चुनाव हारेको घाउ वर्ष दिनसम्म निको पारेर राजधानी आएका कांग्रेसीको मुहारमा बेग्लै उत्साह भरिएको थियो। उनीहरूमा अपेक्षा थियो, अब पार्टी नयाँ ढंगले अघि बढ्छ, संगठन सुदृढीकरण तथा पुनर्संरचना अभियान सुरु हुन्छ, गुटबन्दी अन्त्य हुन्छ, विगतका भूलको समीक्षा गरेर भविष्यको सुन्दर बाटो कोरिन्छ। यस्ता धेरै सकारात्मक सपना बोकेर आएका थिए महासमिति सदस्यहरू।
मुलुकले नै आस गरेको कांग्रेसको महासमिति भने दुनियाँलाई हँसाउने जात्रा बन्यो । महासमितिमा प्रदर्शन भएका दृश्यले दुनियाँ हाँस्यो तर कांग्रेसीको होस भने खुल्न सकेन । ६ वर्षपछि निकै महत्त्वपूर्ण घडीमा आयोजित महासमितिले कांग्रेसलाई एउटा जीवन दिने जुन आमअपेक्षा थियो, त्यो पूरै निराशामा परिणत भएको छ ।
दस दिनको जात्रा सकेर महासमिति सदस्यहरू निराश भएर फर्किएका छन् । विधान संशोधनमा भएको लफडा, बन्दसत्रको तनाव, नेतृत्वको लाचारी, गुटगत झगडाले महासमिति खल्लो भयो । पार्टी सभापतिले हलियालाई जस्तो मञ्चबाटै झपारेको दृश्य, हात हालाहाल, माइक खोसाखोसजस्ता बन्दसत्रका भिडियो मिडियामा भाइरल भए र दुनियाँले कांग्रेसको रमिता देखेर धिक्कार मान्यो ।
उद्घाटनमा पोखिएका गुटको छिटाले बन्दसत्रको माहोल प्रदूषित गर्यो । कुनै नीतिगत प्रस्तावमा गम्भीर छलफल र बहस भएन। बैठकको एजेन्डामा न नेतृत्व स्पष्ट थियो न त महासमिति सदस्यहरूलाई रुचि देखियो। कांग्रेसको पुनर्संरचनाको बहस तथा विगतका भूलहरूको समीक्षाभन्दा गुटगत स्वार्थ र भागबन्डामै बढी अल्झिए नेताहरू । नेतृत्वले थोरै पनि सुझबुझ देखाउन सकेन । संस्थापन पक्ष नै आक्रामक शैलीमा प्रस्तुत भयो भने असन्तुष्ट पक्षले संस्थापन पक्षको कमजोरी एक्स्पोज गराएर रमिता हेर्नमै रमायो । तर यो सबै भइरहँदा दुनियाँसामु कांग्रेस आन्तरिक रुपमा असाध्यै कमजोर र अस्तव्यस्त देखियो ।
कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो निकाय महासमिति नै हो। विधानमा हरेक वर्ष महासमिति बस्नुपर्ने भनिए पनि कांग्रेसको ७१ वर्षे इतिहासमा ९ वटा महासमिति बैठक भएका छन्। अहिलेसम्म १३ वटा महाधिवेशन भए। यो कुनै आकस्मिक महासमिति थिएन । छ वर्षपछि पटकपटक स्थगित भएर बस्न लागेको महासमितिको एजेन्डामा गम्भीर तयारी तथा सघन गृहकार्य भएन । अन्योल, अलमल र गुटगत कलहमै अल्झियो दस दिनको बैठक।
कांग्रेस अलिकति पनि सच्चिएको छैन र सच्चिन पनि तयार छैन भन्ने सन्देश यो महासमितिले दिएको छ । दुई तिहाइको कम्युनिस्ट सरकारप्रति व्यापक निराशा र असन्तोषबीच आयोजित महासमिति कांग्रेसको शुषुप्त भूमिकालाई पुनर्जागृत गर्ने एउटा महत्त्वपूर्ण मौका थियो । त्यसतर्फ पटक्कै ध्यान गएन । सरकारका बद्मासी एवं नीतिगत भ्रष्टाचारका विषयमा विशेष प्रस्ताव ल्याएर मुलुकको माहोल नै तरंगित गर्ने एउटा अवसर कांग्रेसले खेर फालेको छ।
