जनकपुरधाम- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका निर्वतमान संयोजक एवं अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर मंगलबार जनकपुर पुगेका छन्। अध्यक्ष मण्डलका संयोजकबाट हटाइएपछि ठाकुर पहिलो पटक जनकपुर पुगेका हुन्।
रामजानकी विवाहोत्सवमा सहभागी हुन जनकपुर पुगेका ठाकुरलाई कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन्। राजपा कार्यकर्ताहरुले अध्यक्ष मण्डल सदस्य ठाकुरलाई गाडी तथा मोटरसाइकलको लावा लस्करसहित नगर क्षेत्र घुमाएका थिए। ठाकुरलाई स्वागत गर्न पुगेका राजपा कार्यकर्ताहरुले शक्ति प्रदर्शन गरिरहेको भान भइरहेको थियो।
राजपा अध्यक्ष मण्डलका सदस्य ठाकुरलाई स्वागत गर्न अधिकांश तत्कालीन तमलोपाका कार्यकर्ता मात्रै विमानस्थल पुगेका थिए। केहिदिन अघिमात्र पार्टीका अध्यक्ष मण्डलका संयोजक चयन भइसकेपछि जनकपुर पुगेका राजेन्द्र महतोको पनि विमानस्थलमा भव्य स्वागत भएको थियो। महतोलाई स्वागत गर्न तत्कालीन तमलोपाका कमै कार्यकर्ताहरु विमानस्थल पुगेका थिए।
महाधिवेशन हुन केहिदिनमात्र बाँकी छँदा ठाकुरलाई अध्यक्ष मण्डल संयोजकबाट हटाइ महतोलाई संयोजक बनाइएपछि पार्टीभित्रको मनमुटाव छताछुल्ल भएको राजपा कार्यकर्ताहरु नै बताउँछन्। राजपा अध्यक्ष मण्डलका सदस्यहरुको केहिदिनअघि बसेको बैठकले महतोलाई पार्टी संयोजक बनाउने निर्णय गरेको थियो।
विधानमा अध्यक्ष मण्डलको सबै निर्णय सर्वसम्मतीबाट हुनुपर्ने व्यवस्था रहेपनि पछिल्लो निर्णय बहुमतको आधारमा गरिएको भन्दै राजपाका ठाकुर समर्थकहरु रुष्ट बनेका छन्।
तर राजपा अध्यक्षमण्डलका सदस्य ठाकुरले भने पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन्। नेपाल समयसँगको कुराकानीमा ठाकुरले पार्टीभित्र विवाद रहेको हल्ला निराधार रहेको बताए।
अध्यक्ष मण्डलका संयोजक २-२ महिनामा परिवर्तन हुनुपर्ने विधानमै व्यवस्था रहेपनि महाधिवेशनसम्म नेतृत्वगर्न साथीहरुले नै आफूलाई भनेको ठाकुरले बताए।
अध्यक्षमण्डलको निर्णय सर्वसम्मतबाट गर्नुपर्ने व्यवस्था रहेपनि पछिल्लो निर्णय विधानसम्मत नरहेको उनको भनाइ थियो। संयोजक फेरिनु आन्तरिक विषय रहेको भन्दै ठाकुरले यस विषयमा पार्टीभित्र छलफल हुने जिकिर गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४