काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भैरहवा ग्लाडीयटर्सलाई पराजित गर्दै ललितपुर प्याट्रीयट्स इपिएलको क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा ललितपुरले भैरहवालाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको भैरहवाले दिएको ९३ रनको लक्ष्य पछ्याएको ललितपुरले १४.२ ओभरमा मात्र ४ विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो । ललितपुरका लागि पवन सराफले २५ रन जोडे ।
उनले ३६ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै जय किसन कोल्सावाला २२ रनमा अविजित रहँदा सन्दिप जोरा १८ रनमा अविजित रहे । जय किसनले २७ बल खेल्दै एक चौका प्रहार गरेका थिए भने सन्दिपले १० बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरेका थिए ।
भैरहवाका लागि रायन टेन डोशेचले २ तथा कप्तान शरद भेषवाकर र मोहमद नाभीले समान एक एक विकेट लिए ।
यसअघि भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउदै मात्र ९२ रन जोडेको थियो । भैरहवाका लागि रायन टेन डोशेचले सर्वाधिक ३७ रन जोडे । उनले ३६ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै ३७ रन जोडेका थिए ।
अर्का रबि इन्द्र सिंहले २५ रन जोडे । उनले १५ बल खेल्दै तीन चौका र दुई प्रहार गरे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन छुन सकेनन् ।
ललितपुरका लागि सन्नी पटेलले ४ ओर गर्दै मात्र १२ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै रसिद खानले र योगेन्द्र कार्कीले समान दुई दुई विकेट लिदा ललित राजवंशीले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४