सरकार कसको ? यो प्रश्नको सानो पृष्ठभूिम छ । हामी स्कुलमा पढ्थ्यौं । स्कुल नजिकै चियापसल थियो । त्यहाँ साँझबिहान गाउँका पञ्चहरूको जमघट हुन्थ्यो । उनीहरू रमाइला प्रसंग र प्रश्नबाट दिनको सुरुवात गर्थे । कहिलेकाहीँ उनीहरू आफैं प्रश्न सोध्थे र उत्तर दिन्थे । जस्तो सरकार कसको ? पञ्चको । अथवा सरकार कसको ? राजाको । सरकार कसको ? भाइभारदारको ।
पञ्चायतकालका सरकारहरू बस्तुतः जनताका सरकार थिएनन् । तानाशाहीमा जनताका सरकार हुँदैनन् । त्यसैले भागबन्डा लगाउँदा पनि जनताको हिस्सामा पर्ने लाभांश अत्यन्त न्यून हुन्थ्यो । यसर्थ नै पञ्चायतले आमजनतालाई राज्यको अनुभूति दिएन । पञ्चहरू भन्थे- ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ । यद्यापि यो नारालाई व्यंग्य गर्दै तत्कालीन प्रतिबन्धित पार्टीका कार्यकर्ताहरू भन्थे- ‘कालेकाले मिलेर खाऔँ भाले ।’
पञ्चहरूले तीस वर्ष राज गरे । पञ्चायती निरंकुशताले ती वर्ष जनतालाई अँध्यारा दिनहरू उपहार दियो । असन्तुष्ट जनताको आन्दोलनले पञ्चायत ढाल्यो । निरंकुशता ढल्यो । पञ्चायत ढलेको पनि तीस वर्ष हुन लाग्दैछ । तर यतिका वर्षपछि पनि फेरि चियापसलमा उस्तै प्रश्नहरूको पुनरुत्थान भइरहेको छ । प्रश्न उही छ- यो सरकार कसको ? गाउँका स्वघोषित सरकारी मान्छेहरू उसरी नै चियापसलमा जम्मा हुन्छन् । हिजो पञ्चहरू बस्ने फलैँचामा आज कम्युनिस्टहरू छन् । उनीहरू उसरी नै आफैँ प्रश्न गर्दछन् र आफैँ जबाफ दिन्छन् । जस्तो यो सरकार कसको ? कम्युनिस्टहरूको । यो सरकार कसको ? सर्वाहाराको । यो सरकार कसको समाजवादीको ।
प्रश्न दोहोरिँदै जान्छ । साँच्चै यो सरकार कसको ? गाउँका गरिब, किसान, मजदुरहरू चियापसलको छेउमा उभिएका छन् । उनीहरू पनि उही प्रश्न गर्छन् र उत्तर खोज्छन् । यो सरकार कसको ? ओलीको । यो सरकार कसको ? आसेपासेको । कसैले भन्दैन यो सरकार कसको ? जनताको । पञ्चायत ढलेको तीस वर्षपछि पनि जनताको सरकार नआउनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो ।
हामीसँग दुईवटा सरकार छन् । पहिलो देखिने सरकार । देखिने सरकार केपी आलीको हो । कम्युनिस्ट पार्टीको सरकार । कम्युनिस्ट पार्टीकै केही नेताहरू भन्छन्- ‘ओली गुटको सरकार’ । हामीसँग अर्को सरकार पनि छ । नदेखिने सरकार । जसलाई केपी ओलीले निर्माण गरेका हुन् । आसेपासे सरकार । भुइँफुट्टा सरकार । क्रोनी क्यापिटलिजम्को सरकार । पहिलो वैधानिक सरकार । दोस्रो अवैधानिक सरकार ।