कम्युनिस्टसँगको सहकार्यमा कांग्रेसले लिएका कतिपय रणनीति निकै अस्वाभाविक मात्र होइन, रहस्यमय छन्। त्यसले कांग्रेसलाई अहिलेसम्म भुमरीमा पारेको छ। यसको गम्भीर समीक्षा र गहन विश्लेषण गर्ने काम महासमितिमा हुनुपथ्र्यो, त्यो हुन सकेन ।
पराजय भुलेर महासमितिमा मस्तस्थानीय चुनावमा जे परिणाम भोग्यो, त्यसबाट कांग्रेस अलिकति पनि झस्किएन । त्यसको कुनै समीक्षा गरेर सतर्कता अपनाएन र सम्भावित क्षति न्यून गर्ने रणनीति पनि बनाएन। त्यो भएको भए प्रदेश र संसद्को चुनावमा त्यस्तो हालत हुने थिएन। परिपक्क तयारी तथा रणनीतिबिना कांग्रेस चुनावमा ढुक्क भएर रमाउन खोज्यो, प्रदेश र संसदीय चुनावमा कांग्रेसले नसोचेको पराजय भोग्नुपर्यो।
कांग्रेसको पराजयलाई लिए मुलुकव्यापी बहस भयो। तर स्वयम् कांग्रेसभित्र संस्थागत छलफल र समीक्षा भएन। तत्काल महासमिति बोलाएर समीक्षा गर्नुपथ्र्याे, जनतासमक्ष जानुपथ्र्याे तर त्यसतर्फ नेतृत्वको ध्यान पटक्कै गएन। वर्ष दिन कांग्रेसले आराम गर्यो र आन्तरिक किचलोमै अल्झियो। महासमिति डाक्न पनि एक वर्ष लाग्यो। स्थानीय, प्रदेश र संसद्को चुनावमा भोग्नुपरेको पराजय भुलेर कांग्रेस महासमितिमा पनि मस्त देखियो ।
धरातल बिर्सेर कम्युनिस्टसँग रमाउँदाआफ्नो सैद्धान्तिक धरातल भुलेर कम्युनिस्टसँग रमाउन खोज्दा कांग्रेसले पटकपटक नोक्सानी बेहोर्नुपरेको छ। कम्युनिस्टसँगको सहकार्यमा कांग्रेसले लिएका कतिपय मुभहरु निकै अस्वाभाविक मात्र होइन, रहस्यमय छन्। त्यसले कांग्रेसलाई अहिलेसम्म भुमरीमा पारेको छ। यसको गम्भीर समीक्षा र गहन विश्लेषण गर्ने काम महासमितिमा हुनुपथ्र्यो, त्यो हुन सकेन ।
कम्युनिस्टसँगको सम्बन्धलाई सही रूपमा बुझ्न र उपयोग गर्न नसक्दाको परिणाम हो कांग्रेसको अहिलेको हालत। कम्युनिस्टहरूले कांग्रेससँगको सहकार्य र सम्बन्धमा रणनीतिक रुपमा खेल्दै आएका छन् तर कांग्रेस भने कम्युनिस्टसँगको सहकार्यमा रमाउनमै सीमित छ ।
दोस्रो संविधानसभामा सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले एमालेसँग मिलेर सरकार बनायो । सुशील कोइराला नेतृत्वमा १८ महिना राम्रोसँग गठबन्धन सरकार चल्यो, त्यही गठबन्धनबाटै संविधान सम्भव भयो । त्यतिबेला माओवादी केन्द्र साइजमा थियो, उसमा ठूलो महत्त्वाकांक्षा थिएन । तर संविधान जारी भएपछि एमालेसँगको सहकार्य कांग्रेसले तोड्यो ।
यसमा कुनै तर्क, कारण र मुद्दा थिएन । यो नै कांग्रेसको ठूलो भूल थियो । त्यसपछि राजनीतिमा सत्ता केन्द्रित अस्थिरताको नयाँ शृंखला सुरु भयो। राजनीतिका चतुर खेलाडी प्रचण्ड त्यहींबाट 'मुभ' गर्न थाले। एमाले र कांग्रेससँगको सम्बन्धमा रणनीतिक रुपमा चल्न र खेल्नका लागि प्रचण्डलाई अनुकूल आधारभूमि यही घटनाक्रमले सिर्जना गरिदियो ।

