आइतबार, असार ८, २०८२

सेयरधनी कि हामी कारोबारी मात्रै ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अहिले देशमा सबैभन्दा बिकाउ शब्द भनेका 'सेयर' र 'समृद्धि' हुन् । सेयर र सेयरबजार लगानीकर्ताका लागि मात्र होइन, सरकार, राजनीतिक दल, सञ्चारमाध्यम सबैका लागि तातो बहस र चासोको विषय बनेको छ । सरकार सेयरमार्फत समृद्धि खोज्दैछ ।

जनता पनि सेयरमार्फत समृद्धि खोज्दैछन् । फरक यति हो, सरकारले आरक्षण दिएर पूर्वाधार, जलविद्युत्, उत्पादनमूलक उद्योग आदिमा पुँजी जुटाएर उद्योग व्यवसायको विकासबाट थप कर संकलन र केही रोजगारी बढाउँदै समृद्धि खोज्दैछ । बिचरा ! सेयरको सामान्यज्ञान, जोखिम, अधिकार र दायित्व थाहा नपाएका आरक्षित सेयरधनी भने सस्तोमा सेयर किनेर महँगोमा बेचेर समृद्ध हुन खोज्दैछन् । सरकार सेयरधनी बनाएर समृद्ध बनाउँछु भन्छ, जनता सेयरधनी त के लगानीकर्तासमेत बन्न तयार छैनन् । उनीहरू केवल सेयर व्यापारी बन्नुमा मग्न छन् । सेयर, लगानी, सेयरधनी र कारोबारको महत्त्व बुझाउन नसकिएको हो त?

नेपाली बृहत् शब्दकोशअनुसार 'सेयर' भनेको कुनै साझा व्यापारमा लगाइएका सम्पत्तिको भाग वा हिस्सा हो भने सेयर किन्नु भनेको त्यस्तो हिस्सेदारी लिनु हो । त्यसैले सेयर किन्नु भनेको उक्त संस्थाको व्यापार, व्यवसाय, उद्योग सञ्चालन र व्यवस्थापनको जिम्मेवारीसहित लाभ र हानिमा साझेदारी हो । 

धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार पनि साधारण सेयर भनेको कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरवालाहरूलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्र हो । साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरूलाई कम्पनीको स्वामी मानिन्छ । कम्पनीको स्वामीका हैसियतले साधारण सेयरवालाहरूले बढी जोखिम उठाउनुपर्छ ।

साधारण सेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन र कम्पनीले आर्जन गर्ने नाफाको घटबढअनुसार यो पनि घटीबढी हुन सक्छ । अर्काेतर्फ कम्पनीले नाफा आर्जन गर्दैमा साधारण सेयरवालाहरूलाई लाभांश प्राप्त हुन्छ भन्ने हुँदैन अर्थात् साधारण सेयरमा लाभांश दिनैपर्ने बाध्यात्मक अवस्था हुँदैन । तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ । साथै लाभांशका रूपमा कम्पनीले साधारण सेयरवालाहरूलाई बोनस सेयर पनि वितरण गर्न सक्छ । सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिबेन्चरवालाहरू र अग्राधिकार सेयरवालाहरूलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेपछि बाँकी रकम मात्र साधारण सेयरवालाहरूले दाबी गर्न सक्छन् । यस कारण साधारण सेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको छ । बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ता (Aggressive Investor) का लागि मात्र साधारण सेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ ।
लगानीकर्ता र कम्पनी बीचको गहिरो सम्बन्धलाई प्राविधिक र कानुनी सम्बन्धबाट बाहिर ल्याएर परिपूरक र कम्पनीको वास्तविक सेयरधनीका रूपमा सुदृढ बनाउन सके दुवै पक्षको हित हुनेछ । कम्पनीले आफूलाई सहयोग र संरक्षण गर्ने सहयोगी पाउनेछ भने लगानीकर्ताले केही रूपैयाँको पूँजीगत लाभ वा लाभांशका लागि लगानी गर्ने व्यक्तिभन्दा कम्पनीको मालिकका सम्मान र पहिचान पाउने निश्चित छ ।

हालको प्रचलित ब्यवस्थाअनुसार साधारण सेयरको अंकित मूल्य साधारणतः १०० रूपैयाँ छ । कथंकदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व ब्यहोर्नुपर्ने भएमा पनि साधारण सेयरवालाहरूको दायित्व उनीहरूले लगानी गरेको रकमसम्ममै सीमित हुन्छ र आफ्नो घरघरानाबाट व्यहोर्नु पर्दैन ।

नेपाल स्टक एक्सचेन्जले तयार गरेको सचेतना सामग्रीका अनुसार पनि 'साधारण सेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ । किनभने यसमा लाभांशको ग्यारेन्टी गरिएको हुदैन । त्यसैगरी सेयरको बजार मूल्य सधैं बढिरहन्छ भन्ने पनि निश्चित हुँदैन ।'