पहिलो सरकारका बारेमा धेरैलाई थाहा छ । तर दोस्रो सरकार अलिक भूमिगत बस्छ । त्यसैले यसबारे केही कुरा गरौं । के हो ‘भुइँफुट्टा’ सरकार ? के हो ‘भुइँफुट्टा’ शासन ? पहिलो औपचारिक सरकार छ । जो प्रस्ट देखिन्छ । जसको प्रधानमन्त्री छन् केपी ओली । उनीसँग केही मन्त्रीहरू छन् । कर्मचारी प्रशासन छ । विभिन्न संरचना छन् । यो सरकारले राज्यको कार्यकारी अधिकार प्रयोग गर्छ । तर दोस्रो अनौपचारिक सरकार छ । जो भुइँफुट्टा छ । देखिँदैन । तर यो निकै खतरनाक र बलियो छ । यसको संरचना समतलीय छ ।
दोस्रो सरकारमा पदहरूको छोइछिटो छैन । जसमा मन्त्री र खरदार सँगै बस्न सक्छन् । गृहमन्त्री र प्रहरी सँगै पिउन सक्छन् । भुइँफुट्टा सरकारको स्वरूप कतै दृष्टिगोचर हुँदैन । यो कतै भेटिँदैन । जस्तो कि पञ्चायतकालमा भूमिगत गिरोह । यो सरकार चारैतिर क्रियाशील हुन सक्छ । भुइँफुट्टा सरकारले कार्यकारी संरचनामा मात्र पहुँच राख्दैन । बरु यो व्यवस्थापिका र न्यायपालिकाभित्र समेत प्रभावशाली छ ।
गाउँका गरिब, किसान, मजदुरहरू चियापसलको छेउमा उभिएका छन् । उनीहरू पनि उही प्रश्न गर्छन् र उत्तर खोज्छन् । यो सरकार कसको ? ओलीको । यो सरकार कसको ? आसेपासेको । कसैले भन्दैन यो सरकार कसको ? जनताको ।
अनौपचारिक हुनु यसको विशेषता हो । यो यसकारण खतरनाक छ, यसले औपचारिक सरकारलाई समेत हल्लाउँछ । त्यसो त भुइँफुट्टा सरकार केन्द्रमा मात्र क्रियाशील छैन, यो स्थानीय तहमा पनि सक्रिय छ । जस्तो कि तल सतहमा देखिन्छन् मेयरसाब तर गुप्तगृहमा छ भुइँफुट्टा सरकारको अझ शक्तिशाली मेयर । प्रदेश सरकार नयाँ संरचना हो । यद्यापि त्यहाँ पनि भुइँफुट्टा प्रदेश सरकार छ । जसले पर्दाभित्रबाट सबै कुरा चलाउँछ ।
प्रहरीको हाकिम बस्छन् प्रहरी कार्यालयमा । तर नदेखिने प्रहरी हाकिम बस्छ कतै । उसैले चलाउँछ देखिने प्रहरीहरूलाई । जनस्वास्थमा, यातायातमा, पशु विकासमा, शिक्षामा, सिँचाइमा, सडकमा सबैतिर नदेखिने सरकारको जालो छ । यो भुइँफुट्टा सरकारको जालो हो ।
भुइँफुट्टा सरकार बहुआयामिक र शक्तिशाली छ । जसलाई बुझ्न केही चर्चित प्रश्नहरूमा प्रवेश गर्नुपर्छ । जस्तो कि एनसेल भ्रष्टाचार कसरी सम्भव भयो ? ठूला करदाताहरूको कर मिनाहा कसरी गरियो ? कहाँ जान्छ ठेक्कापट्टाको कमिसन ? बूढीगण्डकीमा चलखेल गर्ने को थिए ? कसरी हाम्रो सरकारी वायुसेवा धरापमा पर्यो ? वाइड बडी काण्डका नायक कता छन् ? निर्मलाका हत्यारा किन समातिँदैनन् ? यस्ता प्रश्नहरूको जबाफ हाम्रा प्रधानमन्त्रीले दिन सक्दैनन् । यस्ता प्रश्नहरूको जबाफ मन्त्रीहरूसँग पनि हुँदैन । किनभने यी यावत् प्रश्नहरू अनौपचारिक सरकारका कार्यक्षेत्रहरू हुन् । जसलाई स्पष्ट गर्ने शक्ति र सामथ्र्य औपचारिक सरकार र औपचारिक राज्य संयन्त्रसँग छैन ।
