आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्रीलाई महासंघ अध्यक्ष गोल्छाले सुनाए- सरकार निजी क्षेत्रको पैसाले चल्छ, त्यसको कदर होस्

प्रधानमन्त्रीलाई महासंघ अध्यक्ष गोल्छाले सुनाए- सरकार निजी क्षेत्रको पैसाले चल्छ, त्यसको कदर होस्

भोलिसम्म चल्ने महासंघको साधारणभाले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दैछ। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने विधान रहेको महासंघमा यही पदका लागि चर्को प्रतिस्पर्धा छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार निजी क्षेत्रको पैसाले चल्ने भन्दै प्रत्येक सरकारी कार्यालयमा निजी क्षेत्रको योगदानसम्बन्धी बोर्ड झुण्ड्याउन आग्रह गरेका छन्।

मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले निजी क्षेत्रले राजस्वसँगै रोजगारीमा पनि योगदान गरेकोले त्यसको कदर गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष गोल्छाले सरकारले निजी क्षेत्रबिना विकास सम्भव नभएको भनेर बारम्बार भनिने गरे पनि व्यवहारमा भने त्यो नदेखिएको बताए। अध्यक्ष गोल्छाले राज्य चलाउने पैसा निजी क्षेत्र र सर्वसाधारणको उपक्रमबाट आउँछ भनेर सरकारी कर्मचारीले बुझ्न जरुरी रहेको बताए। उनले भने, ‘त्यो बुझेर सरकारी कर्मचारीले छिटोछरितो काम गरिदिनुपर्छ। त्यसले काम गर्न मनोबल बढ्छ।’

उनले थपे, निजी क्षेत्रले काम गर्न सकेन भने सरकारको काम पनि चल्दैन। सरकार चल्ने पैसा निजी क्षेत्र र सर्वसाधारणको उपक्रमबाट जुट्छ भनेर मनन गर्न जरुरी छ। पछिल्ला दिनमा सरकार पनि राजस्व नउठेर समस्यामा परेको छ र आन्तरिक ऋण उठाएर तलब खुवाउनु परिरहेको छ।'

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई सरकारविरुद्धको आन्दोलमा जाने बाध्यता नपरोस् भन्दै सरकारसँग समुन्नतिका लागि सहकार्य गर्ने इच्छा व्यक्त गरे। उनले अहिले महासंघ अर्थतन्त्र जोगाउने अभियानमा रहेको भन्दै विगतमा सबै पक्षले गरेको गल्तीका कारण अर्थतन्त्र समस्यामा परेको बताए। अब सबै मिलेर समाधानका लागि काम गर्न पनि उनले आग्रह गरे।

डेढ वर्षअघिको तुलनामा आन्तरिक उत्पादन ५० प्रतिशत घटेको, आर्थिक गतिविधि सुस्त भएको, तरलता र ब्याजदरको समस्या उत्पन्न भएको उनले बताए। अब सरकार र राष्ट्र बैंकले तरलता व्यवस्थापन र ब्याजदर घटाउनका लागि सबै उपाय गर्नुपर्ने उनको भनाइ थियो। ‘बैंकहरुले पनि बुझ्‍न जरुरी छ, उद्यम चलेन भने बैंक पनि अप्ठेरोमा पर्छ,’ उनले भने। ब्याजदरमा भएको उतारचढावले व्यवसायीलाई अप्ठेरो परेको भन्दै नीतिगत स्थिरता नहुँदा व्यवसायीलाई काम गर्न गाह्रो परेको उनले बताए। 

भोलिसम्म चल्ने महासंघको साधारणभाले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दैछ। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने विधान रहेको महासंघमा यही पदका लागि चर्को प्रतिस्पर्धा छ। वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ र रामचन्द्र संघई तथा पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन्। विधानअनुसार अध्यक्ष गोल्छाको कार्यकाल सकिँदैछ र हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघ अध्यक्षको कार्यकाल सम्हाल्दैछन्।

प्रकाशित: Apr 11, 2023| 12:10 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्