आइतबार, असार ८, २०८२

बूढो कांग्रेस र युवा सपना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कांग्रेस महासमिति बैठकले मूलतः चार कुरा ‘मिस’ गर्‍यो । पहिलो, कोइराला परिवारको वंश परम्परा । दोस्रो, बिपीको चिन्तनधारा । तेस्रो, राजनीतिक इतिहास । चौथो, नयाँ पुस्ताको सिर्जनशीलता । 

कांग्रेस इतिहासमा कोइराला परिवारको आफ्नै योगदान छ । जस्तै : दुःखमा पनि धीर गम्भीर कोइराला परिवार र त्यसको ‘एलिटनेस’ ले मूलतः कांग्रेस पार्टीको ‘डिएनए’ निर्माणमा सबैभन्दा धेरै भूमिका खेल्यो । उनीहरूकै कारण हुनुपर्छ कांग्रेसले सम्भवतः नाम र बदनाम दुवै कमायो । ७० वर्ष बित्यो । अहिले कांग्रेसमा कोइराला परिवारको वंश परम्परामा क्रमभंग भएको छ । स्वभावतः यो क्रमभंगताले कांग्रेसको नाम र बदनामको इतिहास पनि सकिँदैछ । यस्तो लाग्छ, आजका लागि ‘गुमनामी’ नै कांग्रेसको सबैभन्दा ठूलो संकट हो ।

कांग्रेसको महासमिति बैठक सकियो । महासमितिको बैठक आयोजना हुनु र सकिनु यस्तो भयो मानौं कि एउटा कर्मकाण्ड सकियो । देउवालाई हाइसन्चो भयो । गुट–उपगुटलाई आआफ्ना बूढा सपना र अहंकार पोख्न मौका मिल्यो । सायद सहभागीलाई पनि मजै हुनुपर्छ । अनेक फुटकर प्रहसन र परिहास भए । हास्नका लागि अनेक कर्मकाण्ड चल्यो । तर गम्भीर परिणाम चाहनेहरूलाई बैठकले के दियो ? बिपी चिन्तन र समाजवादको कुरा गर्नेहरूलाई बैठकले कसरी आश्वस्त पार्‍यो ? बैठकले गतिहीनता चिर्न सकेन । नेपालका सबैभन्दा योग्य भनिएका राजनेता बिपीको पार्टीमा वैचारिक शून्यता र राजनीतिक संकट ? बिपीलाई ‘मिस’ गर्न अरू के चाहियो ?

सयौं आन्दोलनले बनेको पार्टी हो कांग्रेस । यसको इतिहास सुन्दर छ । तर अबको राजनीतिक गन्तव्य के हो ? यति साधारण तर अनिवार्य प्रश्नमा बैठकले कुनै योगदान गर्न सकेन । न त बैठकमा प्रदीप गिरी बोलेको सुनियो, न त समाजवाद, सामाजिक न्याय र लोकतन्त्रका लागि उल्लेख्य आह्वान नै भयो । राजनीतिक दस्ताबेज आफैं निरासाजनक त थियो नै निर्णयहरूमा कुनै इतिहासबोध देखिएन । राजनीतिक कार्यभारमा यति धेरै अलमल सायद कांग्रेस इतिहासमा कहिल्यै थिएन ।

भन्नुपर्दैन फेरि पनि कांग्रेसको युवा पुस्ता यो बैठकमा कतै दृष्टिगोचर भएन । प्रदीप, धनराज, गगन, विश्वप्रकाशजस्ता युवाको न त पकड देखियो न त बूढाहरूको आत्मसमीक्षा । बूढा पुस्ताको तिक्तता, गनगन, गुटको आग्रह पूर्वाग्रह छिचोल्ने र पार्टीलाई नयाँ शिराबाट अगाडि लैजाने ऊर्जा भएका युवा या त कांग्रेसमा छैनन् अथवा जो छन् सबै हुतिहारा छन् ? यो प्रश्न भुइँका कांग्रेसीको हो । उनीहरू निकै निराश देखिन्छन् ।  