जस्तो केही थप प्रसंगहरू हेरौं : बजारमा मूल्य अकासिन्छ । त्यसलाई नियन्त्रण गर्ने शक्ति सरकारसँग हुँदैन । सडकको बीचमा बडेमानको खाल्डो बन्छ । तर ठेकेदारले कुनै उत्तर दिनुपर्दैन । अदालतले भ्रष्टहरूलाई उन्मुक्ति दिन्छ । तर न्यायाधीशले जबाफदेही हुनुपर्दैन । त्यसो त अरू पनि केही प्रश्न र प्रसंग छन् । जस्तो हाम्रा नेताहरूलाई चुनाव खर्च कहाँबाट आउँछ ? स्वयं हाम्रा मन्त्री र प्रधानमन्त्रीहरूको सम्पत्तिको स्रोत के हो ? र अख्तियारलाई बलियो बनाउन किन चाहँदैनन् हाम्रा नेताहरू ? यी प्रश्नहरूको जबाफ हाम्रो औपचारिक सरकारसँग हुँदैन । बरु यस्ता प्रश्नहरूले औपचारिक सरकारको ओठमुख सुक्छ । त्यसपछि उनीहरू सीधा अनौपचारिक सरकारको शरणमा पुग्छन् । यही हो भुइँफुट्टा सरकारको शक्ति ।

कसरी बन्छ भुइँफुट्टा सरकार ? को हुन् त्यसका रचनाकार ? यी निकै रमाइला प्रश्न हुन् । भुइँफुट्टा सरकारको शक्तिको स्रोत ‘क्रोनी क्यापिटालिजम’ हो । आसेपासे पुँजीवाद । चाकर पुँजीवाद । मायावी र सप्तरंगी पुँजीवाद । सत्ता र शक्तिको संरक्षणमा हुर्किएको पुँजीवाद । मालिकलाई रिझाउने, आफूभन्दा तलकालाई धम्क्याउने र मस्ती गर्ने यसको चरित्र हो । सरकारको आसपासमा को बस्छन् ? तिनै मान्छेहरू सत्ताको आसपासमा बस्छन् जसलाई बस्नका लागि सत्तासीनहरूले रातो कार्पेट ओछ्याइदिन्छन् । यसको अर्थ औपचारिक सरकार नै अनौपचारिक सरकारको रक्षक हो । जसका संरक्षक हुन् प्रधानमन्त्री ।
हिजो पञ्चायतमा पञ्चहरूले राज गरे । आज कम्युनिस्ट राजमा कम्युनिस्टहरूको रजगज देखिँदैछ । तर तिनै कम्युनिस्टहरू जो बालुवाटार आसपासमा बस्छन् र प्रधानमन्त्रीसँग साउती गर्ने सामथ्र्य राख्छन् । उता पार्टीमा अंकगणित फेरिँदा यता औपचारिक सरकारमा तलमाथि हुन्छ । त्यसले भुइँफुट्टा सरकारका अखडामा पनि भुइँचालो आउँछ । परिणाम केही नयाँ सदस्य थपिन्छन् । कुनै पाखा लाग्छन् । कुनै कमजोर बन्छन् । कुनै शक्तिमा आउँछन् । यसरी औपचारिक सरकारको छत्रछायामा अनौपचारिक सरकारको यस्तो जादुगरी साम्राज्य निर्माण हुन्छ कि त्यसपछि सबै कुरा फरक पर्दै जान्छ । त्यहींबाट नेताहरूका भाषण र प्रतिबद्धताहरू हावादारी बन्छन् । त्यहींबाट देशमा घुँडा टेक्नेहरूको उत्थान हुन्छ । आशीर्वादहरू त्यहीं लेखिन्छन् र मेटिन्छन् । त्यहींबाट महामहिमहरूमा १८ करोडको सवारीको इच्छा जागृत हुन्छ । त्यहींबाट भुइँफुट्टा सत्यहरू निर्ममतापूर्वक उजागर हुँदै जान्छन् ।
