काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले चिनी उद्योगीहरुलाई नाफा धेरै नखान आग्रह गरेका छन्।
बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले अनुदान कटाएर चिनीको मूल्य निर्धारण हुनुपर्ने बताए। ‘चिनीमा राजस्व बढाएर अथवा आयात निषेध गरेर मात्रै समस्या समाधान हुँदैन,’ उनले भने।
राज्यबाट अनुदान पाएका उद्योगी व्यवसायीले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने उनले बताए। ‘अघिल्लो सिजनको उखु किसानलाई तिर्नुपर्ने रकम आउँदो क्रसिङ अगाडि नै बुझाइसक्नुपर्छ’, उनले भने।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले मूल्य अभिवृद्धि कर फिर्ताबापत ९२ करोड रुपैयाँ चिनी उद्योगी तथा किसानलाई भुक्तानी गरिसकेको जानकारी दिए।
उखु किसानलाई एक अर्ब १३ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा अझै करोडौं रकम बाँकी रहेको कृषि मन्त्रालयको भनाइ छ।
बैठकमा उखु उत्पादक कृषकले गएको वर्षको उखुको करोडौं रकम पाउनुपर्ने बताए। साथै उनीहरुले गएको वर्ष मंसिर तेस्रो सातादेखि नै चिनी मिल सञ्चालनमा आएकोमा यस वर्ष अहिलेसम्म मिल सञ्चालनमा आउन नसकेकोमा दुःखेसो पोखे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४