कांग्रेसलाई बाहेक गरेर केपी ओली नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने 'डिजाइन' प्रचण्डले तयार गरे । वर्ष दिन पनि नपुग्दै एमालेसँग रातारात सम्बन्ध तोडेर प्रचण्ड फेरि कांग्रेससँग जोडिए । प्रचण्डको यो 'मुभ' सत्ताको स्वार्थ र सनकबाहेक केही थिएन । ओलीसँग 'रातारात डिभोर्स' गरेर भागेका प्रचण्डलाई 'रेड कार्पेट' बिछ्याउनु कांग्रेसको गल्ती थियो, जुन सत्यलाई पछिल्ला घटनाक्रमले पुष्टि गरिसकेको छ। माओवादीको रणनीतिक चाल र सत्ता केन्द्रित राजनीतिलाई राम्रोसँग विश्लेषण नगरीकन कांग्रेसले एमालेविरुद्ध नयाँ गठबन्धन तयार गर्यो र प्रचण्डलाई प्रधानमन्त्री बनाइदियो ।
स्थानीय चुनावमा कांग्रेसले माओवादीसँग तालमेल गर्ने भन्यो । त्यसमा सघन गृहकार्य तथा छलफल भएन । मापदण्ड र मर्यादा तय गरिएन । चुनावी गठबन्धनको मोडालिटी बनाइएन । हचुवाका भरमा मनोमानी रुपमा यसलाई व्याख्या र प्रयोग गरियो । माओवादीले प्रचण्डपुत्री रेणु दाहाललाई चितवन महानगरको मेयरमा जितायो, अन्य ठाउँमा पनि लाभ लियो । तर कांग्रेसलाई कतै पनि फाइदा भएन । उल्टै माओवादीसँग अप्राकृतिक गठबन्धन गरेर आफ्नो लोकतान्त्रिक छवि धमिल्याएको र कार्यकर्ताको मनोबल कमजोर बनाएको आरोप कांग्रेसले खेप्नुपर्यो ।
संसद् तथा प्रदेशको चुनावको मुखमा माओवादी सरकार नछोडीकन सुटुक्क एमालेसँग चुनावी गठबन्धन गर्यो । प्रचण्डको यो सम्भावित 'मुभ' बारे कांग्रेसको इन्टेलिजेन्सले अनुमान पनि लगाउन सकेन । राजनीतिमा अस्थिर चाल चल्ने चतुर प्रचण्डबाट कुनै पनि बेला धोखा र बेइमानी हुनसक्ने विश्लेषण गरेर त्योअनुरुप आफूलाई तयार गर्ने र रणनीति बनाउने काममा कांग्रेस चुक्यो ।
माओवादीलाई शान्ति प्रक्रियामा सहभागी गराएर सम्मानजनक राजनीतिक हैसियत प्रदान गर्नमा कांग्रेसले निर्णायक भूमिका खेल्यो । जतिबेला केपी शर्मा ओली राजनीतिको 'कोर सिन' मा थिएनन्, रिङबाहिर नै थिए । तर आज उनै केपी ओली माओवादीलाई उपयोग गरेर राष्ट्रिय राजनीतिको हिरो बन्न खोज्दैछन् भने कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिमा पूरै खुम्चिएको छ।
दुई तिहाइको कम्युनिस्ट सरकारप्रति व्यापक निराशा र असन्तोषबीच आयोजित महासमिति कांग्रेसको शुषुप्त भूमिकालाई पुनर्जागृत गर्ने एउटा महत्त्वपूर्ण मौका थियो। सरकारका बद्मासी एवं नीतिगत भ्रष्टाचारका विषयमा विशेष प्रस्ताव ल्याएर मुलुकको माहोल नै तरंगित गर्ने एउटा अवसर कांग्रेसले खेर फालेको छ।
विरासतको भ्रम र कमजोर 'ब्रान्ड'