भुइँफुट्टा सरकारमा मूलतः चारखाले मान्छेहरूको संलग्नता देखिन्छ । पहिलो- सरकारी पार्टीका कार्यकर्ताहरू । दोस्रो- सम्बन्धित पार्टी आबद्ध कर्मचारी संगठनका अगुवाहरू । तेस्रो- बिचौलियाहरू । चौथो- नाता कुटुम्ब र मामली, ससुरालीहरू ।
भूमिगत गिरोहहरू थिए । आज लोकतन्त्रमा आसेपासेहरू छन् । भुइँफुट्टाहरू छन् । सरकार यिनै आसेपासेहरूले घेरिएको छ । के ओली सरकार यी भुइँफुट्टाहरूको मायावी चमत्कारबाट स्वतन्त्र बस्ने सामथ्र्य राख्छ ? अन्यथा औपचारिक सरकार कमजोर हुने र अनौपचारिक सरकार फैलिँदै जाने क्रम रोकिने छैन ।
अहिलेको औपचारिक सरकारमा एमाले र माओवादी केन्द्र संलग्न छ । अतः भन्नुपर्दैन अनौपचारिक सरकारमा पनि यिनै पार्टीका मान्छेहरूको संलग्नता हुन्छ- तहगत संलग्नता । स्थानीय तहमा त्यही तहका एमाले, माओवादी कार्यकर्ताहरू । प्रदेशमा प्रदेश तहका । केन्द्रमा केन्द्रीय तहका । सबैभन्दा कुण्ठित, बेइमान, सम्पत्तिमा आशक्त पार्टी कार्यकर्ताहरू भुइँफुट्टा सरकारका मुख्य मालिक बन्छन् । सबैलाई थाहा छ, हाम्रा राजनीतिक पार्टीहरूमा दुईखाले कार्यकर्ताहरू छन् । पहिलो- इमानदार, दोस्रो- सत्ता र शक्तिका दलाल । भुइँफुट्टा सरकारमा मूलतः सत्ता र शक्तिका दलालहरू पुग्छन् ।
उनीहरू पार्टी र सरकारको भेद छुट्याउन जान्दैनन् । उनीहरू ठान्छन् सबै कुरा त्यसरी नै चल्नुपर्छ जस्तो उनीहरू चाहन्छन् । यस्तो मनोविज्ञानले उनीहरूलाई लम्पट र भुइँफुट्टा बनाउँछ । राज्यको मालिक ठान्ने भ्रम सिर्जना गरिदिन्छ । परिणाम उनीहरू पार्टी कार्यकर्ता कम र शक्तिका छट्टु चाकर ज्यादा बन्छन् । यसरी एउटा कार्यकर्ताको आलोचनात्मक चेतना सकिन्छ । उसको राजनीतिक सार्वभौमिकता गल्छ । ऊ बन्छ खतरनाक दलाल । उसलाई लाग्छ, दलको कार्यकर्ता हुनु विशेष अधिकार प्राप्त गर्नु हो । यस्तो अधिकार जसले उसलाई सबैभन्दा भ्रष्ट बन्न उत्प्रेरित गर्दछ । बस ऊ जन्ड फ्याउरो बन्छ । यस्तै जन्ड फ्याउराहरूको स्थायी समूहले बनाउँछ भुइँफुट्टा सरकार ।
