ला अध्यक्षमण्डल सदस्यबाट हटाएका मण्डलले केहि दिनअघिमात्र पार्टीका एक केन्द्रीय सदस्यलाई कारबाही गर्ने विषयमा भएको बैठकको अध्यक्षता गरेका थिए । उक्त बैठकले पार्टीका केन्द्रीय सदस्य संजय चौधरीलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्न अध्यक्षमण्डललाई सिफारिस गरेको थियो ।

कारबाहीको सिफारिस गरिएका चौधरी संयोजक महतो निकट नेता मानिन्छन् । महतो निकट नेतालाई कारबाही गर्नेसम्बन्धी बैठकको अध्यक्षता गरेकै कारण मण्डललाई अध्यक्षमण्डलको सदस्यबाट हटाइएको हुन सक्ने राजपाका ठाकुर निकट नेताहरुको आंकलन छ ।

शनिबार बसेको बैठकमा पार्टी महासचिव राजिव झा, प्रदेशसभा सदस्य सुरिता साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, केन्द्रीय सदस्य रमण सिंह लगायतका नेताहरुको उपस्थिति थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।