यी चारवटा प्रश्नहरूको निष्कर्ष बन्छ कि कांग्रेस माहासमिति बैठक आयोजना भयो र सकियो । यसले नेपाली राजनीतिमा नयाँ आसाको रचना गर्न सकेन । आफ्नो धर्म पूरा गर्न नसक्ने कांग्रेसलाई नेपाली राजनीतिले भविष्यमा केकस्तो भूमिका देला ? वा इतिहासको गर्तमा सबै कुरा मधुरो हुँदै जाला ? आजका लागि आशंका यही नै हो ।

धर्म चर्चा

थोरै कांग्रेसको धर्म के हो परिचर्चा गरौं । चाणक्य भन्छन्, ‘जीवन्तं मृतवन्मन्ये देहिनं धर्मवर्जितम्, मृतो धर्मेण संयुक्तो दीर्घजीवी न संशयः’ अर्थात् ‘धर्मबाट विमुख मान्छे मृतवत् हुन्छ ।’ मान्छे र राजनीति कहिलेकाहीं एउटै नियतिको सिकार हुन पुग्छन् । त्यसैले त धर्मबाट विमुख पार्टी पनि मृतवत् बन्छन् । धर्म र मृत्युको यस्तो शाश्वत सम्वन्ध धेरैमा लागू हुन्छ । घामले प्रकाश नदिए, रुखले छहारी नदिए, बादलले वर्षा नदिए, मान्छेले प्रेम नदिए र राजनीतिले समृद्धि नदिए, मान्नुपर्छ यिनीहरूको धर्म सकियो । 

के नेपाली कांग्रेसले इतिहासमा आफ्नो धर्म पूरा गर्‍यो ? धेरै मान्छे यस्ता प्रश्नको नकारात्मक जबाफ दिन्छन् । उनीहरूको कथन छ, कांग्रेसले धर्म थामेको भए ‘देश यति धेरै जीर्ण र दरिद्र रहने थिएन ।’ त्यसैले त कांग्रेसका आलोचकहरू भन्छन्, ‘यो पार्टीको आत्मा मरिसक्यो ।’ आजको कांग्रेस हाड र छालाको मृतदेह मात्र हो । सम्पन्न माहासमितिको बैठकले पनि यसमा वैचारिक तथा राजनीतिक सुन्दरता थप्न सकेन ।  

मेरा एकजना परिचित छन् । गाउँमा बस्छन् । उनी बिपी पुस्ताका अन्तिम साक्षी हुन् । त्यसैले उनी नेपाली कांग्रेसका भीष्मपितामहजस्ता लाग्छन् । न पद, न प्रतिष्ठा, न आकांक्षा, न जीजीविषा । तर पनि उनको गजब आस्था छ कांग्रेसमा । आशावादी पनि छन् । तर यसपटकको महासमिति बैठकले उनलाई कुनै उज्यालो दिएन । सधैंझैं मैले सोधें-काका किन चुपचाप ? आफ्नी कुलवधु द्रौपदीको चीरहरण हुँदा चुपचाप बनेका भीष्मपितामहझैं थिए उनी । शान्त स्वरमा जबाफ दिए ‘कांग्रेस अब सकियो बाबु ।’  

उनले भने, ‘कांग्रेसमा आस्था राख्नुपर्ने कुनै ठाउँ रहेन । कुनै मूल्यमान्यता रहेन । त्यसैले कांग्रेस मर्‍यो र त्यसको गर्भबाट लठांग्रेस जन्मियो’ । पहिले पनि कुनैकुनै बेला उनि यस्तै जबाफ दिन्थे । उनले नै अर्थ दिए ‘लठांग्रेस’ माने लठैतहरूको कांग्रेस । 


 

सयौं आन्दोलनले बनेको पार्टी हो कांग्रेस । यसको इतिहास सुन्दर छ । तर अबको राजनीतिक गन्तव्य के हो ? यति साधारण तर अनिवार्य प्रश्नमा बैठकले कुनै योगदान गर्न सकेन । न त बैठकमा प्रदीप गिरी बोलेको सुनियो, न त समाजवाद, सामाजिक न्याय र लोकतन्त्रका लागि उल्लेख्य आह्वान नै भयो ।


