काठमाडौं- संघीयतापछिको तेस्रो कार्यकालका लागि उपराष्ट्रपति चयन गर्न यतिबेला नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन परिसरमा राखिएको मतदान केन्द्रमा सांसदहरूले मतदान गरिरहेका छन्।
सत्तारुढ १० दलीय गठबन्धनभित्र सहमति नजुटेपछि उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, उनकै दल जसपा, नेकपा एसलगायतले मत दिने वचन दिएका छन्। तर जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामसहायले मत पाउने छैनन्। जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदका लागि चुनावी मैदानमा उतारेको छ। जनमत पार्टीका उम्मेदवारलाई , नागरिक उन्मुक्ति र लोसपाले मत दिने सहमति बनेको छ।
राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भइरहेको विवादमा निर्वाचन आयोगले कुरो फेरेपछि सत्तारुढ दललाई हाइसञ्चो भएको छ। राष्ट्रपति पुरुष भए उपराष्ट्रपतिमा महिला निर्वाचित हुनुपर्ने प्रावधानविपरीत सत्तारुढ दलहरूले रामसहायलाई मत दिने निर्णय गरेका छन्। बालुवाटारमा बिहीबार भएको वार्तामा पनि यो विषय उठान गरिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस, जसपालगायतका नेताहरूले सीके राउतहरूलाई मनाउने प्रयास गरे उनीहरू सहमतिमा नआएपछि सत्तारुढ दलभित्रैबाट उपराष्ट्रपतिका लागि दुई उम्मेदवार र एमाले नेतृ शाक्यबीच चुनावी प्रतिस्पर्धा भइरहेको हो। यद्यपि जसपाबाट चुनावी मैदानमा उतारिएकी प्रमिलाकुमारी यादवले रामसहायलाई समर्थन गरी उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गत बुधबार गरेकी थिइन्। तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको घोषणा गरेकाले उनको नामको मतपत्र अहिले पनि कायमै छ।
उपराष्ट्रपति निर्वाचनमा प्रत्यासी रहेका रामसहायले आफैंलाई मतदान गरे भने उपराष्ट्रपतिका उम्मेदवारद्वय अष्टलक्ष्मी शाक्य र ममता झा भने मतदान गर्नबाट वञ्चित भए। महिला उम्मेदवारद्वयले सांसद नभएका कारण मतदान गर्न नपाएका हुन्। यद्यपि उनीहरू मौन प्रचारका लागि मतदान स्थलमा खटिइरहेका छन्। बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ भने आजै साँझ ६ बजेभित्र मत परिणाम सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।
सरकार समर्थक १० दलीय गठबन्धनभित्र कुरो नमिलेपछि चुनावी मैदानमा उत्रिएका सत्तारुढ गठबन्धनका दुई जना र एमालेबाट अष्टलक्ष्मी शाक्यबीच उपराष्ट्रपतिका लागि मतदान भइरहेको छ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन्। उनीहरूका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको छ। संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैंचातर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत शर्माको भनाइ छ।
उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। उपराष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसदले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन्।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ। संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ। मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अंकित कोठामा स्वस्तिक छाप लगाई मत दिनुपर्नेछ।
मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए। दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए। आज भइरहेको मतदानमार्फत तेस्रो उपराष्ट्रपति निर्वाचित हुनेछन्।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। पाँच वर्षे पदावधि हुने उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो पद हो।
बालुवाटारमा नजुटेको सहमति
प्रधानमन्त्री निवास बालुवाटारमा दस दलीय गठबन्धनमा आबद्ध नेताहरूबीच बुधबार र बिहीबार उपराष्ट्रपतिमा एउटै उम्मेदवार बनाउन गरिएका प्रयास असफल भए।
बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दल दलीय गठबन्धन दीर्घकालीन हुने भएकाले सहमतिमै उपराष्ट्रपतिमा एक मात्रै उम्मेदवार बनाउन गरेको आग्रह सीके राउतहरूले अस्वीकार गरिदिए
उपराष्ट्रपतिमा गठबन्धनमा रहेका दल जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झाको उम्मेदवारी कायमै रहेका बेला प्रचण्डले यादवको पक्ष लिएको भन्दै बैठकमा सहभागी जनमतका अध्यक्ष सीके राउत आक्रोशित भए। उनले प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिमा पुरुष भएपछि उपराष्ट्रपति महिला नै हुनुपर्ने अड्डी कसे। तर प्रचण्ड, देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एउटै उम्मेदवार बनाएर जानुपर्ने र त्यो भनेको रामसहाय नै हुनुपर्ने बताएपछि राउतले आफूहरू मैदानबाट नहट्ने स्पष्ट अडान राखे।
बुधबार र बिहीबारका बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले संविधानमा ‘वा’ भएकाले राष्ट्रपति र उपराष्ट्रपति समुदाय फरक हुनु संविधानसम्मत नै हुने दाबी गरे। उनले भने, ‘हाम्रो उम्मेदवारी संविधानअनुसार नै हो। केही गडबड हुन्छ कि भनेर हामीले महिला उम्मेदवार पनि अघि सारेका थियौं। सर्वोच्च अदालतले रिट नै दरपिठ गरिसकेपछि हाम्रोतर्फबाट एक जना मात्रै उम्मेदवार कायम हुनुभएको छ। गठबन्धनमा सहमति गरेर एकताको सन्देश दिऔं। रामसहायलाई मतदान गरौं। सहमति आफैं हुन्छ।’
बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि सहमतिमै जोड दिएका थिए। जनमतका अध्यक्ष राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने मागमा अडिग रहे। गठबन्धनभित्र उम्मेदवारबारे सहमति नभएपछि दुई दिने बालुवाटारका बैठक निष्कर्षविहीन भए। सोही कारण सत्तारुढ दलभित्रैबाट उपराष्ट्रपति निर्वाचनमा दुई जना चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।