कांग्रेस प्रजातन्त्रका लागि २००७ सालअघिदेखि निरन्तर लडेको पुरानो शक्ति हो । २००७ को जनक्रान्ति, २०४६ सालको जनआन्दोलन २०६३ को महत्त्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व यही पार्टीले गरेको छ । नयाँ संविधान लेखन, शान्ति प्रक्रिया, संविधान कार्यान्वयन जस्ता ऐतिहासिक कार्यभार कांग्रेसकै अगुवाइमा सम्पन्न भएका छन् ।
यी सबै योगदान, पृष्ठभूमि र गौरवमय विरासत हुँदाहुँदा पनि कांग्रेसलाई मतदाताले किन जिताएनन् भन्ने प्रश्न महत्त्वपूर्ण छ । विरासतको भ्रममा रमाउनुभन्दा ब्रान्ड बलियो बनाउनेतर्फ लाग्नुपर्ने शिक्षा पनि गएको चुनावी नतिजाले दिएको थियो। इतिहासको विरासतभन्दा पनि नयाँ पुस्ताले कांग्रेसमा 'ब्रान्ड' खोजिरहेको छ। त्यो कांग्रेसले विकास गर्न सकेन। त्यसतर्फ महासमितिको खासै चासो देखिएन।
पछिल्लो समय कांग्रेसमाथि वैचारिक धारमा धरमराएको आरोप लाग्न थालेको छ । अरुको एजेन्डा बोकेर आफ्नो मौलिक चरित्र र छवि गुमाउँदै गएको चिन्ता कांग्रेसका शुभचिन्तकबाट व्यक्त हुँदै आएका छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता कांग्रेसका मौलिक एजेन्डा थिएनन् । माओवादीले उठाएका यी एजेन्डामा समयको वेगसँगै कांग्रेस पनि लतारिएको अवस्था थियो । तर यी एजेन्डालाई निष्कर्षमा पुर्याउन कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्र्यो । यसमा जस कांग्रेसले लिन सकेन। कांग्रेस एजेन्डाविहीन जस्तो देखियो । यो अवस्था अन्त्य गरेर कांग्रेसले आफ्नो वैचारिक धार स्पष्ट गर्नुपर्छ। पाइलैपिच्छे असन्तुलन तथा विचलन देखिनु हुँदैन । महासमितिले यी कुरामा ध्यान दिन सकेको देखिएन।
पद्धति कमजोर, पात्रहरू हाबी
पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा पार्टीको संस्थागत भूमिका र हैसियत कमजोर हुँदै गएको अनुभव कांग्रेसीजनले गर्न थालेका छन् । राष्ट्रिय मुद्दामा कांग्रेसको प्रस्तुति, बहस तथा अडान प्रभावकारी हुन सकेन। कांग्रेसमा एउटा संस्थाका रुपमा पद्धति जसरी बलियो हुनुपथ्र्याे, पछिल्ला दिनमा त्यो कमजोर हुँदै गएको छ। व्यक्ति केन्द्रित राजनीति र गुटगत स्वार्थ हाबी भएको छ। संस्थागत निर्णय र संगठित दृष्टिकोणभन्दा केही वरिष्ठहरूको निजी प्राथमिकता र तजबिजमा कांग्रेस चल्यो । तदर्थवाद हावी हुँदै गयो, संस्थागत संरचनाहरू प्रभावकारी भएका छैनन् अर्थात तीनलाई काम गर्न दिइएको छैन।
कोइराला परिवारको लामो विरासत 'ब्रेक' गरेर कांग्रेसको नेतृत्व समाल्दा शेरबहादुर देउवासँग जुन खालको आकर्षण र अपेक्षा थियो, त्यसअनुरुप राष्ट्रिय राजनीतिमा उनको भूमिका प्रभावकारी देखिएन । देउवाले कांग्रेसको बागडोर समालेपछि उनको प्राथमिकतामा पार्टीको संस्थागत विकास र संगठन सुदृढीकरण पर्न सकेन। कांग्रेस सानेपामा होइन, बूढानीलकण्ठतिरै बढी अल्झिन थालेको गुनासो आम कार्यकर्ताबाट आइरहेको छ।