मान्छेहरू सोच्थे, कांग्रेसमा संस्थापन भनेको कोइराला ‘खेमा’ हो । अब कोइरालाहरू रहेनन् । त्यसैले  शेरबहादुर र रामचन्द्र दुवै संस्थापन हुन पुगेका छन् । किनभने उनीहरू कुनै अलग वैचारिक ध्रुवीकरण र धारमा छैनन् । कांग्रेसमा विचारको बहस, लोकतन्त्रको नयाँ प्रस्ताव र प्रणालीगत प्रश्नमा कसैको फरक मत भेटिँदैन । जे छ व्यक्ति र सत्ताको रस्साकस्सी छ । यसरी हेर्दा त्यहाँ विचार र व्यवहारले सबै संस्थापन छन् । त्यसैले कांग्रेस संस्थापनहरूको पार्टी हो । जहाँ थोरै मान्छेमात्र बागी छन् । विचारका बागी । प्रदीप गिरीहरू भएको पार्टीमा ‘विचारशून्य महासमिति’ देख्दा बागी विचारहरू पनि मर्दैछन् कि जस्तो लाग्छ । यो निकै दुःखद अनुभूति हो । 

कांग्रेसले केही प्रश्नमाथि विचार गर्दा राम्रै हुन्थ्यो । जस्तो पहिलो कुरा ‘विचार’ नै हो । आजको कांग्रेस कुन विचारबाट निर्देशित छ ? बिपी कोइरालाका अनुसार कांग्रेस मध्यवामपन्थी पार्टी हो । आफ्नो जेल डायरी ‘फेरि सुन्दरीजल’ मा उनले कांग्रेसलाई मध्यवामपन्थी भनेका छन् । सायद बिपीले वामपन्थको तत्कालीन विश्वव्यापी प्रभाव बुझेका थिए । तर पूरा वामपन्थ उनलाई स्वीकार्य थिएन । त्यसैले उनले भने मध्यवामपन्थ । 

मध्यवामपन्थ भनेको न त वामपन्थ हो न त उग्रवामपन्थ न त दक्षिणपन्थ हो । सायद यो बिपीले आफ्ना कार्यकर्तालाई दिन चाहेको ‘भ्रम’ हो । भारतीय समाजवादी नेताहरू आचार्य नरेन्द्रदेव, राममनोहर लोहिया, जयप्रकाश नारायण आदिको बिपीमा गहिरो प्रभाव थियो । यही प्रभावमा बिपीले भने कांग्रेस प्रजातान्त्रिक समाजवादी पार्टी हो । यसरी कांग्रेस मध्यवामपन्थी, प्रजातान्त्रिक र समाजवादी भयो । तर के आजको कांग्रेस प्रजातान्त्रिक वा लोकतान्त्रिक पार्टी हो ? के कांग्रेस समाजवादी छ ? के उसको व्यवहारले कांग्रेसलाई मध्यवामपन्थी देखाउँछ ? 

कांग्रेसले विचार र व्यवहारका अनेकौं विरोधाभासलाई आफ्नो विरासतमा लिएको छ । जसबारे न त आजका नाति कांग्रेसलाई थाहा छ न त हजुरबा कांग्रेसहरू यो कुरा उनीहरूलाई बुझाउन चाहन्छन् । त्यसैले बोल्नुपर्ने युवाहरूले हो । युवाहरूले स्पष्ट बोलून् उनीहरू कता जान चाहन्छन् ? अथवा हजुरबाहरूले भनून् उनीहरू कता लैजान चाहन्छन् ? अथवा हुनु एउटा र भन्नु अर्कोको भ्रम चिर्न सके कांग्रेसले सबैका लागि भलो गरेको ठहथ्र्यो । अन्यथा इतिहासको गौरवले मात्र भविष्यको उज्यालो सुनिश्चित हुँदैन । 

