जनकपुरधाम- सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै मुलुकभरका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । पेसागत स्थायित्वका लागि कर्मचारी समायोजमा सबै सेवा र समूहबीच समान व्यवहार नभएको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।
समायोजन अध्यादेशको विरोध गर्दै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा आन्दोलनमा उत्रेका स्थानीय तहका कर्मचारीले विरोधका चरणबद्ध कार्यक्रम घोषणा गरेका छन् ।
कर्मचारीले सोमबार कालोपट्टी बाँधेर कार्यालयका कामकाज ठप्प पारेका छन् । बिहान १० बजेदेखि १२ बजेसम्म उनीहरुले कामकाज ठप्प पारेपछि सेवाग्रही समस्यामा परेका थिए ।
यसैगरी आन्दोलनरत कर्मचारीहरुले बुधबार बिहान १० बजे देखि २ बजेसम्म र बिहीबार दिउँसो ३ बजेसम्म कामकाज ठप्प पार्ने भएका छन् । यति गर्दा पनि माग सम्बोधन नभएमा पुस ६ गतेदेखि सबै स्थानीय तहका कार्यालयमा कालोपट्टी बाँधी दिनभर कामकाज ठप्प पार्ने चेतावनी संघर्ष समितिले दिएको छ ।
संघर्ष समितिले श्रेणीविहीन कर्मचारीलाई २ ग्रेड थप गर्न, सहायकस्तरका सबै तहका ५ वर्षभन्दा कम सेवा अवधि भएका कर्मचारीलाई २ ग्रेड थप र ५ वर्ष सेवा अवधि पूरा भएकालाई एक तह वृद्धि, ५ वर्ष पूरा भएका सहायक पाँचौं तहलाई अधिकृत छैटौं तहमा बढुवा, ५ वर्ष सेवा अवधि पूरा भएका अधिकृतस्तर छैटौं तहलाई आठौं तहमा बढुवा गर्नलगायतका माग अगाडि सारेका छन् । सरकारले २३ मंसिरमा कर्मचारी समायोजन अध्यादेश २०७५ जारी गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४