विरासतको भ्रममा रमाउनुभन्दा ब्रान्ड बलियो बनाउनेतर्फ लाग्नुपर्ने शिक्षा पनि गएको चुनावी नतिजाले दिएको थियो। इतिहासको विरासतभन्दा पनि नयाँ पुस्ताले कांग्रेसमा 'ब्रान्ड' खोजिरहेको छ। त्यो कांग्रेसले विकास गर्न सकेन। त्यसतर्फ महासमितिको खासै चासो देखिएन।
अन्त्यमा,
जोसुकै पात्र जतिबेला पनि छिरेर रमाउन र रबाफ देखाउन सकिने खुला क्लब बन्यो कांग्रेस। न सदस्यताको मापदण्ड, न सिद्धान्तको ख्याल, न नीतिको निसाना, न नेतृत्वको नजर, न मिहिनेत तथा योगदानको हिसाबकिताब । कांग्रेस भद्रगोल नै भयो । यस्ता थुप्रै गुनासा महासमितिभर पनि गुन्जिए । तर त्यसलाई सम्बोधन गरेर सच्चिन नेतृत्व तयार देखिएन।
कांग्रेसलाई सुधार्न स्पष्ट नीति, बलियो नियम, प्रखर नेतृत्व, सही निसाना चाहिएको छ। कांग्रेसका नीति अर्थात् लाइनबारे नेतृत्व तहदेखि कार्यकर्ता तहसम्म भ्रम छ, वैचारिक स्पष्टता छैन। आन्तरिक नियम र अनुशासन निकै कमजोर छ । कसैले कसैलाई टेर्ने र मान्ने अवस्था छैन । नेतापिच्छे गुट छन्। सामान्य असन्तुष्टि तथा असहमतिलाई पनि सामाजिक संजालमा स्टाटस ठोकेर बढीभन्दा बढी 'कमेन्ट' र 'लाइक' बटुल्ने अराजक प्रवृत्ति हाबी भएको छ । नेतृत्व कमजोर, सुस्त र प्रभावहीन छ।
क्रियाशील दलसँग एउटा मिसनसहित निसाना हुनुपर्छ। कांग्रेससँग अहिले न कुनै मिसन छ न त कुनै निसाना। ऊ मैदानमा गोल हान्न नसक्ने एउटा कमजोर र औसत खेलाडीजस्तै बनेर अलमलिइरहेको छ। भाग र भाग्यमा आएको खाने बाहेक पछिल्लो समय कांग्रेसले आफ्नै मेहनत र योजनामा केही प्राप्त गर्न सकेको छैन । ऊ कहिले भाग कुरेर बस्यो त कहिले भाग्यको पर्खाइमा अल्झियो। संगठन बनाउने, कार्यकर्तालाई संगठित गर्ने, जनतासामु जाने, नीति र विचारलाई अद्यावधिक तथा स्पस्ट गर्नेतिर उसको ध्यान नै गएन।
कांग्रेस थेत्तर भइसकेको छ। संगठनमा कुनै जीवन छैन, कार्यकर्तामा जाँगर र उत्साह मरेको छ । गुनासो, आक्रोश, निराशा व्याप्त छ । कुनै प्रशिक्षण तथा कार्यक्रम छैन, कार्यकर्तालाई तरंगित गर्ने कुनै अभियान छैन। नेताहरू पद्धति विकास र संगठन सुदृढीकरणभन्दा पनि गुट र गोप्यतिर बढी व्यस्त छन्।
गएको चुनावमा मतदाताले कांग्रेसलाई हराएका मात्र थिएनन्, सच्चिन र बलियो बन्न कांग्रेसलाई अवसर प्रदान गरेका थिए। यसबाट कांग्रेसले शिक्षा लिएर आफूलाई पुनर्जागृत र पुनर्संरचना गर्ने तत्तपरता कांग्रेसले यो महासमितिमा पनि देखाएन । कांग्रेसले विगतका भूल समीक्षा गरेर शिक्षा लिएन र आफूलाई सच्चाएन भने आगामी यात्रा उसका लागि अझ् पीडादायक हुने संकेतहरू देखिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४