जनकपुरधाम- जनकपुरमा एक आमाले आफ्नै छोरीको हत्या गरेको आरोप लागेको छ। जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापडा बस्ने ४० वर्षीया राजकुमारी मण्डलले आफ्नै १६ वर्षीया छोरी सोनी मण्डलको हत्या गरेको आरोप लागेको छ।
छोरी हत्याको आरोपमा प्रहरीले आमा राजकुमारीसहित अन्य चारजनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। बुधबार आमा राजकुमारी र छोरी सोनीबीच बेला बेलामा विवाद र झैं-झगडा हुँदै आएको थियो।
दुई जनाबीचको झगडाका कारण छोरी सोनी घरमा खानासमेत छुट्टै पकाएर खाँदै आइरहेको प्रहरीले जनाएको छ। बुधबारसमेत भान्सामा पकाएको पकौडाको विषय लिएर आमा र छोरीबीच झगडा भएको थियो।
झगडाकै क्रममा छोरी सोनीले ढोकामा लगाउने आग्लोले प्रहार गरी आमाको घाँटीसमेत थिचेकी थिइन्। प्रतिकारको क्रममा आमा राजकुमारीले समेत छोरी सोनीको घाँटी च्यापेकी थिइन्। आमाले घाँटी थिचेको केहिबेर पछि सोनी बेहोस भएर भुईंमा लडेकी थिइन्।
यसअघि पनि झगडा हुँदा बेहोस हुने नाटक गर्ने गरेकोले यसपटक पनि नाटक गरेको आमा राजकुमारीलाई लागेको थियो। तर पछि हेर्दा छोरी सोनीको मृत्यु भइसकेको उनले थाह पाइन्।
भुईंमा रहेकी सोनीलाई अन्य दुईजना छिमेकी महिलाको सहयोगमा खाटमा राख्न लगाएको आमा राजकुमारीले प्रहरीसमक्ष वयान दिएको धनुषा डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए।
फर्निचर व्यवसाय गर्दै आइरहेको रामवरण मण्डलकी छोरी सोनी आफ्नै घरमा मृत फेला परेको सूचनाको आधारमा प्रहरीले तत्काल अनुसन्धान प्रक्रिया अगाडी बढाएपछि उनको हत्या भएको रहस्य बाहिर आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४