तथ्यहरूको कठघरामा

तथ्यहरू आफैंले बताउँछन् कांग्रेस न मध्यवामपन्थी हो, न लोकतन्त्रवादी न त समाजवादी । पहिलो कुरा यो आधुनिक नेपाली राजनीतिको ७० वर्षे इतिहासमा ४० वर्ष मूलधारमा रह्यो । त्यसैले यो नेपालको संस्थापन  हो । संस्थापनमा बस्नेहरू वामपन्थी, मध्यवामपन्थी केही पनि हुँदैनन्, हुन्छन् संस्थापन मात्र । 

दोस्रो कुरा जगजाहेर छ, कांग्रेसको प्रजातन्त्र भोटको खेतीपाती मात्र हो । यस्तो प्रजातन्त्रलाई राजनीतिक अभियन्ताहरू औपचारिक प्रजातन्त्र मान्छन् । भोटहाल्ने प्रजातन्त्र । तर आजको प्रजातन्त्र (लोकतन्त्र) त्यो भन्दा धेरै व्यापक, विस्तारित र गहिरो हुँदैछ । लोकतन्त्रको यस्तो व्यापकताबारे कांग्रेस बुझ पचाउँछ । स्पष्ट छ, कांग्रेस परम्परागत छ । संकुचित प्रजातन्त्र उसको सीमा हो । 

त्यसो त यसले आर्थिक न्यायलाई पनि कहिल्यै विचार गरेन । खुला बजारको हिमायती कांग्रेसले जहिल्यै राज्यलाई सामाजिक उत्तरदायित्वबाट विमुख गर्दै लग्यो । २००६ सालमा जारी गरिएको नेपाली कांग्रेसको घोषणपत्रमा भनिएको छ, ‘कांग्रेस खेतमा काम गर्नेहरूको एक मात्र प्रतिनीधि र हित ठान्दछ ।’ तर व्यवहारमा कांग्रेसले न त भूमिसुधारबारे बोल्यो न त मोहियानी हकका लागि काम गर्‍यो । दलित, महिला, जनजाति, अल्संख्यक समुदाय र कामदार वर्गका समस्यालाई कांग्रेसले कहिल्यै सुनेन । उल्टो कम्युनिस्टहरूलाई तीव्र प्रतिक्रिया दिइरहँदा यो पार्टी बिस्तारै सर्वहारा शब्दकै विरोधी र कट्टर पुँजीवादी पार्टी बन्यो । 

त्यसैले पछिल्लो समय नेपालको संविधान ०७२ मा लेखिएको समाजवाद शब्दप्रति नै कांग्रेसले शंका जनाएको थियो । एउटा समाजवादी पार्टीले समाजवादमाथि शंका किन गर्छ ? सायद कांग्रेस विचार र व्यवहारको सनातनी कन्फ्युजनमा छ । यो चारित्रिक दुर्बलता हो । ठूलो पार्टीमा निरन्तर देखिएको चारित्रिक दुर्बलताकै कारण देशमा न त लोकतन्त्र संस्थागत भयो न त सामाजिक न्याय नै । यसर्थ मुलुक नबन्नुका यावत् दोषहरूको पहिलो भागीदार कांग्रेस हो । यसमा कांग्रेसले जनतासँग क्षमा याचना गरेर आफ्नो समग्र पुनर्गठन प्रक्रिया प्रारम्भ गर्दा राम्रो हुन्थ्यो । अन्यथा पुराना नेता, पुरानो विचार, पुरानो शैलीले नयाँ युगलाई हाँक्न सक्दैन । 

कांग्रेसले विचार गर्नैपर्ने दोस्रो कुरा आन्तरिक लोकतन्त्र र सुशासन हो । यी विषय उसका लागि मात्र हुन्थे त ‘कांग्रेस खत्तम होस् हामीलाई के मतलब’ भन्न सकिन्थ्यो । तर पार्टीहरू राम्रा हुन लोकतन्त्र निर्माणकै महत्त्वपूर्ण काम हो । यसर्थ कांग्रेसभित्रको लोकतन्त्र र सुशासन जनताको सरोकारको विषय हो । 