पार्टी सम्बद्ध निजामती कर्मचारी संगठन भुइँफुट्टा सरकारको अर्को आंगिक संरचना हो । भुइँफुट्टा सरकारमा उनीहरू चलाख योजनाकारका रूपमा काम गर्छन् । आवरणमा उनीहरू कुनै कर्मचारी संगठनको नेताका रूपमा क्रियाशील हुन्छन् । उनीहरू आफूलाई स्वतन्त्र पेसागत अभियन्ता भन्न रुचाउँछन् । उनीहरूको औपचारिक उद्देश्य हुन्छ टे̭ड युनियन अधिकार- कर्मचारीहरूलाई न्याय, सुशासन । तर पर्दापछाडि उनीहरूको मुख्य काम हुन्छ कर्मचारीहरूको सरुवा, बढुवा, कमिसन आदि । मूलतः नेताहरूलाई भ्रष्टाचारका छिद्रहरू देखाउन यिनीहरू माहिर हुन्छन् । हरेक दिन पार्टी कार्यालय धाउने, नेताका घरमा जाने र मन्त्रालयमा चाकडी बजाउने उनीहरूको दैनिकी हुन्छ । यही दैनिकीभित्र उनीहरू भुइँफुट्टा सरकार चलाउँछन् । जसको केन्द्रीय स्वार्थ हुन्छ अझ धेरै सत्ता, शक्ति र सम्पत्ति ।
भन्नुपर्दैन भुइँफुट्टा सरकारको अर्को आंगिक संरचना हो बिचौलिया जमात, सिन्डिकेट मास्टर । यो जमात जुनसुकै भेषमा हुन सक्छ । व्यापारीको भेषमा, उद्योगीको भेषमा, बुद्धिजीवीको भेषमा, पत्रकारको भेषमा, अर्थशास्त्रीको भेषमा, विश्लेषकको भेषमा । यो ठूलाठूला ‘डिल’ गर्छ । कस्ता कानुन बनाउने, कर नीति र प्रणाली कस्तो हुने, कसलाई के नियुक्ति दिने ? उद्योग, व्यापार, ठेक्कापट्टा आदिबारे पनि यसका नीजि रणनीति हुन्छन् । सबैखाले प्रश्नहरूको गृहकार्य गर्न यो जमात माहिर छ । मूलतः यो समूह भुइँफुट्टा सरकारको रणनीतिक समूह हो । यो समूहको जादुगरी सम्बन्ध हुन्छ सबैसँग । भुइँफुट्टा सरकारको चौथो समूह हो नातागोता, भाइबन्धु, मावली र ससुरालीका मान्छेहरू ।
माथिका यावत् सन्दर्भहरूको निष्कर्ष के हो ? हिजो पञ्चायतमा मण्डलेहरू थिए । भूमिगत गिरोहहरू थिए । आज लोकतन्त्रमा आसेपासेहरू छन् । भुइँफुट्टाहरू छन् । सरकार यिनै आसेपासेहरूले घेरिएको छ । के ओली सरकार यी भुइँफुट्टाहरूको मायावी चमत्कारबाट स्वतन्त्र बस्ने सामथ्र्य राख्छ ? अन्यथा औपचारिक सरकार कमजोर हुने र अनौपचारिक सरकार फैलिँदै जाने क्रम रोकिने छैन । यसो हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हुनेछ । नभुलौं समृद्धि र सुशासन भाषण गरेर प्राप्त हुँदैन । यो कविता लेखेर पनि आउँदैन । चुट्किला भनेर आउने त कुरै छैन ।
यसका लागि सरकारले शासकीय अनुशासनको पालना गर्नुपर्छ । शासकीय अनुशासनको अर्थ विधिको पालना हो । सुशासन, पारदर्शिता र जबाफदेहिता हो । के सरकारले जनमुखी प्रणालीहरू बनाउने र त्यसलाई कार्यान्वयन गर्ने सामथ्र्य राख्छ ? अन्यथा चियापसलमा फेरि पनि तिनै प्रश्नहरू पटकपटक उठ्नेछन् । जस्तो कि यो सरकार कसको ? यो सरकार जनताको भन्ने उत्तर कहिले आउला । के ओली सरकारले यसबारे विचार पुर्याउला ? पञ्चायत र लोकतन्त्रमा केही त फरक हुनैपर्छ । प्रधानमन्त्रीज्यू, यसबारे सोच्नुहोला ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४