आइतबार, असार २२, २०८२

महसुल नतिरेपछि बल्न छाडे 'हाइ माक्स लाइट'

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

बाँके- बाँकेको जानकी गाउँपालिका-६ को गनापुरस्थित नेपालगञ्ज-कोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन्।

विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने ‘हाई माक्स लाईट’ दिउँसो मात्रै देखिन थालेको दुई महिना नाघिसकेको छ। दिउँसो टाढैबाट देखिने ‘हाई माक्स लाईट’मा राति कुन गाडीले ठोकिदिने हो भन्न चिन्ता स्थानीयवासीमा छ।

आठवटा बत्ती भएको लाईट दिउँसो हेर्नलाई मात्र जडान गरिए जस्तो भएको छ। विगत डेढ वर्षदेखि केही लाईट बल्ने र केही नबल्ने अवस्थामा रहेकोमा दुई महिनादेखि सबै बत्ती बल्न छाडेको हो।

स्थानीयवासी देवीराम यादवले भने, ‘सुरु-सुरुमा त राम्रै बल्थ्यो तर पछिपछि विस्तारै एउटा एउटा गर्दै बत्ती निभ्न थाल्यो र अहिले त सबै बल्नै छाड्यो।’

हाई माक्सका सबै बत्ती बल्न छाडेपछि विगत दुई महिनादेखि गाडीको आवाज सुनेर अँध्यारो सडक वारपार गर्न बाध्यभएको अर्का स्थानीयवासी चेतन गोडरियाको भनाइ छ।

औद्योगिक कलकारखाना धेरै भएको उक्त वडामा ‘हाई माक्स लाईट’ ले दिएको उज्यालोले खुसी भएका स्थानीयवासी अहिले अँध्यारोमा हिँड्नुपर्दा दुःखी भएका छन्। उक्त लाईट बिग्रदा राति सवारी दुर्घटना हुनसक्ने सम्भावना रहेको गनापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेश्वर गोसाईंले बताए।

‘पहिला बत्ती हुँदा हामीलाई निकै सजिलो थियो। टाढा-टाढासम्म सबै देखिन्थ्यो तर अहिले पूरै सडक साँझैदेखि अँध्यारो हुने गरेको छ’, प्रहरी नायब निरीक्षक गोसाईंले भने, ‘यो औद्योगिक क्षेत्र भएकाले राति डियुटी सकेर घर फर्कने कामदारलाई बाटो काट्न निकै कठिन छ।’

अपराधका घटना अँध्यारोमा धेरै हुने भएकाले ‘हाई माक्स लाईट’ बाल्न आफूले वडालाई दबाब दिएको पनि प्रहरी नायब निरीक्षक गोसाइँले बताए।

उक्त पालिकामा तीनवटा यस्ता लाईट रहेकामा गनापुर चोकमा रहेको लाईटको विगत दुई वर्षदेखि विद्युत् महसुल नबुझाएको र त्यसका लागि आफूले पालिकामा लिखित र मौखिकरूपमा पहल गरेको वडाध्यक्ष जगदीश हरिजंगले बताए।

‘२०७४ सालका जनप्रतिनिधिले विद्युत् महसुल नतिरिदिँदा त्यसको भार हामीमा परेको हो। विगत दुई वर्षदेखि नतिरिएको विद्युत् महसुल बढेर झण्डै दुई लाखको हाराहारीमा रहेको छ,‘ पालिका अध्यक्ष छब्बन खाँले भने, ‘हामीले पैसाको व्यवस्था गरिसकेका छौँ। अबको एक हप्तामा ‘हाई माक्स लाईट’बल्नेछ।’

उक्त गाउँपालिकाको गनापुर, बेलहरी र जोग गाउँ गरी तीन ठाउँमा ‘हाई माक्स लाईट’ छन। गनापुर, बेलहरी, ईन्द्रपुर र साइगाउँमा भने सातवटा सोलार बत्ती रहेका छन्।

प्रकाशित: Apr 10, 2023| 22:16 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्