सबैलाई थाहा छ, कांग्रेस दुई पार्टीहरूको मोर्चा जस्तो छ । सभापति र वरिष्ठ नेतामा ६० : ४० को भागबन्डा हुन्छ । कार्यकर्ताहरू पार्टी कार्यालयभन्दा देउवा र पौडेल निवास धाउँछन् । भ्रष्टाचारमा जेल जानेहरू फूलमालासहित निस्कन्छन् र नेता हुन्छन् । आज पनि कांग्रेसको आन्तरिक राजनीतिमा दण्डहीनता तीव्र छ । संस्थागत निर्णय गर्ने परिपाटी छैन । यो के भएको ? आन्तरिक लोकतन्त्र, सुशासन र जबाफदेहिताबिनाको कांग्रेस सत्ता ओगट्न मात्र उपयोगी हुन्छ । मुलुक बनाउन यस्तो पार्टीले सक्दैन । त्यसैले धेरैको अपेक्षा छ कि आन्तरिक लोकतन्त्र, सुशासन र जबाफदेहिताबारे कांग्रेसमा चर्काचर्की हुनुपर्छ । तर बोल्नुपर्ने कुरामा नबोल्ने र नबोल्नुपर्ने कुरामा रडाँको गर्ने महासमितिले यसपालि पनि नयाँ सन्देश दिएन । 

सबैले मानेको कुरा छ नेपाली राजनीतिको एउटा युग सकियो । अर्को युगको स्वागत कांग्रेसले कस्ता विचार, कस्तो नेतृत्व र कस्तो प्रणालीबाट गर्दैछ ? यी प्रश्नहरूमा कांग्रेसको अझै गतिलो कार्यनीति देख्न पाइएको छैन । अन्यथा आफू ‘पुरानो पार्टी’ भन्ने जमाना रहेन । अब त आफू ‘नयाँ र सृजनशील’ हुँ भन्ने तथ्य पो चाहिन्छ । कांग्रेसले बिपीलाई आफ्नो आदर्श मान्दछ । तर आदर्श मात्रले गरिखाँदैन । यसलाई व्यवहारबाट प्रमाणित गर्नुपर्छ । सायद व्यवहारबाट पुष्टि गर्ने अनेकौं अवसर हिजो कांग्रेसले गुमायो । यस्तो नहोस् कि यो अवसर सधैँ सधैँका लागि गुमोस् । अन्यथा उपादेयताविहीन कांग्रेस पुरानो र ठूलो हुनुले मात्र राजनीतिमा उसको सान्दर्भिकता स्थापित हुँदैन । 

बिपी कोइरालाले सन् १९५९ जुन ३० मा आफू प्रधानमन्त्री भएपछि जनताका नाममा पहिलो ऐतिहासिक सम्बोधन गरे । सम्बोधनमा उनले प्रश्न गरे-के आजको ऐतिहासिक क्षणमा हामी आफ्नो स्वार्थ, संकीर्णता र दुर्बलता त्यागेर नियतिको वाणीलाई सुन्न सक्छौं ? आजका कांग्रेसीहरूलाई पनि बिपीको यो प्रश्न सान्दर्भिक हुन्छ । यो प्रश्नले परम्परावादको अन्त्य चाहन्छ । आजका दिन म पनि बिपीसँगै उही प्रश्न फेरि दोहोर्‍याउन चाहन्छु । के बीपीको यो प्रश्नलाई कांग्रेसले सुन्ला ? मलाई लाग्छ, कांग्रेसमा यस्तो आवाज सुन्ने शक्ति, सपना र सामथ्र्य छैन । मेरा कांग्रेसी युवामित्रहरू ! कृपया मलाई झुटो साबित गरिदिनुहोला ।   

लेखकसँग सम्पर्कका लागि [email protected]

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...