यसको अर्थ सेयरमा लगानी भनेको मुनाफा मात्र होइन, कम्पनीको व्यावसायिक सफलता र असफलताको जिम्मेवारी एवम् त्यसबाट सिर्जित नाफाघाटामा हिस्सेदारी पनि हो । कुनै पनि व्यवसाय जोखिमपूर्ण हुन्छ र लगानीकर्ता अर्थात् सेयरधनीले सोही जोखिम वहन र व्यवस्थापन गरेबापत प्रतिफलका रूपमा लाभांश प्राप्त गर्दछन् ।

विडम्वना ! नेपाली धितोपत्र बजारमा सूचीकृत भएर कारोबार गरिरहेका कम्पनीहरूको सेयर खरिद गरेका व्यत्तिmिहरू जो आफूलाई लगानीकर्ता त भन्न रुचाउँछन् तर वास्तविक लगानीकर्ताका रूपमा कम्पनीको सञ्चालन र व्यवस्थापनको आधारभूत दायित्व नै लिन चाहँदैनन् । हो, कम्पनीमा हजारौं व्यक्तिहरूले सेयरमार्फत लगानी गर्छन् र सबैजना सञ्चालन तथा व्यवस्थापनमा समान तथा सक्रिय रूपमा सहभागी हुन सम्भव नहोला, तर आफूले धारण गरेको सेयर कित्ताका आधारमा प्राप्त मताधिकारमार्फत चुनेका सञ्चालकहरूमार्फत नै भए पनि कम्पनीको सञ्चालन र व्यवस्थापन जिम्मेवारी अन्ततः सेयरधनीकै हो । जुन कुरा न कम्पनीले लगानीकर्ताहरूलाई बुझाउन सक्यो न त लगानीकर्ताहरूले नै बुझ्न चाहे । आमलगानीकर्ताहरूको बुझाइमा क) कम्पनीहरू आफैं सञ्चालित भई मुनाफा आर्जन गर्दछन्, ख) कम्पनीले सेयर दिन्छ र त्यसमा बोनस पाइन्छ, ग) सेयर किन्ने भनेको सकेसम्म सस्तोमा किनेर महँगोमा बेचेर नाफा कमाउनु हो । कम्पनीहरूले पनि क) आमलगानीकर्ता भनेका केही कित्ता सेयर किनेका व्यक्ति हुन्, र ख) कम्पनीको दायित्व धेरै सेयर किनेका ठूला र संस्थापक लगानीकर्ताहरूको हो भन्ने सोच र व्यवहार प्रदर्शित हुँदै आएको देखिन्छ ।

यसरी लगानीकर्ता र कम्पनीको गलत सोच र व्यवहारले कम्पनीको वास्तविक स्वामित्व लिएका व्यक्तिहरू केवल लगानीकर्ता, अझ सेयर किनबेच गर्ने कारोबारीमा सीमित भएका छन् । कतिसम्म भने दोस्रो बजार (सेयर बजार) बाट सेयर किनेका व्यक्ति मात्र होइन, आरक्षित वा प्राथमिक सार्वजनिक निष्कासनमा सेयर किनेकाहरूसमेत कम्पनीको व्यवसाय, सञ्चालन, मुनाफाजस्ता कुनै पनि विषयमा चासो र जानकारी राख्न आवश्यक ठान्दैनन् । धेरैलाई कम्पनीले केकसरी काम गर्दैछ? कुनै समस्या छ कि? ठिकसँग सञ्चालन भइरहेको छ कि छैन? नियामकीय व्यवस्था, सरकारको उक्त कम्पनीप्रतिको नीतिनियम, आर्थिक वातावरणको प्रभाव कुनै पनि विषयमा चासो राख्दैनन् ।




अरू समयमा कम्पनीको गतिविधिमा सहभागिता र स्वामित्व नलिए तापनि कम्तीमा वार्षिक साधारणसभामा सहभागी हुने, कम्पनीको आर्थिक तथा व्यावसायिक गतिविधिको जानकारी लिने, कम्पनीका लागि सुझाव दिने र सचेत गराउने काम निकै कम लगानीकर्ताले गर्छन् । यसको सीधा अर्थ आफूले लगानी गरेका कम्पनी वा लगानीप्रति नै स्वामित्व नलिएको वा बेवास्ताको अवस्था हो । अझै गैरजिम्मेवारी हो । कम्पनीले बाँड्ने वार्षिक प्रतिवेदनका वित्तीय विवरण, आवश्यकता र प्रस्तावहरूभन्दा बोनस, चियानास्ता र खाजामा रमाउने र बोनस नदिएकोमा हंगामा गरेर हामी सेयरधनी त के कारोबारी पनि हुन सक्दैनौं । बोनस वा हकप्रद कम्पनीको पुँजीको आवश्यकताका आधारमा गराउन छोडेर क्षणिक स्वार्थमा लाग्दा कम्पनी अनि सेयरबजार दुवैलाई हानि पुर्‍याउन सघाइरहेको बिर्सनु हुन्न । 

अर्कोतर्फ कम्पनीहरूले पनि छरिएका लगानीकर्ताहरूलाई अपनत्व दिलाउने, सहभागिता गराउने उत्प्रेरणा र अवसरहरूको सिर्जना कमै गरेको पाइन्छ । साधारणसभामा सबैजनालाई व्यावहारिक रूपमा सहभागी गराउन सम्भव हुँदैन । तर इच्छुक वा केही सेयरधनीहरूलाई भए पनि आफ्नो धारणा राख्न उत्प्रेरित गर्ने र उनीहरूको कुरालाई व्यावहारिक रूपमा कार्यान्वयनको महसुस गराउने काम कमै भएको देखिन्छ । धेरै सेयरधनी भएका कम्पनीहरूले क) सेयरधनी सञ्जाल, ख) सम्पर्क विन्दु, ग) भेटघाट कक्ष, घ) मासिक, त्रैमासिक वा अर्धवार्षिक छलफलजस्ता अनौपचारिक कार्यक्रममार्फत सेयरधनीहरूसँग सम्पर्क र समन्वय राख्ने पद्धतिको विकास गर्न सकिन्छ ।

नेपाल धितोपत्र बोर्डद्वारा जारी 'सूचीकृत संगठित संस्थाहरूको सुशासनसम्बन्धी निर्देशिका, २०७४' को परिच्छेद २ मा सञ्चालक समितिसम्बन्धी व्यवस्थामा अन्य कुराका अतिरिक्त 'संस्थामा सेयर स्वामित्वको अनुपातका आधारमा सबै समूहका सेयरधनीहरूको उचित प्रतिनिधित्व हुने गरी एक सञ्चालक समिति गठन गर्नुपर्ने' उल्लेख छ । यस्तै सञ्चालक समितिको काम, कर्तव्य र अधिकारका रूपमा 'साना लगानीकर्ताको हित संरक्षण गर्ने गराउने' उल्लेख छ । सो निर्देशिकाले साना लगानीकर्ताका रूपमा पाँच हजार कित्तासम्म सेयर लगानी गर्ने तथा चुक्ता पुँजी पाँच लाख रुपैयाँसम्म लगानी गर्ने लगानीकर्ता सम्झनुपर्ने उल्लेख छ ।

कम पुँजी भएका व्यक्तिहरूलाई सेयरधनी बनाउने अभिप्रायले ल्याइएको दसकित्ते बाँडफाँट नीतिले भने कम्पनी र सेयरबजारलाई सघाउने भन्दा नोक्सानी बढी पुर्‍याएको छ । दस कित्ता सेयर सेयरधनी बनाउनभन्दा पनि 'माग्नेलाई खीर' दिएको जस्तो भएको छ । कम्पनीमा अपनत्व लिन भन्दा सूचीकरण भएको केही दिनमा बेचेर केही रुपैयाँ कमाउन उक्साएको देखिन्छ । यसले एकातिर उत्तरदायी सेयरधनी र सञ्चालकको अभाव बनाउने जोखिम र अर्कोतिर कम्पनीको सेयरधनी व्यवस्थापन खर्च मात्र बढ्नेछ । 

कानुनी रूपमा सबै लगानीकर्ताहरूको समान अधिकार र दायित्व भए तापनि सेयरधनी स्वयं र कम्पनीका कारण प्रायः सेयरधनीहरू लगानीकर्तामा खुम्चिएका छन् । यसले कम्पनीहरूले सेयरधनीसँग उपलब्ध ज्ञान, साधन, स्रोत र पहुँचको उपयोग कम्पनीको व्यावसायिक विस्तारमा गर्न सकेको देखिँदैन भने सेयरधनीहरूसेयर किनबेच गर्ने कारोबारीका रूपमा पुँजीगत लाभ वा लगानीकर्ताका रूपमा लाभांशका हकदार मात्र बनेका छन् । हुन त धेरैलाई लाभांशमा चासो हुन्न भने भएकालाई किन, कसरी र कतिको जानकारी कमै हुने गरेको छ । 

लगानीकर्ता र कम्पनी बीचको गहिरो सम्बन्धलाई प्राविधिक र कानुनी सम्बन्धबाट बाहिर ल्याएर परिपूरक र कम्पनीको वास्तविक सेयरधनीका रूपमा सुदृढ बनाउन सके दुवै पक्षको हित हुनेछ । कम्पनीले आफूलाई सहयोग र संरक्षण गर्ने सहयोगी पाउनेछ भने लगानीकर्ताले केही रुपैयाँको पुँजीगत लाभ वा लाभांशका लागि लगानी गर्ने व्यक्तिभन्दा कम्पनीको मालिकका सम्मान र पहिचान पाउने निश्चित छ ।

अन्त्यमा, सेयर किनबेच गर्ने कारोबारीभन्दा लगानीकर्ता हुँदै कम्पनीको सेयरधनी भएर कम्पनीसँगै व्यापार व्यवसायको विकास र विस्तारमा हातेमालो गर्ने वातावरण बनाउन सबैले ध्यान दिनु जरुरी छ । अन्यथा सेयर केवल वस्तु तथा सेवाजस्तो किनबेचको वस्तु र लगानीकर्ता पनि व्यापारीमा सीमित हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...